|

काठमाडाैँ : कामीडाँडाको नाम सायद धेरैलाई थाहा नहुन सक्छ, तर १० वर्षे जनयुद्धमा होमिएका माओवादीका नेतृत्व र तिनका कार्यकर्तालाई थाहा छ। काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगमा पर्ने कामीडाँडालाई तत्कालीन नेकपा माओवादीले गरेको दश वर्षे सशस्त्र युद्धले देशव्यापी चिनायो। महाभारत जङ्गलको काखैमा रहेको कामीडाँडा सुरक्षित र उचित स्थान भएको भन्दै माओवादीले जनयुद्धमा क्याम्प नै स्थापना गरेको थियो। 

बिहान लाङटाङ, गणेश, अन्नपूर्ण हिमालको मुस्कानलाई नियाल्न सकिने कामीडाँडालाई माओवादी सशस्त्र युद्धले चिनाउन त चिनायो नै तर, कामीडाँडाको अवस्था भने फेरिन सकेको छैन। हालै उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका कृष्णबहादुर महरा सशस्त्र युद्धको अधिक समय कामीडाँडामै बसे। जनयुद्धका महत्वपूर्ण रणनीतिक योजना बुन्न महरा मात्रै होइन, पूर्वअर्थमन्त्री वर्षमान पुन, देव गुरुङ समेत पुगेका थिए त्यहाँ।

उनीहरुले कामीडाँडाबाट सशस्त्र युद्धताका महत्वपूर्ण निर्णय मात्रै लिएनन्, शान्तिप्रक्रियापछिको पहिलो बैठक समेत कामीडाँडामा राखे। चुनवाङ बैठकपछिको पहिलो बैठक पनि थियो त्यो। शान्तिपूर्ण राजनीतिपछि माओवादीको रणनीति र अन्तिम लक्ष्यका बारेमा बैठकमा छलफल भएको थियो। ‘युद्धमार्फत काठमाडौ कब्जा गर्ने सशस्त्र युद्धको मुल एजेण्डा त्यतिबेला स्थापित नभएको बारेमा समीक्षा भयो, संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान जारी गर्ने माओवादीको प्रतिज्ञा थियो’ माओवादी नेता सूर्यमान दोङ भन्छन्।

२०६३ साल असार २ गते प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भए। प्रचण्ड सार्वजनिक भएपछिको पहिलो बैठक पनि हो, त्यो। उक्त बैठकमा प्रचण्डसहित केन्द्रीय नेताहरुको सहभागिता थियो। 

तत्कालीन नेकपा माओवादीले स्थापना गरेको जनमुक्ति सेनाको चितवनमा राख्ने भनिएको तेस्रो डिभिजन क्याम्प काभ्रेको कामीडाँडा र बनेपास्थित महेन्द्रज्योतीमा राख्ने तयारीपछि नै कामीडाँडाको नामको चर्चा सुरु भएको थियो। 

समुन्द्र सतहदेखि २१ सय मिटर उचाईमा रहेको कामीडाँडामा तत्कालीन सशस्त्र युद्धको बेला खनिएका बंकरहरु अहिले कपेरथान मन्दिरबाट सजिलै देख्न सकिन्छ। सशस्त्र युद्ध सफल बनाउन कामीडाँडाको भूमिका उच्च रहेको बताउँछन्, माओवादी नेता।

२०६३ साल भदौको महिना, हिलाम्मे सडक, वर्षाले झन् हिलैहिलो। सशस्त्र युद्धमा अधिक ओहोरदोहोर हुन थालेपछि माओवादीले काभ्रेको खोपासीदेखि कामीडाँडासम्म १८ लाख खर्च गरी सडक बिस्तार गर्‍यो। माओवादी अध्यक्ष तिनै सडक प्रयोग गरी कामीडाँडामा राखिएको बैठकमा सहभागिता जनाउन काठमाडौबाट कामीडाँडातिर हुइँकिए। वर्षायामले हिलाम्मे बनेको सडकमा गाडी फसेपछि प्रचण्ड आफैँ गाडीबाट झरेर ठाउँ–ठाउँमा गाडी ठेले पनि। ‘गाडी फसेपछि अध्यक्षज्यूसँगै हामी मिलेर गाडी ठेल्दै–ठेल्दै कामीडाँडासम्म पुर्‍याएको अहिलेजस्तै लाग्छ।’, माओवादी केन्द्रका नेता सूर्यमान दोङ भन्छन्।

प्रचण्डले गाडी ठेल्दै कामीडाँडासम्म पुगेको त्यो सडकको हविगत अहिले पनि उस्तै छ। फरक यति भो, त्यतिबेला च्याल्टीस्थित लड्कुखोलामा पुल थिएन, अहिले पुल बन्यो।

त्यतिबेला प्रचण्डलाई नजिकबाट नियाल्ने र विकासका सपना सुन्ने सबैको चासो थियो। बैठकमा सहभागी भएका प्रचण्डलाई हेर्न सयौँ कार्यकर्ता र जनता उपस्थित थिए। कामीडाँडा पुगेर प्रचण्डले, सशस्त्र युद्धको एक उद्गमविन्दु कामीडाँडालाई विश्वकै नमुना क्षेत्र बनाउने सपना सुनाएको अहिलेजस्तै लाग्छ स्थानीयलाई। ‘प्रचण्डले ०६३ सालमा कामीडाँडालाई मुलुककै चर्चित ठाउँ बनाउने उद्घोष गरेपछि हामीमा खुशी छायो, त्यसपछि ०६५ सालमा उनी प्रधानमन्त्री बने, हामी त्यतिबेला प्रचण्डले कामीडाँडाका लागि केही गर्ने अपेक्षा गर्यौ, तर प्रचण्ड अहिलेसम्म फर्केर आएका छैनन्’, स्थानीय रहर लामाले भने। 

राजनीतिक बिस्तारक्रमसँगै प्रचण्ड जनताबाट टाढिए पनि। विशेषगरी पहिलो संविधानसभाको निर्वाचनबाट माओवादी पहिलो दल बनेपछि माओवादीले जनतासँग सम्बन्ध सुधार्नुका सट्टा बढार्दै गयो। त्यसको फलस्वरुप दोस्रो संविधानसभाको निर्वाचनपश्चान माओवादी तेस्रो दल बन्यो।

०६३ सालपछि कामीडाँडा नपुगेका प्रचण्डलाई यहाँका बासिन्दाले प्रतिक्षा गरेको एक दशक बितेको छ। कामीडाँडालाई विश्वकै नमुना क्षेत्र बनाउने प्रचण्डको सपना पूरा भएको हेर्न चाहन्छन् यहाँका जनता।

स्थानीय क्षेत्रका माओवादी नेता मर्दन सिंह तामाङ भन्छन्, ‘अध्यक्षज्यूले भन्नुभएको सपना पूरा हुने दिनको व्यग्र प्रतिक्षामा छन्, यहाँका जनता।’ प्रचण्डले त्यहाँ पुगेर पार्टीको कार्यदिशालाई अघि सार्दै गर्दा कामीडाँडाको योगदानलाई भुल्न नहुने उनको भनाई छ।

प्रचण्ड अहिले देशको कार्यकारी पदमा पुगेका बेला फेरि यहाँका जनताले विकासका अपेक्षा गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई ०६३ सालको कामीडाँडा र अहिलेको कामीडाँडाको अवस्थालाई अवलोकन गर्नकै लागि भए पनि कामीडाँडा ल्याउन पहल गर्नुपर्ने स्थानीयको माग छ। प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा त्यहाँ एसिया महादेशस्तरीय पुस्तकालय स्थापना गर्ने योजना बन्यो। तर, ती योजना योजनामा नै सीमित भए।

दोस्रोपटक प्रचण्डले बागडोर सम्हाल्दै गर्दा १० वर्षे सशस्त्र युद्धलाई सफलताको बिन्दुमा पुर्‍याउन टेवा पुर्‍याउने कामीडाँडाले उनको प्रतिक्षा गरेको गरिरहेको छ। प्रधानमन्त्री प्रचण्डलाई कामीडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रस्ताव गर्ने र कार्यान्वयनको दिशामा लैजाने योजनामा छन्, स्थानीयवासीहरु। 

प्रधानमन्त्री प्रचण्डसमक्ष कामीडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउनुका साथै सशस्त्र युद्धका संगम बिन्दुका रुपमा परिचित गराउने प्रस्ताव लैजाने माओवादी केन्द्र काभ्रेको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.