|

रौतहट : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा केही नेता र दलको मात्र हैकम चलेको र मुलुकको विकासका लागि त्यस्तो हैकम जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन्।

‘मुलुकको विकासका लागि आम जनताको शासन व्यवस्था आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने‚ ‘अहिलेको यो संवैधानिक व्यवस्थाले केही हुनेवाला छैन। केही नेता र दलको हैकम मात्रै चलेको छ, त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने हुन्छ।’

रौतहटको फतुवा-विजयपुर नगरपालिकाको विजयपुर बजार र गुजरा नगरपालिकाको सिमरा-भवानीपुरमा दिपावली तथा छठ पर्वको अवसरमा आज (शुक्रवार) आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन व्यवस्था आवश्यक रहेको बताएका हुन्।

नेपालमा भएको सम्पत्ति बेचेर विदेशमा थुपारिरहेका गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिएर देशलाई कंगाल बनाउने काम भइरहेको बताउँदै उनले यसलाई रोक्नुपर्ने बताए।

‘नेपालको नागरिकता त्यागेर यहाँको पैसा लिएर विदेश गइसकेकालाई किन फेरि दोहोरो नागरिकता दिनुपर्‍यो?’‚ प्रश्न गर्दै साहले भने‚ ‘नेपालमा बचेको सम्पत्ति बेचेर लैजानका लागि मात्रै हो। विदेशमा गएर श्रम गरि नेपालमा पैसा पठाई नेपालको समृद्धिमा योगदान गरिरहेकाको समस्या समाधानमा चासो नदिने सरकारले भगौडाहरुका निमित्त काम गरिरहेको छ।’

मुट्ठीभर नेताको मनोमानी र दल तथा प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त भएका कारण देशको आर्थिक अवस्था कमजोर हुँदै गएको आरोप उनको थियो।

‘यहाँका प्रमुख दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त छन्। त्यहाँ रहेका अरु नेताहरु पनि ती भ्रष्ट नेताको पछि लाग्ने, आफू पनि केही कमाई राख्ने मानसिकताबाट अगाडि बढ्दै कमाउधन्दामा लागेका छन्‚’ आजपा अध्यक्ष साहले भने, ‘यी र यस्ता भ्रष्ट नेताहरुका कारण आज देशको अवस्था कमजोर हुँदै गइरहेको छ। यसलाई तोडने, दलतन्त्रको आडमा भइरहेको भ्रष्टाचारविरुद्ध आम जनता एकजुट हुनुको विकल्प छैन।’

नेपालको आर्थिक अवस्था कमजोर बनाउने दलतन्त्रको अन्त्य नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले ठग, भ्रष्ट, अपराधी, भ्रष्टाचारमा लिप्त भएका नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्ने बताए।

देशमा बढ़्दो लुट एवं भ्रष्टाचार रोक्न दलतन्त्रको अन्त्य जरुरी रहेको निष्कर्ष सुनाउँदै अध्यक्ष साहले दलतन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिनुपर्ने बताए।

आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए। गुजरा नगरपालिकाको नगरभेला पनि सम्पन्न भएको उनले बताए।

सापकोटाका अनुसार कार्यक्रममा आजपाका सचिव एवं पूर्वसांसद समिना हुसेन, स्थायी कमिटी सदस्यद्वय सुधिर यादव, त्रिभुवन साह, राजन यादव, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नगरप्रमुख रीना साह, रन्जु साह, बबिताकुमारी साह, कान्ति देवी, बबिता यादव, विजय यादव, विवेक साहलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

गुजरा नगरपालिकाको सम्पन्न प्रथम नगरभेलाबाट सोभालाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको सापकोटाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.