|

 काठमाडौं : हिमाल हेर्दै हुर्किएको हुँ।

‘हिमाल हेर्दै हुर्किनु र हिमालमै पुग्नु भिन्न कुरा हुन्’, एकाध पटक हिमालको फेदीमा पुगेपछि अनुभवले भन्यो।

घरबाट उत्तरमा लहरै देखिने हिमाल नजिकै लाग्थे। देख्दा नजिक, पुग्न कठिन हिमालको विशेषता हो।

हिमाल मेरा लागि केवल विदेशी मिठाइ खान पाइने भरपर्दो स्रोत थिए। एकदिन एउटा खाम मेरो घरको ठेगाना खोज्दै आइपुग्यो।

खामभित्र थिए छ थान तस्वीर। जहाँ म मुस्कुराएको थिएँ। खामबाहिर लेखिएको अक्षर दिदीले पढी, 'फ्रम चाइना'।

यो बचपनको कुरा हो।

कसले खिच्यो? थाहा छैन।किन खिच्यो? थाहा छैन।

खिच्नेले तस्वीर मात्र खिचेन होला। तस्वीरसहित केही चकलेट पक्कै दियो। जसले चाइनाबाट तस्वीर पठाइ दिनसक्छ, उसले बच्चाको ओठमा फूल्ने मुस्कानको इज्जत गर्छ।

स्मृतिको पानाबाट अतितका पत्रहरू धेरै पर छुटिसके। समयले बेलाबेला स्मृतिको पत्र खोतल्दा मात्र अतीतले स्थान पाउँछ।

सेदुवा गाउँको उकालो चौतारीमा थकित शरीर सुस्ताउँदै थियो। दुई बच्चा आइपुगे।

'ओन चकलेट पिलिच।'

हिमाल हेर्न आएका मान्छेसँग चकलेट हुन्छ। उनीहरूलाई थाहा छ। जसरी हिमाल हेर्न आएका मान्छेसँग क्यामेरा हुन्छ। मैले जानेको थिएँ।

बच्चाहरूको ओठमा खुसी फूल्न पाउनुपर्छ। यो उनीहरूको अधिकार हो।

‘ह्याभ सेफ जर्नी’, गुलियो मुख पार्दै उनीहरू आफ्नो बाटो लागे।

घाम क्षितिजमा पुग्नुअगावै टाँसीगाउँ पुग्नुपर्नेछ। अघिल्लो दिन मात्र भालुको आक्रमणले एक स्थानीय घाइते भएको डर हामीलाई सुनाइएको छ। टाँसीगाउँ मकालुका लागि छुट्ने संखुवासभाको अन्तिम गाउँ हो।

दाइ रमेश सायनका पाइला धिमा गतिमा छन्। हाम्रो पैतालाको गति मिलेको छैन।

‘विस्तारै जानुभयो भने पनि टाँसीगाउँ पुग्नुहुन्छ’, नुमगाउँबाट हिँड्ने बेला होटलका दिपेन्द्र कँडेल दाइले सान्त्वना दिएका थिए।

१५८०मिटर उचाइमा छ नुमगाउँ। यही गाउँबाट पैदल यात्रा सुरू हुन्छ। अरुण नदी सुसाएको प्रष्ट सुनिन्छ। पर देखिन्छ सेदुवा गाउँ।

७००मिटर उचाइमा बगेको अरूण नदी पुग्न दुईघण्टा ओरालो झर्नुपर्छ। जंगल र गाउँ मिश्रित बाटोमा अलैँचीको जवानी फक्रिएको देख्न सकिन्छ।

सेदुवा गाउँ पुग्नुअघि राईगाउँ आइपुग्छ। धान थन्काउन स्थानीय खेतका गह्रामा थिए।

स्थानीयहरू सोध्छन्, ‘शिवधारा जाने हो?’

शिवधारा? मैले पहिलोपटक सुनेँ।

शिवधाराको महत्व र पुग्ने जटिलताबारे बुझ्न गुगल गरेँ। शरीरमा तागत ननिख्रिँदै हाम्रो दुवैको शिवधारा जाने योजनाले मुना हाल्यो।

सेदुवामा मकालु वरुण राष्ट्रिय निकुञ्जमा यात्रा गरेबापत नेपालीले प्रतिव्यक्ति सय रूपैयाँ तिर्नुपर्छ। किन तिर्नुपर्छ? तिरेपछि के हुन्छ? लिनेलाई थाहा होला।

सेदुवाबाट उकालो लागेपछि सुवेदीगाउँ आउँछ। यहाँबाट मोबाइलको नेटवर्क बन्द हुन्छ। सामाजिक सञ्जालबाट लोकतन्त्र बचाउन कम्मर कसेका योद्धाको मोबाइल अफ हुनु लोकतन्त्रका लागि खतरा हो। छ दिन देशको लोकतन्त्र खतरामा पर्नेवाला छ। 

पासको छेउमा निलम दिदीको होटल छ। सेदुवामा उनको घर छ। जब नुमगाउँमा पर्यटकहरू हिँडेको खबर आउँछ उनी सिप्तुङ्लाका लागि हिँड्छिन्। खाना खुवाउने र पर्यटकलाई बास दिनु उनको काम हो। नुमबाट ३०-३५ जनाको ग्रुप मकालुका लागि आउँदै छ भन्ने थाहा पाएर उनी तिहारको भोलिपल्टै सिप्तुङ्ला आइपुगेकी हुन्।

बिहानीपख टाँसीगाउँमा पारिलो घाम लागेको छ। ‘टाँसीगाउँबाट देखिने खोम्बाडाँडाको उकालोलाई उकालो मान्ने हो भने त्यहीँबाट सरक्क घर फर्के हुन्छ’, खाँदबारीबाट नुम पुर्‍याउने जिम्मा लिएका राईदाइले हाम्रो मुख नै अमिलो हुने गरेर सचेत गराएका थिए।

खाँदबारीबाट नुमगाउँ मुस्किलले ३८ किलोमिटर छ। जिप पुग्छन। अरूण तेस्रोका लागि निर्माण सामग्रीहरू यही बाटो हुँदै जान्छन्। अफरोड बाटोमा गुड्न अल्छि मानेझैँ गरेर गुडिरहेका ट्रकहरू देखा पर्छन्।

तुम्लिङटारबाटै नुम गाउँका लागि जिप बुकिङ गरेका थियौँ। तर, यात्रु भरिएर जिप हिँडेछ।

परेन फसाद?

त्यसपछि त हो राई दाइ भेटिएका।

कोही छुटिएपछि कोही भेटिन्छन्। तब न यात्रा।

चार घण्टाको यात्रा छ। शान्त बसिरहन सकिँदैन। उनी बोलिरहने मान्छे हुन्। उनलाई नबोल्ने मान्छे मनपर्दैन। मलाई जस्तै।

खाँदबारीमा छोरी र श्रीमतीसहित कोठा लिएर बसेका उनको नजिकै गाउँमा आफ्नै घर छ।

‘साँघुरो जिन्दगीले के मोहनी लगायो त हो दाजु?’

उनका लागि एकघण्टामा पुग्ने गाउँ बिरानो भएको छ। जन्मिएको गाउँ बिरानो हुनु कति पीडादायी हुन्छ उनको शब्दले बताउँछ।

जटिल रोगले उनको  आमाको शरिरमा डेरा जमाएको छ। काठमाडौंदेखि भारतसम्म उपचार गरेँ। रोगले डेरा सारेन। धर्म फेरेँ रोग निको हुन्छ कसैले कान फुकिदिएछ।

करिब दश वर्षदेखि बाआमा रोग निको हुने आशामा छन्। केही वर्षअघिको कुरा हो। हिन्दु धर्मअनुसार औँशी र पूर्णिमामा खेत जोत्नुहुन्न,    हलो बिसाउनुपर्छ भनेर असारमा उनले हलो बिसाएछन्। त्यहीदिन बुबाले खेत जोत्न हलो उठाए। झगडाको लागि यो बिउ खाफी भयो।

दशैँमा टीका लगाइदिने बाआमाले धर्म फेरे। उनको निधार खाली भएको वर्षौं भइसक्यो। बाबुछोराको विचार मिल्दैन। संस्कार मिल्दैन।  अचेल त  मन पनि मिल्दैन। धर्मका कारण बुबाआमाबाट उनी एक्ला भए। धर्मका कारण छोराबाट बुबाआमा एक्ला भए। उनको स्वरमा दिक्दारी मिसिन्छ।

धर्मले जुटाउँछ कि फुटाउँछ? यथेष्ट जवाफ तत्कालका लागि सम्भव छैन।

टासीगाउँबाट डेढघण्टा हिँडेपछि डाँडाखर्क आउँछ। झोलामा सिंगो कोठा बोकेर हिँडेका थियौँ। बढ्दो उचाइको असर देखिन थाल्यो। आफ्नै शरीर भारी हुँदै गयो।

खच्चडहरू भारी बोकेर उकाली ओराली गरिरहन्थे। बीचबीचमा देखिने गोठ र होटलमा महिला र बच्चाहरू मात्र भेटिन्छन्।

पुरूषहरू कोही गाइड र कोही भरिया बनेर हिमाल गएका छन्। चैतदेखि मंसिरसम्म महिलाहरू आफ्ना जहानको प्रतीक्षामा घर कुरेर बस्छन्।

डाँडाखर्कको नाक ठोक्किने उकालो सकिएपछि मात्र ३५०० मिटर उचाइमा रहेको खोम्ङाडाँडा आइपुग्छ। टाँसीगाउँबाट बिहान ६ बजे हिँडेका हामी करिब ७ घण्टापछि  खोम्ङाडाँडामा बास बस्न पुग्छौं।  

खोम्ङाडाँडामा रहेका दुई होटलमध्ये एक सुवेदी बाको हो। उनी मुख र हात बरोबर चलाउन खप्पिस छन्।

'हामी बुढाबुढी हजुरहरूलाई बास दिन बसेका हौँ', सुवेदी बाको मिठो आतिथ्यता सुरू हुन्छ।

उकालो चढेका पैतालाले नुनसहितको तातोपानीमा डुबाउँदा आराम पाउँछ। सुवेदीबा बुझ्नेछन्। उनले भाँडामा नुनपानीसहित तातोपानी ल्याएर अगाडि राखिदिए।

मुजा परेको अनुहारले बुढ्यौली लागेको संकेत गरेको  छ। दम बढेपछि धुम्रपान र मध्यपान छोडे। यी दुवै छोडेपछि भत्किएका सम्बन्धहरू पुन: जोडिन थाले।

'सुरूमा यो गोठ थियो। दाजुभाइलाई शहर प्यारो भो। मलाई गोठ',बुढाले भाका हाले, 'बाआमाको रगत र पसिना यही माटोमा सकियो, मेरो जवानी।'

चौँरी र भेडा हेर्नु दैनिकी थियो। बिहे भयो। छोराछोरी भए। जिम्मेवारी थपियो। ७१ सालमा गोठलाई होटल बनाए।

७२ को भूकम्पले सब भत्कायो। ॠण लाग्यो। ऋण गरेर दुईतलाको होटल बनाएकै वर्ष कोरोनाले ॠण थपेर गयो।

दुईवर्ष अघि हिउँले दुईतलाको होटल ढलाइदियो। ॠणमाथि ॠण थपियो। नियतिले जति घन ठोके पनि उनले हिम्मत हारेका छैनन्।

अर्को होटल थप्ने उनको योजना छ। होटल व्यवसाय भनेको हिम्मतको खेल हो। सुवेदीबा हिम्मतिला छन्।

खोम्ङाडाँडाबाट बिहानै यात्राको थालनी गर्नुपर्नेछ। ‘उकालो चढ्न तयार छौँ?’ खोम्ङाडाँडा माथिको भ्युटावरले सोधेझैँ लाग्छ। भ्युटावर पुगेपछि पारि सिप्तुङ्ला पासले पनि यही प्रश्न गर्छ। 

सिप्तुङ्लाबाट नागबेली बाटो हेर्दा ग्रेटवाल पनि यस्तै हुँदो हो। कल्पना गर्छु। खर्कहरू देखिन थाल्छन्। पहाडले आफूलाई रंगीन बनाउन वसन्त ऋतु पर्खिएका छन्।

यात्राको सबैभन्दा जोखिमपूर्ण बाटो पनि यही हो। जसले यो उचाइ पार गर्छ उसले बेसक्याम्पको यात्रा सहजै गर्छ।

पासको छेउमा निलम दिदीको होटल छ। सेदुवामा उनको घर छ। जब नुमगाउँमा पर्यटकहरू हिँडेको खबर आउँछ उनी सिप्तुङ्लाका लागि हिँड्छिन्। खाना खुवाउने र पर्यटकलाई बास दिनु उनको काम हो। नुमबाट ३०-३५ जनाको ग्रुप मकालुका लागि आउँदै छ भन्ने थाहा पाएर उनी तिहारको भोलिपल्टै सिप्तुङ्ला आइपुगेकी हुन्।

उनले मिठो खाना बनाउँछिन्। बेसक्याम्पसम्म उनको पाककलाको। प्रशंसा गर्नेहरू भेटिन्छन्।

‘शहरमा हुर्किएका मान्छेले हिमालमा आउँदा गाइड लिएर आउनुभयो भने सजिलो हुन्छ’, दिदीले हामीलाई शहरिया सम्झिन्।

‘हामी दुवै विकट लेकमा जन्मिएका हौँ। बोक्रो शहरिया भए पनि गुदीमा लेकको अंश छ।’

४२६५ मिटर उचाइमा रहेको सिप्तुङ्ला हिउँको बाटो हो। हिउँको हिँडाइ मेरो जीवनको दोस्रो अनुभव।

सिप्तुङ्लाको झर्दै गर्दा सोधेँ, ‘खुकुरी किन भिरेको भाइ?’

‘हिमालमा अकालमा मरेका मान्छेहरूले छल्न दिन्छन्। उनीहरूबाट बच्न’, लाक्पाले गोल-मोटल जवाफमा यो वाक्य पनि जोडे।

‘अकालमा मर्नेहरू के बन्छन् त?’

‘बोक्सी र किचकन्नी।’

‘हिमालमा केटी मात्र मर्छन्?’

उनको अनुहारमा लाजको रंग पोतियो।

नाम लाक्पा शेर्पा हो। उमेर बीस। खाँदबारी पढ्छन्। साना गाँठीका छन्। मिठो बोल्छन्। बिदामा बुबाको बिडो धान्न गाइड बन्छन्। उनको जीवनको एक लक्ष्य हो ट्रेकिङ गाइड। उनी अहिले सिकारु गाइड हुन्।

काठमाडौं तिरका पाँचभाइहरूको जीवन उनको हातमा छ। ‘हामीलाई त बचाउनु हुन्न होला है?’, ज्यानको माया गर्दै उनको मानवता जाँचेँ।

‘बचाउँछु’, उनी मानवताको विषयमा उत्तीर्ण भए।

‘हिमालमा जुनसुकै पर्यटकलाई अफ्ट्यारो भए पनि देखेसम्म उनीहरूलाई बचाउने र जोगाउने शेर्पाहरूले आफ्नो कर्तव्य ठान्छन्’,उनले हाम्रो शरीरमा आँट भरिदिए।

‘नेटवर्क त छैन कसरी बचाउनुहुन्छ।’

‘यहाँका स्थानीयहरू एक क्याम्पदेखि अर्को क्याम्पसम्म सम्पर्क गर्न वाकीटकी प्रयोग गर्छन्। हेलिकप्टर मगाउनुपर्दा स्याटलाइट फोन‘, उनीसँग हरेक प्रश्नको जवाफ छ।

सिप्तुङ्ला पास गरेपछि ठूलो पोखरी आउँछ जसलाई कालपोखरी भनिन्छ। यात्राभरको सबैभन्दा सुन्दर ठाउँ। यतै सुस्ताउन पाए पनि हुने लोभ लाग्छ।

तर हामीलाई जानु छ। हामी सुस्ताउन आएका हौइनौँ।

धार्मिक रूपले महत्वपूर्ण मानिने पोखरी छेउमा गछ्यअनुसार चढाइएका प्रशस्त पैसा छन्।

चिसोले कठ्यांग्रिएका यी पैसाहरू बटुलेर धूप किनेर बालिदिए, भगवान् पनि खुशी हुँदा हुन्।

धेरै वर्षअगाडि धूपले भगवानलाई खुशी बनाउँछु भन्ने एक धर्मात्मी भेटिए। पैसा बटुलेर धूप किन्न हिँडेका धर्मात्मी अरूण नदी नतर्दै भगवानको प्यारो भएछन्। त्यसपछि पैसा उठाउने आँट कसैले गरेका छैनन्। आस्था हो। आस्थाको अगाडि कसको के लाग्छ?

हजुरबुबाले सुनाएको कथा लाक्पाले हामीलाई सुनाए।

ठूलोपोखरीबाट केकेपासका लागि आधा घण्टाको उकालो हिँड्नु पर्नेछ। केके पास पार गरेपछि ओरालो सुरू हुन्छ।

यात्रामा अगाडि पछाडि भइरहेका पाँचभाइमध्ये चारभाइ दाइसँग दोबाटे पुग्ने हतारोमा छन्।

म र एकभाइ केकेपासमा तस्वीर खिच्न व्यस्त।

‘तपाईंको मोबाइलले राम्रो तस्वीर खिच्ने रहेछ’, मैले आफ्नो मोबाइलमा ब्लर आएको तस्वीर डिलिट गर्दै उनको मोबाइलको प्रशंसा गरेँ।

‘अष्ट्रेलियामा एक महिनाको कमाइले किनेको भएर हो कि’, उनी गजक्क पर्दै बोले। बुबाआमाको अगाडि आफूले गुमाएको विश्वास जित्न उनले देश छोडेका हुन्।

उनले आफ्नो जीवनको पत्र खोल्न थाले।

किशोरावस्थामा उनी कुलतमा फसे। कुलतमा लागेको मान्छेले आफूलाई सर्वश्रेष्ठ ठान्छ।  उनले सबै सामाजिक संस्कारहरू उल्लंघन गरे। बुबाआमा र समाजबाट एक्लिए ।

साथीहरू लाखापाखा लागे। बुबाआमार समाजको बेवास्ताले उनको नैराश्यतामा थप बल पुग्यो।

एक्लोपनले असल छोरो बन्नुपर्छ भन्ने बुद्धि आयो। पासपोर्ट बनाए। अष्ट्रेलिया लागे।

‘बोनम्यारोभित्रको मासु खलबलिने गरेर संघर्ष गरेपछि मैले मेरो बुबाको दु:ख बुझेँ’, बुबाआमालाई पीडा दिएको कुराले उनी थकथकाउँछन्। बुबाको दु:ख बुझ्न उनले देश छोड्नुपर्‍यो।

३८७० मिटर उचाइमा रहेको दोबाटे क्याम्पमा बस्नुपर्थ्यो। मेरो कारण क्याम्प स्किप गर्नुपर्‍यो। छिटो बेसक्याम्प पुगेर फर्किनुपर्छ। बिदा छोटो छ।

‘सातदिनको छुट्टी लिएर मकालु होइन जोगबनीतिर घुम्न जानु’, दोबाटेमा बस्न नपाएपछि दाइको गनगन सुरू हुन्छ।

विदेशीहरू हिमाल हेर्न आउँदा रमाएर फर्कन्छन्, नेपालीहरू थाकेर। मेरो गन्तव्य अफिसको बिदाले निर्धारण गरेको छ।

छोटो बिदामा लामो यात्राको रहर गर्ने अधिकांश नेपालीहरूको साझा बाध्यता हो।

दोबाटेबाट ठाडो ओरालो छ।  पाइलाको साक्षी दाँतेभीर अगाडि छ। बेँशीमा वरुण नदी गड्गडाहट सुन्न सकिन्छ। कहाँ पुग्न हो कुन्नि। हतारमा देखिन्छ। दोबाटेबाट याङ्ले खर्क पुग्न कम्तीमा हामीलाई ६ घण्टा लाग्छ।

वरुण नदीको तिरमा पुगेपछि ठूलो पहिरो देखापर्छ। यतिबेला आँखा र खुट्टा चनाखो राख्नुपर्छ। जुनसुकै बेला तपाईंमाथि ढुंगा बर्सिन सक्छ। जुनसुकै बेला चिप्लिएर नदीमा पुग्न सकिन्छ। हामीभन्दा अगाडि लागेका लाक्पाले खुकुरी निकाले। बाटोबाट उकालो दौडिए। जंगलमा चौँरीलाई चितुवाले आक्रमण गरेको उनले देखे। चौँरी बचाउन गएका उनी रगत नै रगत बनेर फर्किए।

‘चौरीलाई के भयो?’, दाइले सोधे।

‘स्यालले आक्रमण गरेछ।’, लाक्पाले शरीरमा लागेको रगत पुछ्दै अगाडि लागे।

अँध्यारो नजिकिँदै छ। याङ्ले खर्क पुग्न सक्ने शरीरमा तागत थिएन।

पहिरो कटेको केही समयमै ३५००मिटर उचाइमा रहेको पेमाथाङ आइपुग्छ। लाक्पाको टोली भने अगाडि नै याङ्ले खर्क हिँडिसकेछ। उनीहरू पनि हतारका यात्री हुन्।

‘चौँरीलाई स्यालले आक्रमण गरेछ नि’, होटलको शेर्पा आमालाई सुनाएँ।

‘चौँरीलाई स्यालले आक्रमण गर्न सक्दैन, लाक्पाले चितुवा धपाएको हो’, आमाले आगो ताप्दै सुनाइन्।

‘लाक्पाले स्याल हो भन्थ्यो त।’

‘हिमाल मान्छे रमाउन आउँछ, डराउन होइन। कहिलेकाहीँ झुट बोल्नुपर्छ’, बेसक्याम्पबाट फर्किएका एक गाइडले सटिक जवाफ दिए।

लाक्पाले झुट बोल्न सिकिसके। उनी चाँडै यो दुनियाँसँग घुलमिल हुनेछन्।

पेमाथाङबाट बल्ल बाटो समथर छ। याङ्ले खर्क पुग्न एक घण्टा लाग्छ। याङ्ले खर्क पर पहाडमा शिवधारा देखा पर्छ। उकालो देखेर मन यसै बाउँडियो।

४२००मिटर उचाइमा छ शिवधारा। भीरको बाटो, त्यसमाथि हिउँ। हिउँ फाल्दै डोरी समात्दै धर्म गर्न जान्छन् मान्छे।

धर्म गर्न सजिलो काम होइन। हुन्थ्यो भने पापीहरूको जन्म किन हुन्थ्यो र?

साहसिक यात्रा पढ्न रुचाउने, गर्न डराउने म साधारण मान्छे हुँ।

‘जाने हो त धर्म गर्न?’ दाइले मन नलागी नलागी खुट्टा उचाले।

मैले नाक खुम्च्याएँ।

बाटोमा बनाएको शिवधारा जाने योजनाको मुना बाटोमै निमोठियो। हामीले याङ्मालेका लागि बाटो मोड्यौं। बेलुका याङ्मालेमा बास हुन्छ। त्यसका लागि हिँड्नु छ।

याङ्माले पुग्ने बाटो अलिक ढाडस दिने खालको छ। उकालो तर पैतलाले थाहा नपाउने।

कुनै गल्ती गर्दा कुचो लिएर आइजा केही गर्दिनँ भनेर आमाले बच्चा फकाएजस्तो।

तोड्सामा होटल छ। तर बन्द। अगाडि तीन हिमाल आँखामा ठोकिन्छन्। तीनमध्ये एक त मकालु होला हामी अड्कल काट्छौँ।

कसलाई सोध्ने?

बाटोमा विरलै टुरिष्ट, भरिया र गाइडहरू भेटिन्छन्। एक टोली भेटियो। सोध्यौँ, ‘यीमध्ये कुन हो मकालु?

‘सेरोसाङबाट मात्र मकालुको दर्शन मिल्छ, त्यो पनि भाग्यले साथ दियो भने मात्र।’

हाम्रो भाग्य बादलको हातमा छ।

याङ्माले पुग्दा एक बजेको थियो। ‘आज फेरि शिवधारामा दर्शन गर्न मान्छे गएछन्’, मडारिएको आकाश हेर्दै शेर्पा बा बोले। चार पुस्तादेखि याङ्मालेमा होटल गर्दै आएका बाले मौसम हेरेर तीन घण्टाको दूरीमा रहेको शिवधारामा दर्शनार्थी पुगे नपुगेको अड्कल काट्छन्।

‘मकालु हेर्ने भए छिटो पुग्नुपर्छ। ११ बजेपछि त बादलले ढाक्छ’, शेर्पा बा बोल्छन्।

बिहानै चार बजे हिँड्ने योजना सुनाउँछौँ।

‘उज्यालो भएपछि जानु नत्र चितुवाले उठाउला’, उनी चितुवाको डर देखाउँछन्।

हिमालको चिसो हावा खाँदै बेसक्याम्पका लागि बिहान ६ बजे यात्रा सुरू हुन्छ। बिहानी मौसम घमाइलो छ। यो चौँरी र भेडा बेँशी झर्ने याम हो। ठूला ठूला खर्कहरू एक्ला भएर उदास उदास छन्।

४७०० मिटर उचाइमा रहेको सेरोसाङ पुग्दा ९ बज्यो। पर देखियो रहस्यमयी मकालु।  यही मकालु हेर्न हामी पाँच दिन हिँडेका थियौँ। वरिपरिका हिमालमा हिउँ घामका किरणसँग सिगौँरी खेलेका छन्। हिउँ चर्किएको आवाज सुनिन्छ। 

‘याङ्मालेबाट फोन आएको थियो। दुई पाहुनाहरू याङ्ले खर्क झर्दै छन्। ८बजेसम्म आइपुगेनन् भने खोज्न जानु।’ उनलाई हामी सकुशल आइपुग्यौँ भनेर खबर पुर्‍याउने माध्यम थिएन। फोन गरिदिनुस् भनेर भन्न सकेनौँ। चिन्ता लिने शेर्पा बालाई धन्यवाद दिनेबाहेक हामीसँग अरू केही छैन।

अझै एक घण्टा हिँड्नुपर्छ ४८००मिटर उचाइमा रहेको मकालुको फेदीमै पुग्न। मकालुलाई छुन हातहरू आतुर छन्।  ८४८१ मिटर उचाइ रहेको मकालु आफ्नो सुन्दरतामा मग्न छ। त्यसमाथि फेदीमा दूध पोखरी छ। वरुण नदीको मुहान।

१२ बजेको हुँदो हो। मैले जीवनमा पहिलोपटक हिमालमा पहिरो गएको देखेँ। दाइले भिडियो खिचे। म चिच्याएँ।

‘किन चिच्याइस्?’ फोक्सोले आफ्नो गति बढायो। हिमालमा गल्ती गर्ने छुट छैन। ‘भ्यु टावरमा पुग्नुभयो भने सगरमाथा पनि देख्नुहुन्छ’, बेसक्याम्पकी दिदी सुनाउँछिन्।

अक्सिजनको कमीले टाउको दुख्न थालिसकेको थियो। मैले हठात बोलिहालेँ, ‘सगरमाथा हेर्न अर्को वर्ष छुट्टाएका छौँ।‘

अब याङ्माले झर्नुको विकल्प छैन। चिसो मौसममा बाटो तताउनु लाभदायक छ।

याङ्मालेमा आइपुग्दा तीन बज्यो। चाउचाउको सुपसहित शेर्पा बाले स्वागत गरे।

बाहिर सिरसिर हिउँ पर्‍यो। सास फेर्न गाह्रो भयो। असर शरीरले देखाइहाल्यो।

‘गाह्रो हुन्छ जस्तो छ। याङ्ले खर्क जाऊँ’, मैले भनेँ।

‘केही हुन्न, म छु’,थाकेर लखतरान बनेका दाइले भरोसा दिए।

म चुप भएँ। शेर्पा बा बोल्न थाले, ‘हिउँ पर्दा हामीलाई त सास फेर्न गाह्रो हुन्छ।’

त्यसपछि दाइको आँट पनि डगमगायो। थकान भुले। चिया र सुप खानेबेलासम्म चार बजेको थियो। बाहिर कुहिरो र हिउँ उस्तै।

ज्यान बचाउन तुना कस्यौँ।

मकालु वरुण क्षेत्र चितुवा र भालुको अखडा मानिन्छ। हामी जाने बाटो जंगलको छ।

हिउँ र कुहिरो तोडसामा छुट्यो। अन्धकार र जंगल एकैपटक देखापर्‍यो। मनको चितुवाले बाटो छेक्यो।

‘खै लाइट निकाल्’, दाइले आदेश दिए।

‘ला! लाइट त कीर्तिपुरमै छुट्यो।’

‘तँ नसुध्रने भइस्’

सम्भवै छैन। कपाल कन्याउँदै निच्च हासेँ।

‘दाँत नदेखा।’

सुध्रने समय भाइको छ, दाइको सकियो। उनले आफ्नो झोलाबाट लाइट निकाले। मोबाइल मेरो जिम्मामा छोडे।

जुनेली रात, जंगलको बाटो। आफ्नै पाइलाको आवाजले बेलाबेला मुटुको धड्कन बढाइदिन्छ।

‘दुईमध्ये एकलाई चितुवाले उठाए के हुन्छ?’

जंगलको बीचमा अनायासै डर निस्कयो।

‘जिन्दगीभर आफैँसँग गुनासो हुन्छ’, बोल्न लोभ गर्दै दाइले यत्ति बोले।

ओरालो बाटो करिब साढे तीन घण्टाको हो। हामीले २ घण्टामा पार गर्‍यौँ।

याङ्ले खर्क पुगेपछि त्यहाँका शेर्पा दाइले जिज्ञासा राखे, ‘याङ्मालेबाट चार बजे हिँड्ने तपाईंहरू हो?’

‘हजुर हो। किन?’

‘याङ्मालेबाट फोन आएको थियो। दुई पाहुनाहरू याङ्ले खर्क झर्दै छन्। ८बजेसम्म आइपुगेनन् भने खोज्न जानु।’

उनलाई हामी सकुशल आइपुग्यौँ भनेर खबर पुर्‍याउने माध्यम थिएन। फोन गरिदिनुस् भनेर भन्न सकेनौँ।

चिन्ता लिने शेर्पा बालाई धन्यवाद दिनेबाहेक हामीसँग अरू केही छैन।

सबैसँग बेखबर भएर हिमाल घुम्न निस्केको छैटौँ दिन भइसकेको थियो। आफ्नाहरूलाई घुम्न जाँदै छु भने पनि हप्ता दिन हराउँछु भन्न भुलेको थिएँ। उनीहरूले पक्कै चिन्ता लिएका छन्।

हामी दुई भाइलाई पुग्नुछ चिन्ता लिनेहरूमाझ। सुनाउनुछ : सुवेदी बाको आतिथ्यता। शेर्पा बाको प्रेम। लाक्पाको कोमल हृदय र रहस्यमयी मकालुले कुरिरहेको खबर।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.