|

इलाम : फुटबल खेलमा स्ट्राइकरको मुख्य भूमिका भनेको गोल गर्नु हो।  त्यसैले स्ट्राइकरको प्रसिद्धि र पारिश्रमिक पनि अन्य पोजिसनका खेलाडीभन्दा विशेष हुने गर्छ।

स्ट्राइकरले गोल गर्दैन भने क्लबले उसलाई तुरुन्त अर्को क्लबलाई बेचिदिन्छ।

र विकल्पको खोजीमा लाग्छ। तर, फुटबल जगतमा कार्लोस हेनरिक राम्पोसो अर्थात् कार्लोस कैसर अपवाद खेलाडी हुन्। ब्राजिलियन बदनाम खेलाडी कैसरले एक गोल नगरि २६ वर्ष व्यावसायिक स्ट्राइकरको रूपमा ७० देखि ९० को दशकसम्म बिताए।

अमेरिका र युरोपका ९ क्लबमा उनले आफ्नो करियर बिताए। फुटबलसँगै डराउने ब्राजिलियनले क्लबलाई गुमराहमा राख्दै आफूलाई अब्बल खेलाडी भएको देखाइरहे।

उनी जवान हुँदा जर्मन स्टार ‘फ्रान्ज बेकेनबाउर’ सँग कथित समानताका कारण उपनाम कैसर राखिएको थियो। बेकेनबाउरलाईडैर कैसर’ उपमा दिइएको थियो। जसको अर्थ हुन्छ ‘सम्राट्’।

पटक–पटक घाइते भएको नाटक गरेर दक्षिण अमेरिका, युरोप तथा अमेरिकाका क्लबहरूलाई नै झुक्याउँदै २६ वर्षसम्म खेलाडीका रूपमा तलब खाइरहे। कतिसम्म भने फुटबल छुँदै नछोईकन स्टेडियममा उनको नाम लिएर समर्थकहरू चिच्याउँथे।

कैसरले कतिपय पत्रकारहरूलाई पनि प्रभावमा पारेका थिए। जसको फाइदा उठाएर उनका बारेमा मिडियाहरूमा मिथ्या समाचारहरू प्रकाशन भइरहन्थे।  कैसर अनुबन्धित मेक्सिकन क्लब प्युब्लामा उनी रहँदा मेक्सिकोले त्यहाँको नागरिकता र राष्ट्रिय टोलीबाट फुटबल खेल्ने अफर आयो भनेर पत्रिकाले लेखिदिएका थिए।

 ब्राजिल फर्केपछि कैसरले कार्लोस अल्ब्रेटो टोरेस, रिकार्डो रोसा तथा रेनाटो गुचो जस्ता तत्कालीन फुटबलर हस्तीसँग दोस्ती बनाएका थिए।

रिपोर्टका अनुसार, नयाँ क्लबमा राम्रोसँग अनुबन्धन हुन राम्रो सिफारिसको लागि उनले यो सब नाटक गरेका थिए।

भ्रामक समाचार र अफवाह सिर्जेर नै उनले यस्तो भ्रम सिर्जन गरेका थिए कि मानौँ उनी एकदमै महान् फुटबलर थिए। जसले गर्दा क्लबहरू समेत विश्वस्त बनेका थिए।

मोबाइल फोन त्यतिबेला सर्वसुलभ थिएन। तर, कैसरले यसको पनि दुरुपयोग गर्दै अन्य भाषाबाट पटक–पटक फेक अफरलाई लत्याएको नौटंकीसमेत गरेर झुक्याइदिन्थे। क्लबहरूलाई गुमराहमा राख्न उनले छोटो समयका लागि क्लबसंग अनुबन्धित रहन्थे।

क्लबको अभ्यासमा भाग लिए पनि प्रतियोगिता दौरान घाइते भएको नाटक गरेर बेञ्चमा बस्ने गरेका थिए। १९८६ मा फ्रान्सको दोस्रो डिभिजन क्लब गाजेलेक आजासियोमा अनुबन्धित भए।

क्लबले उनको स्वागतमा समर्थकहरूसँगै अभ्यासको कार्यक्रम राख्यो।  यिनले सबै बल समर्थकतिर फालिदिए र क्लबको ब्याज चुम्दै आफूलाई जोगाए।

त्यसपछि उनी फेरि ब्राजिल फर्के र बाङ्गुमा क्लबमा अनुबन्धित भए। त्यहाँ पनि फेरि उनले घाइते भएको अभिनय गरे।

यति हुँदा–हुँदै पनि क्लबका प्रायोजक कास्टर डि एन्ड्रेडले जसरी पनि कैसरलाई खेलाउन दबाब दिए। खेलमा बाङ्गु २–० ले पछि परेको थियो कास्टरले कैसरलाई खेल्न मैदानमा पठाए।  पोल खोलिने पूर्ण सम्भावना देखेपछि वार्मअप गर्दा–गर्दै कैसर हुटिङ गरिरहेका समर्थकसँग जाइलाग्छन्।

त्यति भएपछि उनलाई रातो कार्ड दिइएको थियो। दर्शकले आफूलाई बुवाको नाम लिएर गाली गरेकोले त्यस्तो हुन पुगेको स्पष्टीकरण दिएर उन्मुक्ति पाउँछन्।

उनको नवीकरण पनि अरू ६ महिनालाई लम्बिन्छ। उनको अन्तिम व्यावसायिक क्लब भास्को डि गामा थियो।

आफ्नो फेक फुटबलरको २६ वर्षे करियरमा उनी प्युब्ला, फ्लेमिङ्गो, गाजेलेक आजासियो, बाङ्गु फ्लसमिनिस, एल पासो सिक्स सुटर्स अमेरिका जस्ता क्लबहरूमा अनुबन्धित भएका थिए।

कैसरलाई फुटबलको अथाह ग्ल्यामरप्रति ठूलो लोभ थियो। तर, उनलाई फुटबल खेल्न आउँदैन थियो। यही प्रशिद्धिबाट लोभिएर दुनियाँको आखाँमा छारो हाल्दै उनी २६ वर्ष व्यावसायिक फुटबलर बनेका थिए।

तर, खासमा उनीले कहिल्यै कुनै खेल भने खेलेनन्। तर एउटा सफल फुटबलरको नाममा उनले मोजमस्तीको जीवन बिताए।  फुटबलबाट उनको चाहेको पनि यत्ति नै थियो। 

सन् २०१५मा युकेको नोड्स एण्ड भलिज इन्टरटेन्मेन्ट कम्पनीले ‘कैसरःग्रेटेस्ट फुटबलर नेभर टु प्ले फुटबल’ नामको कैसरको जीवनीमा आधारित फिल्म नै बनायो।

सन् २०१८ मा ट्रिबेका फिल्म फेस्टिभलमा प्रदर्शित उक्त फिल्ममा कार्लोस अल्ब्रेटो टोरेस, जिको, बेबेटो, रिकार्डो रोचा तथा रेनाटो गुचो जस्ता हस्तीहरू पनि समेटिएका छन।

 त्यसैगरी, पत्रकार रब स्मिथले यही नामबाट पुस्तकमा कैसरको जीवनी लेखेका छन्। जुन २०१८ मा प्रकाशित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.