‘परम्परा धान्न हामी लागिपरेका छौँ’

|

काठमाडौँ : पूर्वका किरात राई समुदायको अधिकांश घरहरूमा यतिखेर न्वागीको चटारो छ। कसैका घरमा न्वागी गरी कुलपुजारीहरूले मुन्दुम फलाकिरहेका छन् भने कसैको घरमा धानको बिस्कुन (डोरुम) सुकिरहेको छ। 

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाका वाम्बुले घरमूलीहरूलाई भ्याइनभ्याई छ। छोरीचेलीहरू थुम्सेमा जाँडरक्सी कोसेली बोकेर पाहुना गइरहेका भेटिन्छन्। मानेभञ्ज्याङ-५ का समलधन राईका अनुसार जब मंसिर लाग्छ‚ धान भित्र्याएर न्वागी गर्ने चटारो हुन्छ।

श्रीभीमसेन स्थान युवा क्लबका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘हामी किरात वाम्बुले राईहरू मंसिरभरी नै न्वागी गर्न भ्याइनभ्याई हुन्छौँ, हाम्रातिर सकियो। अब अन्तै दाजुभाइहरूको घरमा न्वागी गर्न बाँकी छ।’ 

न्वागी पनि राईहरूको पाछाअनुसारको समयमा गर्छन्। सोही गाउँपालिका वडा नं ५ का स्थानीय अमृतबहादुर राईले पुस महिनामा पनि न्वागी गर्ने चलन रहेको जानकारी दिए। उनका अनुसार सबै दाजुभाइका घरमा एकै दिन न्वागी गर्दैनन्। एकैजना कुलपुजारीले धेरै घरमा मुन्दुम विधि पूरा गर्नुपर्ने हुँदा आलोपालो गरी न्वागी गर्छन्।

‘कुलपुजारीहरूले छलफल गरेर एक दिनमा कति घरमा न्वागी गर्ने भनी समय तोक्छन्’, उनले भने, ‘त्यसैअनुसार रक्सी पकाउँछौँ, न्वागीमा अत्यावश्यक चिज (जिर्मा) भने पहिल्यै पकाएर तयारी अवस्थामा राख्छौँ।’ उनी श्री देवीस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

पाछामा भने उनी मुक्काचो हुन्। वाम्बुले भावाचाचो राईहरू भने पुस महिनामा पुसे न्वागी गर्छन्। उक्त समयमा आँगनमा सुँगुर बाँधेर न्वागी गर्नुपर्छ।

 किन र कसरी गर्छन् न्वागी ?

मानेभञ्ज्याङ गाउँपालिका वडा नं ५ उदयपुरका नाक्सो (कुलपुजारी) सन्तबहादुर राईका अनुसार नयाँ बाली घर भित्र्याएपछि त्यसै खान मिल्दैन। न्वागी गरेर मात्र खान मिल्छ। यदि न्वागी नगरी नयाँ बाली खाएमा दुखबिमार हुने धार्मिक विश्वास छ।

‘मरेका पितृहरूलाई भोजन गराएर मात्रै नयाँ धान खान मिल्छ। त्यसैले यो नगरी कहिल्यै अन्न खाँदैनौँ', उनले भने।  न्वागीका लागि पहिला नयाँ धानलाई उसिनेर बिस्कुन सुकाइन्छ, जसलाई ‘डोरुम प्ल्याच्चाम’ भनिन्छ।

यो न्वागी गर्ने दिनको अघिल्लो दिन बिस्कुन सुकाइन्छ। त्यही धान कुटेर चामल बनाइन्छ। मुन्दुममा तीनचुलालाई पितृको मूल थलो मानिन्छ। त्यही चामलको भात पकाएर पितृलाई चढाइन्छ। यही विधि नै न्वागी हो। मुक्काचो र बोडम पाछाहरूले भने त्यही चामललाई कुटेर चिउरा पनि बनाउँछन्।

न्वागी गर्दा चिन्डो र एक घैलामा जिर्मा, टपरीमा चामल, थुन्सेमा भात, बोट र पातसहितको अदुवा, माछाको सिद्रा चाहिन्छ। कुलपुजारीले दौरासुरुवाल लगाई फेटा गुथेर खुँडा भिरी काठको विशेष पिर्कामा आसनग्रहण गर्छन्। त्यसपछि मात्रै मुन्दुम विधि प्रक्रिया अघि बढ्छ। 

मानेभञ्ज्याङ उदयपुरका वाम्बुले राईहरूले न्वागी दुई विधिबाट गर्ने गर्छन्। जसले नयाँ घर बनाएको छ, बिहे, खाउँमो (कार्जे) गरेको छ भने त्यो वर्ष अनिवार्य सुँगुरका पाठा, कुखुराको भालेपोथी बलि चढाएर पितृलाई पुज्छन् जसलाई (सामाहेपा पाचाम) भनिन्छ।

कसैले नयाँ घर बनाएको छैन, बिहेकार्जे गरेको छैन भने सुँगुरको पाठा, कुखुरा चाहिँदैन। यस्तो विधिको न्वागीलाई (फ्रयाच्याप पाचाम) भनिन्छ। सबै सुख, शान्ति, समृद्धिका लागि मरेका पुर्खाहरूको नामै फलाकेर नयाँ अन्न चढाइन्छ र आशीर्वाद मागिन्छ।

न्वागी गर्नुभन्दा पहिल्यै छिमेकीहरूलाई निम्तो गर्छन्। न्वागीकै निम्ति आफन्त, परिवार परदेशबाट गाउँघर फर्किने गर्छन्। उनीहरू सबैलाई न्वागीको दिन नयाँ धानको भात पकाएर जाँडरक्सीसहित भोज खुवाइन्छ। रातभर मादल, बाँसुरी बजाउँदै गीत गाएर मनोरञ्जन पनि गर्छन्।

धानखेती नहुँदा न्वागी गर्नेको संख्या घट्दै

पछिल्लो समय शहरीकरणका कारण गाउँघरमा धानखेती हुन छाडेको छ। यसले गर्दा न्वागी गर्नेको संख्या पनि घट्दै गएको छ। धान खेती नगर्नेहरूका घरमा न्वागी अनिवार्य छैन तैपनि परम्परा धानिरहेको स्थानीय समलधन बताउँछन्। अब झनै न्वागी गर्न हिँड्नेहरूका लागि पारिश्रमिकको व्यवस्था गरिने उनको भनाइ छ।

‘हामी किरातीहरू प्रकृतिपूजक हौँ। हाम्रो धर्मसंस्कृतिको संरक्षणमा हामी लागिपरेका छौँ। यसमा युवाहरू पनि लाग्नुपर्छ, न्वागीलाई व्यवस्थित गरी मनाउन नाक्सो कोष खडा गरेका छौँ। अब न्वागी गर्न जानेहरूलाई पारिश्रमिकको व्यवस्था पनि गर्ने योजना बनाएका छौँ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.