|

पर्वत : पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ। सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक पोखरा घुम्ने गर्दछ।

बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरूका लागि पनि एकपटक घुम्नैपर्ने सपनाको सहरको रूपमा छ पोखरा।

देशका विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणअन्तर्गत विद्यार्थीहरूलाई पनि पोखराको भ्रमण गराउने गरिएको छ। राजधानी काठमाण्डौं भन्दा पनि पोखरा सफा भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ। तर त्यही पोखरामा बस्ने केही नागरिकको फोहोरी ब्यहोराले भने बाह्य र आन्तरिक पर्यटकसहित महानगरपालिका र अन्य नागरिकलाई दिक्क बनाउने गरेको छ।

रातको समयमा लुकेर फोहोरका पोका र बोराहरू सडक छेउछाउदेखि सडकलाई आकर्षक बनाउन निर्माण गरिएका ‘डिभाइडर’ र ‘गार्डेन’ मा फ्याँक्नेहरूका कारण पोखराका स्वच्छता र आकर्षणमा जोखिम हुने गरेको छ।

आफ्नो घर वा कोठामा फोहोर जम्मा भएपछि महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सवारीमा राखेर व्यवस्थापनको लागि पठाउनुपर्ने भए पनि कतिपय व्यक्तिले महानगरपालिकाको सवारीमा फोहोर नफाली रातको मौकामा सडक, पेटी, ‘डिभाइडर’, ‘गार्डेन’ सहित सुनसान रहने सार्वजनिक स्थलहरूमा फाल्ने गरेको बेला बेलामा भेटिने गरेको छ।

पोखराको न्युरोड, सिर्जना चोक, सभागृह चोक, चिप्लेढुंगा, पृथ्वी चोक क्षेत्रको मूल सडक किनारमा लुकीछिपी फालिएका फोहोरका कारण एक बिहानै सडक कुरूप र दुर्गन्धित हुने गरेका छन्।

बेलुका सुत्ने बेलामा सफा देखिएको चोक बिहान उठ्ने बेलामा फोहोरका पोका र बोराले घेरिएको देख्ने गरिएको छ। महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सवारीले बिहानको समयमा फोहोर उठाउँदै हिँड्ने भएकाले सोही सवारीलाई लक्षित गर्दै रातीको समयमा सडकमा फोहोर फाल्ने गरेको पाइन्छ। पोखरा महानगरपालिकाको कार्यालय रहेको न्यूरोडकै ‘डिभाइडर’ मा फोहोर फालेपछि महानगरपालिकाले समेत हैरानी भोग्दै आएको छ।

‘डिभाइडर’मा फालिएको फोहोरका पोकाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेखेका छन्, ‘सुन्दरताका लागि निर्मित डिभाइडर र गार्डेनमा फोहोर फाल्न अभिप्रेरित गर्ने आफैँमा दुराशययुक्त मानसिकता हो। यस्तो गलत प्रपोगन्डाका लागि यस प्रकारको पोस्टर नटाँस्न र फोहर जथाभाबी फोहोर फाल्न अभिप्रेरित नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध छ।’

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले रातको समयमा फालिने फोहोरप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा छानबिन सुरु भइसकेको बताएका छन्।

फोहोर व्यवस्थापनका लागि फोहोर व्यवस्थापन शाखाको टोली लागिरहेको भन्दै उनले यसका लागि नगर प्रहरीलाई पनि निरन्तर खटाइरहेको उल्लेख थरे। विगतको तुलनामा सडक र पेटीमा फोहोर फाल्ने बानीमा धेरै सुधार भएको भए पनि पछिल्लो समय अराजकता ल्याउन खोजेकाहरूले यस्तो गरेको प्रवक्ता तिम्सिनाको तर्क छ।

‘फोहोर यत्रतत्र नफाल्ने भनेर सार्वजनिक रूपमा सूचनाहरू पनि निकालेका छौँ। पहिलेको तुलनामा अहिले निकै कम भएको छ। अहिले अन्य कुनै स्वार्थबाट प्रेरित भएर सामाजिक खलबल ल्याउनको लागि, अराजकता निम्त्याउने, फोहोर अभियन्ताको नाममा फोहोर व्यवस्थापन गर्ने निहुँमा सडकका पेटीमा नभई सडकको बिचमा लगेर फोहोर फालौँ भन्ने जस्ता कुराहरू राखिएको पनि देखियो’, उनले भने, ‘हामीले कडा रूपमा पहिचान गर्दै छौँ। यसका दोषीहरूलाई बोलाएर सोधपुछ गर्ने, छानबिन गर्ने तयारी पनि गरिएको छ। महानगरले नियमित रूपमा फोहोरको गाडी पठाइरहेको छ। त्यो गाडीमा कुनै पनि समस्या छैन। कहीँ कति आएन भने तत्कालै महानगरमा सम्पर्क गर्न सकिन्छ।’

पोखरालाई फोहोरमुक्त बनाउन र फोहोर व्यवस्थापनमा पोखरावासीले सास्ती खेप्न नपरोस् भनेर फोहोर सङ्कलन गर्ने गाडीको वडा र रुट अनुसारको तालिका नै बनाएका प्रकाशन गरिएको तिम्सीनाले बताए। 

फोहोरको गाडी आएपछि मात्रै फोहोर विसर्जन गर्न सबैमा अनुरोध गरिएको भए पनि अटेर गरेर रातीको समयमा चोक, सडक, पेटी, सार्वजनिक स्थलमा फोहोर फालेको पाइएमा कानुन अनुसार कारबाही गर्न महानगरपालिका बाध्य हुने उनले बताएका छन्।

फोहोर व्यवस्थापनको विषयमा सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गरेकाहरूले बेलुकी छ बजेदेखि बिहान छ बजेसम्म नगर प्रहरी परिचालन गर्नुपर्ने, फोहोर फाल्ने ‘डस्टबीन’ नभएकोले सडकमै फोहोर थुपार्न बाध्य हुनुपरेको, हप्ता दिन सम्म पनि फोहोर सङ्कलन गर्ने गाडी नआएको, सक्नेहरूले महँगो परिकार पकाएर मिठो गरी खाएर फोहोर भने सडकमा फाल्नु लज्जास्पद भएको लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.