|

काठमाडौं : वीर अस्पतालले टोमोथेरापी मेसिन ल्याएको २ महिनाभन्दा बढी भए पनि सञ्चालनमा नआएर अझै थन्किएको छ।

यसअघि ल्याउनासाथ बिग्रिएपछि दोस्रो पटक ल्याइएको वीर अस्पतालको ‘टोमोथेरापी मेसिन’ सञ्चालनमा फेरि ढिलाइ भएको छ। गत भदौ दोस्रो साता आइपुगेको उक्त मेसिन एक महिनाभित्रै सञ्चालन हुने बताइएको थियो। तर २ महिनाभन्दा बढी समय भइसक्दा पनि मेसिन सञ्चालनमा आएको छैन।  

तत्काल सञ्चालन गर्ने भनेर हतारमा खरिद गरिएको मेसिन प्राविधिक जनशक्ति नहुँदा र इमोलाइजर उपकरण खरिद नगरेकाले हालसम्म पनि सञ्चालनमा नआएको हो।

मेसिन आएलगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले एक महिनाभित्रै सञ्चालन गरेर क्यान्सरका बिरामीलाई सेवा दिने गरी तयारी थालिएको बताएका थिए।

तर वीर अस्पताल स्रोतले भने मेसिन सञ्चालनको लागि आवश्यक ४ जना रेडियोग्राफर, २ जना मेडिकल फिजिसिस्टर, रेडिएशन अंकोलोजिस्ट र ५ जना अन्य चिकित्सक नहुँदा ढिलाइ भइरहेको जनाएको छ। त्यसैकारण मेसिन वीर अस्पतालमा अहिले त्यसै थन्किएर बसेको छ।

क्यान्सरका बिरामीको उपचार गर्न विकास गरिएको अत्याधुनिक नयाँ प्रविधिको मेसिन हो टोमोथेरापी। यस्तो मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकातास्थित टाटा मेमोरियल र मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा मात्र छन्।

नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ। यी अस्पतालमा पनि लिनियाक र कोबाल्ट मेसिन छन्।

यो मेसिन नेपालमा पहिलोपटक भित्र्याइएको हो। तर नेपालमा सरकारी तहबाटै संसारमा नै क्यान्सरको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि भित्रिएको भए पनि सञ्चालनमा ल्याइएको छैन।

यसअघि पनि यही मेसिन विसं २०७५ आएको भए पनि वीर अस्पतालमा मेसिन राख्ने ठाउँ नै नभएपछि सशस्त्र प्रहरीको अस्पताल लगिएको थियो। त्यहाँ अस्पतालको चौरमा मेसिन लामो समय बेवारिसे रूपमा राखिएपछि मेसिन खोल्दै नखोली बिग्रिएको थियो।

मेसिन जडान नै नगरी बिग्रिएपछि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरुले बलम्बुस्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे।

मेसिनको  पाटपूर्जामा नै खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गर्न उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्म जडान गर्न नसकिने भन्दै फर्किएका थिए।

प्रयोगनै नगरी बिग्रिएपछि कम्पनीले पुनः अर्को मेसिन दिने निर्णय गरेको थियो। सोहीअनुरुप हाल टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको हो।

तर अस्पतालले मेसिन सञ्चालनमा ल्याउन सकेको छैन। वीर अस्पतातका एक कर्मचारीका अनुसार नेपालका निजी अस्पतालमा पनि नभएको अत्याधुनिक टोमोथेरापी मेसिन वीरमा सञ्चालन हुँदा निजी अस्पतालमा उपचारका लागि क्यान्सरका बिरामी नजाने डरले सकभर वीरमा यो मेसिन सञ्चालन हुन नदिन एउटा समूह सक्रिय रहेकाले टोमोथेरापी मेसिन सञ्चालनमा ढिलाइ भएको बताए।

ती कर्मचारीले भने‚ ‘अहिलेसम्म क्यान्सरको उपचार गर्ने नेपालका कुनै पनि अस्पतालले यो मेसिन ल्याएका छैनन्। यस्तो अवस्थामा वीरमा टोमोथेरापी सञ्चालन हुँदा धेरै बिरामी यहाँ आएर अन्त जाँदैनन् भनेर सञ्चालन हुन नदिन एउटा समूह लागि परेको छ। पहिलो पटक मेसिन ल्याउँदा पनि भएको यही थियो।’

वीर अस्पतालमा दैनिक सरदर ५० जना क्यान्सरका बिरामी आउने र उनीहरुलाई दिइने रेडियोथेरापी हाल रोकिएकाले बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन्। क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि २ लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ।

तर न्याम्सका उपकुलपति प्राडा बस्नेतले भने टोमोथेरामी सञ्चालनको लागि अन्तिम तयारी भइरहेको र अबको ३ हप्तासम्ममा सञ्चालनमा आउने बताए।

उनले भने‚ ‘हामीले एक महिनाभित्र सञ्चालन गर्ने भनेका थियौँ तर तयारी गर्दागर्दै सकिएन। अब तयारी अन्तिम अवस्थामा पुगेको छ सकेसम्म ३ हप्ताभित्रै सेवा सञ्चालन हुन्छ‚’ प्राडा बस्नेतले भने।

अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले हाल मेसिन राखिएको स्थानमा भारतबाट प्राविधिक झिकाएर विकिरणको परीक्षण भइरहेको बताए। उनका अनुसार मेसिन सञ्चालनको लागि अस्पतालका केही कर्मचारी भारत गएर ट्रेनिङसमेत लिएर फर्किसकेका छन्।

‘उपचार जति राम्रो छ जोखिम पनि त्यति नै छ। मेसिनबाट विकीरण चुहावट भएमा त्यसबाट निरोगी मानिसलाई क्यान्सर हुने जोखिम रहन्छ‚ त्यसैले अहिले मेसिन राखेर सेवा दिने ठाउँमा मेसिन फिट गरेर विकीरण चुहावट भएको छ छैन भनेर परीक्षण भइरहेको छ‚’ मेडिकल स्टोर प्रमुख पनेरूले भने।

तत्काल भने उक्त मेसिन सञ्चालनको लागि आवश्यक पर्ने इमोलाइजर उपकरण हालसम्म पनि खरिद नभएकाले सञ्चालनमा ढिलाई भइरहेको छ।

इमोलाइजरको मूल्य करिब ५० लाख रुपैयाँ पर्छ। इमोलाइजरले टोमोथेरापी गर्ने बिरामीको शरीरको क्यान्सरग्रस्त अंगमा विकीरण पठाउन सहयोग गर्ने मेसिन हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.