पर्यटन शुल्क ५ करोड ९१ लाख ११ हजार संकलन

|

काठमाडौं : चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ। १० अर्व ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कार्तिक गरी ४ महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रूपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रूवकुमार काफ्लेले जानकारी दिए। 

गएको बर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो। त्यो बर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रूपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रूपैयाँ संकलन भएको थियो।  

शीर्षकगत रूपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ। यसमा २० लाख रूपैयाँ वार्षिक लक्ष्य राखिएको थियो। १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रूपैयाँ (२७.९१ प्रतिशत ) राजस्व संकलन भएको छ।

गएको बर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो।  पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रूपैयाँ (५२.४८ प्रतिशत ) प्रतिशत राजस्व उठेको थियो। यस बर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रूपैयाँ (३०.८० प्रतिशत) राजस्व संकलन भएको छ।

यही शीर्षकमा गएको बर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात्  ७८ करोड ३७ लाख ५ हजार १५३ रूपैयाँ संकलन भएको थियो। 

महानगरपालिकाका अनुसार यस बर्ष १ अर्व २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रूपैयाँ (९.१० प्रतिशत ) राजस्व संकलन भएको छ। यस शीर्षकमा गएको बर्ष २ अर्ब ५० करोड रूपैयाँ लक्ष्य राखिएको थियो। यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रूपैयाँ (४.६७ प्रतिशत ) राजस्व संकलन भएको थियो।

घरजग्गा रजिष्ट्रेसन दस्तुरको लक्ष्य चालु आर्थिक बर्षमा किन घटाइयो ? भन्ने प्रश्नको उत्तरमा राजस्व विभागका प्रमुख काफ्ले भन्छन, ‘घरजग्गाको कारोवार सबै समयमा एकै प्रकारको छैन, कहिले धेरै र कहिले कम हुन्छ, विगत ३ बर्षदेखिको घर जग्गा रजिष्ट्रेसनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटो छिटो निर्णय परिवर्तन गरेको देखिएकाले यस शीर्षकमा राजस्व संकलनको लक्ष्य घटाएका हौँ।’ 

यस बर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रूपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रूपैयाँ लक्ष्य राखिएको छ। यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रूपैयाँ (२४.९९ प्रतिशत ) र ७३ लाख ७५ हजार रूपैयाँ (२५.०० प्रतिशत ) प्राप्त भएको छ।

गएको बर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रूपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रूपैयाँ लक्ष्य राखिएको थियो। सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रूपैयाँ प्राप्त भयो। यसकारण गएको बर्ष हामीले चालु र पुँजीगत छुट््याउन सकिएन। राजस्व विभागका प्रमुख काफ्लेले यसबर्षदेखि छुट््याएर पठाउन थालिएको बताए। 

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय (५९.११ प्रतिशत), २ करोड ५० लाख रूपैयाँ बेरूजु फस्र्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रूपैयाँ (५३.९२ प्रतिशत), अन्य बिक्रीबाट ५० लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रूपैयाँ (१०१.९३ प्रतिशत) राजस्व संकलन भएको छ। 

नाता प्रमाणित दस्तुरमा ३५.४८ प्रतिशत, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८ प्रतिशत, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत लक्ष्य प्राप्त भएको छ। यी शीर्षकमा क्रमशः ५० लाख रूपैयाँ, २ करोड रूपैयाँ र ७१ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रूपैयाँ, ७५ लाख ७६ हजार ४३ रूपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रूपैयाँ प्राप्त भएको छ। 

बाँडफाँडबाट प्राप्त हुने बिज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार १८७ रूपैयाँ प्राप्त भएको छ। यस शीर्षकमा गएको आर्थिक बर्ष र चालु आर्थिक बर्षमा एउटै अङ्क (८ करोड रूपैयाँ) लक्ष्य राखिएको छ।

यससँगै महानगरपालिकाले पार्किङ्क शुल्क, नक्सापास दस्तुर, शिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँडतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.