|

काठमाडौं : सानोठिमीस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा चारदिन(शुक्रबार)देखि बन्द छ। वैदेशिक अध्ययन अनुमति शाखाले अहिलेसम्म पनि सेवा सुचारु गर्न नसक्दा ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने विद्यार्थीहरू मारमा परेका छन्।

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा सुरु हुने भन्दै सूचना टाँस गरेकाे थियाे। तर, अझै सेवा सुरु भएको छैन।

यता,विद्यार्थीहरूले एनओसी लिन चारदिनदेखि धाउनुपरेको भन्दै हिजो आइतबार दिनभर नाराबाजी गर्दै धर्ना दिएका थिए। आज (सोमबार) पनि विद्यार्थीहरू सहभागी छन्।

सरकार र कर्मचारीहरूको लापारबाहीले यो समस्या निम्तिएको उनीहरूको आरोप छ। तत्काल समस्या समाधान गरी सेवा थाल्नु पर्ने उनीहरूकाे माग छ। बढी भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी एनओसी पाउन नसक्दा मारमा परेका छन्।

वैदेशिक अध्ययन अनुमति शाखा भन्छ : भोलिदेखि सेवा खु्ल्छ

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले भने भोलि(मंगलबार)बाट रोकिएको सेवा सुचारू हुने जनाएको छ। वैदेशिक अध्ययन अनुमति शाखाका कम्ष्युटर अपरेटर सन्तोष यादवले भोलिदेखि सेवा थालिने बताए।

उनले थाहाखबरसँग भने,‘आज प्राविधिक कारणले सेवा सुचारु गर्न सकिएन,अब भोलिदेखि सेवा सुचारु हुन्छ।’ कार्यालयका प्रमुख शान्तिराम पौडेलले  डाटा भरिएर सर्भर डाउन भएको बताए। उनका अनुसार कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराएको छ। ती सबै  ‘डाटा रिकभर’ गर्न समय लागेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.