|

भोजपुर : ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चा पदार्थ अभावका कारण संकटमा परेका छन्। लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका  टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि संकटमा परेका हुन्। 

पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेशा अँगालेका छन्। स्थानीय बुद्धराज शाक्य लगायतले मात्र अहिले धातुका सामग्री माग भए मात्र बनाउने गरेका छन्। टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीय स्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्य बताउँछन्। 

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर स्थानीयवासी तथा कालिगढ समेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताए। ‘धातु उद्योगले कच्चापदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ। राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ’, उनले भने। 

कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाहरुबाट नै पसलमा बिक्रीका लागि धातुका सामग्री आउने गरेका छन्। विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्रीहरु आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताए। ‘जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन’, उनले भने। 

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन्। यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.