‘पटका बिक्री वितरण भइरहेको पाए खबर गर्नू’

|

काठमाडौं : यस वर्षको तिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा कानुनले बन्देज गरेको पटका आतंक बढ्न थालेको छ। काठमाडौंको तिनचुली, आरुबारी, जोरपाटीलगायत क्षेत्रमा बेलुकाको समयमा खुलेआम पटका बिक्री वितरण र पड्काउने कार्य भइरहेको छ।

तर यता प्रहरी र जिल्ला प्रशासन कार्यालयले भने नियमन गरेको देखिँदैन। काठमाडौं उपत्यकाका तीनै वटा जिल्ला प्रशासन कार्यालयले भने तिहारको बेला पटका पटकाउन र बिक्री वितरणमा निषेध गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कानुनविपरीत यस्तो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पटका पड्काउन र बिक्री वितरण गर्न नपाइने भन्दै अहिलेबाटै यसको नियन्त्रणमा लागेको दाबी गरे। 

यसको रोकथामको लागि प्रहरी परिचालन गरिएको उनको भनाइ छ। उनले भने, ‘पटका पड्काउन पाइँदैन, त्यस्तो गरेको पाए नजिकको प्रहरी वा हामीलाई जानकारी गराउनु, तुरुन्तै कारबाही हुन्छ।’ उनले पटका आयात गर्न नदिन विभिन्न सीमा नाकामा पनि कडाइपूर्वक चेक भइरहेको बताए।

‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमै छ, बिक्री गर्ने पसलहरूमा पनि छापा मार्छौं, यस्तो गरेको पाइए कालोबजारीलगायत कसुरमा कारबाही हुन्छ,’ उनले भने। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले तिहारको बेला पटका पड्काउन नपाइने बताउँदै त्यस्तो गरे तत्काल रोक्न आग्रह गरे।

‘यस्तो कार्य रोक्न हामीले विशेष सुरक्षा परिचालन गरेका छौँ,’ उनले भने, ‘बजार अनुगमन भइरहेकाे छ, कसैले लुकीछिपी त्यस्तो कार्य गरेको पाइए प्रहरीलाई खबर गर्नु।’ 

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जिल्लाभरि प्लाष्टिकका फूल र पटकामा निषेध गरेको बताइन्। उनले भनिन्, ‘हामी पटका बिक्रीवितरण, पड्काउने र प्लाष्टिकको फूल किनबेचमा निषेध गरेका छौँ।’

उनले यी निषेधित कार्य गरेको पाइए कानुनी कारबाही गर्ने बताइन् तर पनि तिहारको नआउँदै विभिन्न क्षेत्रमा पटका आतंक बढेको छ। प्रहरीले यसको नियमन र अनुगमन नगरे झनै तिहारको बेला यस्तो कार्य बढ्ने देखिन्छ। यसबाट आगलागीजस्ता घटना निम्तिने देखिन्छ।

प्रहरी भन्छ : त्यस्तो कार्य गरेको पाए कारबाही गर्छौं

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सूचना नै जारी गरी चाडपर्वको बेला पटका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको किनबेच नगर्न आग्रह गरेको छ। यस्तो गरेको पाए कारबाही गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए।

‘हाम्रो नारा नै शान्ति र सुरक्षा हाम्रो सरोकार! प्रहरी र नागरिकको जिम्मेवारी बराबर छ, हामीले सूचना नै जारी गरेर चाडपर्वमा लङ्गुरबुर्जा, जुवा र तास लगायतका रकम हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्ने, पटका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न अनुरोध गरेका छौँ, यो गर्दा पनि यस्तो कार्य गरेकाे पाइए कारबाही गर्छौं,’ उनले भने।

उनले नाकाहरूमा पनि प्रविधिमार्फत समेत पटका आयातमा कडाइ गरिरहेको बताए। ‘हाम्रा विभिन्न नाकाहरूमा प्रविधिको प्रयोग नै गरी जाँच गरिरहेका छौँ, लुकीछिपी त्यसरी ल्याइएका पटका बरामद गर्ने र ल्याउनेलाई कारबाही गर्ने गरेका छौँ,’ उनले भने।

उनका अनुसार काठमाडौं उपत्यकाभित्र मात्र चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा ७ हजार ६३३ जना प्रहरी परिचालन गरिएको छ। उनीहरूले नियमित अनुगमन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.