|

इलाम : घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन्। ५ घरमा परिवार संख्या ३ मात्रै छ। घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन्।

नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ। घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ।

पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको? तर यहाँ पुगेर चियाको चुस्की लिँदै स्थानीयको भनाइ सुनेपछि थाहा हुन्छ कैयाकट्टाको महत्व।

कैयाकट्टामा विश्वभरका वन्यजन्तु, चराविज्ञप्रकृतिप्रेमीको दिनहुँ बास हुन्छ भन्ने स्थानीयको भनाइले आफू मात्रै ढिलो पुगेको आभास हुन्छ।

नेपाल- भारत सीमा क्षेत्रमा रहेको कैयाकट्टाको नेपाली बस्ती जंगलले घेरिएको छ। भारतसँग सीमा जोडिएको घना जंगलको टुप्पोमा सानो बस्ती छ। भारतपट्टि पनि घना जंगल छ। भारतपट्टि जंगल रक्षाका लागि सिंहलीला संरक्षित क्षेत्रको कार्यालय मात्रै रहेको छ।

भारतपट्टिको सिंहलिला संरक्षित क्षेत्रको जंगलमा घुमफिर गर्न पाइँदैन। तर नेपाली जंगलमा निर्वाध वन्यजन्तु र चराचुरुङ्गीको अध्ययन अवलोकन गर्न पाइन्छ।

नेपाली जंगल हाँगेथाम सामुदायिक वन उपभोक्ता समिति गठन भइ संरक्षणको काम हुँदै आएको छ। सन्दकपुर ५ मा पर्ने वनमा लोपोन्मुख वन्यजन्तु, चराहरूको अध्ययन र अवलोकनका लागि विश्वभरका पर्यटकहरूको दैनिक रुपमा बाक्लो आवतजावत हुन्छ। नेपाल, भारत, भुटान, चीन, म्यानमार, थाइल्याण्डमा मात्रै पाइने रेडपाण्डा यहाँ सहजै पाइन्छ।

रेडपाण्डासँगै चरिबाघ, भुइँ भालु, रूख भालु, चितुवाका प्रजाती, बँदेल, थार लगायत थुप्रै वन्यजन्तु कैयाँकट्टामा बसेर सहज अध्ययन र अवलोकन गर्न सकिन्छ। चराहरूको त असंख्य प्रजातिको अध्ययन गर्न पाइन्छ।

चरा र वन्यजन्तु हेर्नका लागि विश्वभरकै प्रकृतिप्रेमी, विज्ञहरू, अध्ययनकर्मी र पर्यटक आउने गरेको वन्यजन्तु, चराहरूको अध्ययनमा सक्रिय हाव्र्रेनेष्ट होमस्टेका कर्मचारी फुर्वा शेर्पाले बताए।

‘पर्यटकहरू बिहान बेलुकी चराहरूको अध्ययन गर्छन्, दिउँसो रेडपाण्डाको अध्ययन हुन्छ र राती जंगल सफारी गरि पनि अध्ययन गर्नेको संख्या बढ्दो छ।’ उनले भने ‘कैयाकट्टा विश्वभरका पर्यटकहरू नै आउँछन्, त्यसमध्ये अमेरिका, बेलायत, फ्रान्स र जर्मन नागरिकको कैयाकट्टामा बास धेरै हुन्छ।’

लोपउन्मुख वन्यजन्तुहरू धेरै मात्रामा पाइने भएकाले कैयाकट्टा भ्रमण गर्नेहरूको संख्या बढेको हो। हाब्रेनेस्टले प्याकेजकै विकास गरि विश्वभरका पर्यटकहरूलाई वन्यजन्तुको अध्ययन, अवलोकनमा सहजीकरण गरिरहेको छ। यहाँ नेपालमा मात्र पाइन् काँडे भ्याकुर देख्न सकिन्छ।

हाँगेथाम–कैयाकट्टा क्षेत्रमा चरा र वन्यजन्तुको अध्ययनका लागि २०२५ सालबाट पर्यटकहरू आउने गरेको पर्यटन प्रवद्र्धनमा सक्रिय सन्दकपुर–५ जमुनाका पासाङ शेर्पाले जानकारी दिए।

‘चरा र वन्यजन्तु सहजै देख्न सकिने भएकाले पहिला पर्यटकहरू बन्दोबस्तीका सामग्रीसहित आउने गरेका थिए। अहिले पर्यटकहरूको सेवाका लागि होमस्टेहरू संचालन भएकाले स्थानीयको आम्दानीसमेत बढेको छ।

युरोपबाट लाखौँ खर्चिएर आएका पर्यटकहरू रेडपाण्डा र चराहरूको फोटो खिचेर रमाउने गरेका छन्’, शेर्पाले भने, ‘हामीलाई सुरू सुरूमा थाहा थिएन अहिले पर्यटकहरूले चाहेको वन्यजन्तु, चराको फोटो खिचेर रमाउने गरेकाले गाउँमा चरा र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने जागरण नै आएको छ।’

कैयाकट्टामा तीन वर्ष अघिसम्म भारत भएर पर्यटकहरू आउने गरेका थिए। कैयाकट्टाबाट ६ किलोमिटर मुनि रहेको हाँगेथाममा आउने पर्यटकहरू नेपाल भएर पर्यटकहरू पुग्ने गरेको वडाअध्यक्ष यज्ञबहादुर गुरुङले बताए।

अहिले सुविधा थपिएसँगै पर्यटकहरू ३ दिनसम्म बसेर कैयाकट्टा, हाँगेथाम क्षेत्र भ्रमण गरेर फर्किने गरेको उनले बताए। वन्यजन्तु र चराहरूको अध्ययन गर्न आउने टोलीको संख्या पछिल्लो समय बढेको वडासदस्य कुमार गुरुङले बताए।

‘कैयाकट्टा–हाँगेथाम आउने पर्यटकहरू सबैले वन्यजन्तु र चराहरूको सहजै अध्ययन गर्न पाएको अनुभव पर्यटक आफैँलै सामाजिक संजालमा लगाएपछि पर्यटकको चाप झनै बढेको छ’, उनले भने।

पर्यटकीय गाउँपालिका सन्दकपुरको २ हजार मिटर माथिको क्षेत्र जैविक, प्राकृतिक, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थानका कारण संवेदनशील मानिन्छ। जडीबुटी, मौसम अनुसारका फूलहरूसँगै हिमशृंखलाहरूको दृश्यमा पर्यटकहरू रमाउन पाउने भएकाले विश्वभरका पर्यटकहरूको आकर्षण बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए।

सन्दकपुरको उच्च पहाडका वन जंगलमा रमाउने र अध्ययन गर्ने विश्वभरका पर्यटकहरू आउने क्रम धेरै वर्षदेखि भए पनि अहिले संख्या बढेको छ।

‘एक हप्तामा युरोप र भारतका गरी ३ सय बढी पर्यटकहरूले सन्दकपुर भ्रमण गरी फर्किएका छन्’, उनले भने, ‘पर्यटकहरूको संख्या बढेकाले गाउँपालिकाले होटल, होमस्टे, सवारी धनी, चालकहरूमा आतिथ्य सत्कार र पर्यटकको सेवामा खटिने पर्यटक प्रथप्रदर्शकको तालिम आयोजना गर्ने योजना बनाएको छौँ।’

सन्दकपुर गाउँपालिका जैविक विविधता, प्राकृतिक सुन्दरता, लोपोन्मुख वन्यजन्त, चराचुरुङ्गी, सिमसार नदीहरूका मुहान क्षेत्र भएकाले वन संरक्षणको अभियान संचालन हुँदै आएको छ। गाउँपालिकाका लोपोन्मुख जीवजन्तुहरू संरक्षणसम्बन्धी गाउँगाउँमा जनचेतनाका कार्यक्रमहरू हुँदै आएको वन तथा वातावरण समितिका सभापति सनम राईले बताए।

‘प्राकृतिक सुन्दरता, चराहरू र वन्यजन्तुहरू अध्ययन गर्न पर्यटकहरू आउने क्रम बढेकाले हामी वन संरक्षण र वृक्षारोपणमा प्राथमिकता दिएर काम गरिरहेका छौँ’, राईले भने,‘पर्यटकको आवागमन वृद्धिले हामीलाई उत्साहित मात्रै दिएको छैन पालिकाले पर्यटन र कृषिबाट मात्रै गर्ने भनेको लक्ष्य पूरा हुने देखिएको छ।’

कसरी पुग्ने कैयाकट्टा?

कैयाकट्टा २ हजार ८ सय मिटरको उचाइमा रहेको छ। कैयाकट्टा यात्राका लागि इलाम जिल्लाको सदरमुकाम बिब्ल्याँटे बजारबाट उत्तरतर्फ मोडिएर रिब्स गोलाई हुँदै सुम्बेक सानीमाई कृष्णभिर माईखोला जमुना बजार पुग्नुपर्छ।

जमुनाको चन्द्रपाल थेवे ढापपोखरीबाट संघीय सरकारले निर्माण गरेको पदमार्ग यात्रा गर्नुपर्छ।

इलाम बजारबाट ढापपोखरीसम्मको गाडीको यात्रा ३ घण्टाको हुन्छ। ढापपोखरी पुग्ने अर्को बाटो इलाम बजार बिब्ल्याँटे बजारबाट उत्तरतर्फ मोडिएर रिब्स हुँदै सुम्बेक सुलबुङ माईखोला माबु सोमबारे धुवाखोला हुँदै पुग्न सकिन्छ।

ढापपोखरी आसपासमा पर्यटक बास बस्नका लागि ग्रामीण होटल र होमस्टे रहेका छन्। ढापोखरी इलामको सबैभन्दा ठूलो मानव निर्मित पोखरी हो।

१ हजार ७ सय ५ मिटरको उचाइमा रहेको ढापपोखरीबाट पदयात्रा गर्दा साङ्ङ्गे छोलिङ गुम्बा, चमेरे गुफा भ्यु पोइन्ट, दोमाङ छोलिङ गुम्बा हाँगेथाम, हाँगेथाम वन, ढोक्से चौक, नारायण ढुङ्गा, धप्परटार, उदाउने डाँडा, लाइन डाँडा हुँदै कैयाँकट्टा पुगिन्छ। ढापोखरीबाट ४ घण्टाको पदयात्रामा कैयाकट्टा पुगिन्छ।

 हाँगेथामबाट कैयाकट्टासम्म जंगलको बीचमा निर्माण भएको पदमार्गको यात्रा गर्दा आनन्द हुने गरेको छ। पदयात्राका क्रममा पनि चरा, वन्यजन्तु, डाँफे, मुनालहरूको अध्ययन गर्न सकिन्छ।

थरिथरिका चरा र रेडपाण्डाको दृश्यावलोकनले कैयाकट्टाको यात्रा सफल भएको एक साताअघि त्यहाँ पुगेका पत्रकार खेमराज ढकालले बताए। प्राकृतिक सुन्दरतामा रमाउँदै पदयात्रा गर्दाको आनन्द बेग्लै हुने ढकालले बताए।

खर्च कति लाग्छ?

कैयाकट्टा यात्राका लागि काठमाडौंबाट झापासम्म हवाई र सडक यात्राको सुविधा छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५७ मिनेटमा झापाको भद्रपुर विमानस्थल आइपुगिन्छ। भद्रपुरबाट झापाको पूर्व-पश्चिम राजमार्गको चाराआली सडक खण्डमा आइपुग्नुपर्छ।

भद्रपुरबाट चारआली भाडा ५० रुपैयाँ छ। चारआलीबाट इलाम बजारसम्मको ट्याक्सी भाडा ५ सय रहेको छ। इलामबजारबाट ढापपोखरीसम्मको भाडा ४ सय रुपैयाँ लाग्छ। इलाम बजारमा बास बस्नु परे १ हजारदेखि २ हजारमा एक दिन खान र बस्न पाइन्छ।

ढापपोखरीमा क्षेत्रमा बास बस्दा १ दिन १ हजार ५ सय खर्च हुन्छ। त्यहाँबाट ४ घण्टामा पदयात्रामा कैयाकट्टा पुगिन्छ। कैयाकट्टामा बास बस्नका लागि होमस्टेको व्यवस्था छ। होमस्टेमा १ दिनमा ३ हजार खर्च हुन्छ। जंगल सफारीको लागि गाउँपालिकाले न्यून कर लिन्छ।

जंगलमा पर्यटक मात्रै सफारी गर्ने हो भने अन्य खर्च लाग्दैन तर जंगल सफारीका लागि दैनिक १ जनाको १ हजारको दरले खर्च लाग्छ। कैयाकट्टा यात्रामा एक्लैभन्दा पनि समूह बनाएर यात्रा गर्दा राम्रो हुन्छ। चिसो क्षेत्र भएकाले न्यानो कपडाहरू पर्यटकले बोक्नुपर्छ।

केही तस्वीर झलकहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.