|

काठमाडौँ : पछिल्लो समय टेलिभिजनको प्रभावकारिता नहुँदा लोकप्रियता घट्दै गएको पाइन्छ। नेपाली दर्शक पछिल्लो समय लोकप्रिय कार्यक्रम र भारतीय सिरियल हेर्न थालेका छन्।

वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजनाविना स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताए।

उनले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गरे। उनले कुनै योजनाबिना टेलिभिजन अगाडि बढाउँदा सबैभन्दा सस्तामा उत्पादन भएका मनोरञ्जनका सामग्रीमा टेलिभिजन केन्द्रित भएको बताए।

उनले कन्टेन्टलाई गम्भीरतापूर्वक हेरेर बनाउनेभन्दा पनि हलुका र सस्ता कन्टेन्ट बजाउने काम मात्रै गरेको उल्लेख गरे। अर्यालले सरकारले टेलिभिजनहरूले कस्तो कन्टेन्ट बनाउन भन्ने निर्देशिका बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘सरकारले कुनै योजनाबिना टेलिभिजन अगाडि बढाएपछि सबैभन्दा सस्तो प्रोडक्सनमा मनोरञ्जन हुन्छ। टेलिभिजनहरूले गीत, संगीत र हल्लाका कन्टेन्ट बजाउने काम मात्रै भएका छन्। सरकारले कन्टेन्ट बनाउनका लागि निर्देशिका बनाउनुपर्ने थियो। अहिले नेपाल टेलिभिजन नै अप्ठ्यारो स्थितिमा छ।’

अर्यालले सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताए। उनले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसद्प्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस ब्रोडकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए। सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने यता प्राइभेट क्षेत्रलाई पनि चलाउन दिँदा दुई बीचमा भूमिकामा फरक बनाउने कुरामा सरकार चुकेको उनको कथन छ। उनले निजी टेलिभिजनहरूलाई कसरी अगाडि लैजाने ? भन्ने राज्यको स्पष्ट सोच नभएको बताए।

अर्यालले नेपाल टेलिभिजनको प्रभावकारिता झन्–झन् घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले निजी क्षेत्रका टेलिभिजन योजनाविना सञ्चालन भइरहेको बताए। उनले योजनाविना सञ्चालनमा आउँदा एक वर्षमा ठूलो लगानीमा हल्ला गरेर खुलेका नयाँ टेलिभिजनहरू पनि बन्द भइरहेको बताए। सरकारले वार्षिक योजनासहित स्वीकृत दिने निर्देशन बनाउन आवश्यक रहेको बताए।

उनले योजनाविना टेलिभिजन सञ्चालन गर्दा श्रमजीवीका समस्या आइरहेको बताए। उनले पछिल्लो समय योजनाविना सञ्चालनका टेलिभिजनमा अपारदर्शिता समेत भइरहेको शंका व्यक्त गरे। टेलिभिजन स्थापनाका लागि लगानी कहाँबाट आएको छ भन्ने कुरा पनि सोच्ने प्रचलन नहुँदा टेलिभिजनमा धेरै विकृति आएको उनको कथन छ।

अर्यालले पछिल्लो समय नेपाली दर्शक भारतीय मिडियाका चर्चित कार्यक्रमले तानेको भन्दै नेपाली मिडिया उद्यमीले पनि त्यसैअनुसार सोच्नुपर्ने वेला आएको बताए। उनले नेपाली दर्शक तान्नका लागि भए पनि भारतीय कार्यक्रममा नेपालीलाई स्थान दिने गरेको बताए।

उनले भने, ‘अहिले दर्शक नेपाली टेलिभिजनका कार्यक्रम र उत्पादनभन्दा पनि मनोरञ्जन तथा चर्चित कार्यक्रमहरूमा गइरहेका छन्। मेड इन नेपालको छाप लगाएर अब दर्शकमा केही पनि हुँदैन। भारतले पनि नेपाली दर्शक तान्न मेनुका पौडेल लगायतका कलाकारलाई स्थान दिइरहेका छन्।’

उनले मिडिया उद्यमीहरू पनि मिडिया व्यावसायिक सोचको हुन आवश्यक रहेको बताए। पत्रकारहरूले मिडिया उद्यमीहरूलाई माया गरे पनि उद्यमीहरूले मिडिया व्यवसायी नबुझ्दा पत्रकारहरू रुँदै मिडिया छोड्न बाध्य भइरहेको उनले चर्चा गरे। 

उहाँले मिडिया लगानी गर्नु भनेको अरूमा लगानी गर्नुभन्दा फरक हो भन्ने कुरा मिडिया उद्यमीहरूले नबुझ्दा मिडिया हाउसमा वर्तमान विभिन्न समस्या देखिएको बताए। उनले वि.स.२०४६ सालपछि नेपाली मिडियामा ठूलो लगानी आउँदा मिडियाहरू संस्थागत स्वरूपमा लिए भनिए पनि अहिले तिनै मिडियामा श्रमजीवीका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताए। उनले मिडिया उद्यमीहरूले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताए।

(२१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो। सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएको थियो। नेपालमा सन् १९७० ताका टेलिभिजन सेट भित्रिएको पाइन्छ।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.