|

काठमाडौँ : पछिल्लो समय नेपालमा बाँझोपन (निःसन्तान) को समस्या बढ्दो छ। केही वर्ष अघिसम्म नेपालमा ८-१० प्रतिशतमा बाँझोपन देखिएकोमा हाल १३-१५ प्रतिशत विवाहित जोडीमा बाँझोपन रहेको चिकित्सकहरू बताउँछन्।

बाझोपनका समस्या बढ्दै जाँदा पछिल्लो समय नेपालमा इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी सेवामार्फत बच्चा जन्माउने संख्या पनि बढ्दो छ।

वर्षेनि कति बच्चा नेपालमा आइभिएफ प्रविधिको सहयोगमा जन्मन्छन् भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि पछिल्ला वर्षमा काठमाडौं लगायतका ठूला शहरमा तीव्ररूपमा खुल्दै गएका आइभिएफ सेन्टरको संख्या हेर्दा यो प्रविधिमार्फत सन्तान जन्माउने अभिभावकको संख्या बढ्दो छ भन्ने बुझिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति लिएर सञ्चालन हुने आइभिएफ सेन्टर एकदमै न्यून छन्। मन्त्रालयको विवरणअनुसार अनुमतिको प्रक्रियामा रहेका ४० वटा आइभिएफ सेन्टरले सेवा दिइरहेका छन्। मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘पछिल्लो समय खुलेका आइभिएफ सेन्टरले सरकारी नियम पालना गरी अनुमति लिएर सञ्चालन हुने निकै कम छन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौवटा आइभिएफ सेन्टरले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन्।

हाल देशका विभिन्न शहरमा ५० भन्दा बढी आइभिएफ सेन्टर सञ्चालनमा रहेको मन्त्रालयको अनुमान छ।

सेवाभन्दा पनि व्यापारिक शैलीमा खुल्न थाले आइभिएफ सेन्टरहरू

प्राकृतिक रूपमा सन्तान जन्माउन नसक्ने दम्पतीहरूका लागि आइभिएफ प्रविधि वरदान मानिन्छ।

नेपालमा आइभिएफ अर्थात् टेस्टट्युब बेबी सेवा सञ्चालन भएको झन्डै २० वर्ष भइसकेको छ। पहिलोपटक वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको निगरानीमा ओम अस्पतालमा आइभिएफ प्रविधिको सहयोगमा पहिलोपटक बच्चा जन्माउने सेवाको सुरुवात भएको थियो। २० वर्षको अवधिमा यो सेवामार्फत झण्डै १२ हजार बालबालिका नेपालमा जन्मिसकेको उनले बताए।

नि:सन्तान दम्पतीका लागि यो प्रविधि वरदान जस्तै भए पनि पछिल्लो समय व्यापारमुखी बन्दै गएको डा. रिजालको भनाइ छ। डा. रिजालले भने‚ ‘यो सेवा विस्तार हुँदा खुसी लाग्छ तर सेवाभन्दा पनि व्यापारिक तरिकाले यो प्रविधि विस्तार हुँदा विकृति फैलियो कि भन्ने जस्तो पनि लाग्छ। यसका लागि राज्यले समयमै ध्यान दिनु आवश्यक छ।’

यो सेवा ग्रामीण भेगका निःसन्तान दम्पतीको पहुँचमा नपुगेको हुँदा त्यसको लागि राज्यले सहजीकरण गर्नुपर्ने डा. रिजालले बताए। कुनै पनि दम्पतीले एक वर्षसम्म नियमित शारीरिक सम्पर्क गर्दा पनि बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ।

करियर तथा विविध कारणले पछिल्लो समय विवाह गर्ने उमेर ढिलो हुँदै जाँदा यसको प्रत्यक्ष असर प्रजनन क्षमतामा देखिदा बाँझोपनको समस्या बढ्दै गएका वेला आइभिएफ प्रविधिको महत्त्व बढे पनि पछिल्लो समय यसलाई व्यापारिक रूपमा हेर्दा समस्या सिर्जना हुन थालेको बताउँछन् नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी।

‘पहिला पहिला आइभिएफ सेवा लिन धेरै नेपाली दम्पती भारत जान्थे। पछिल्लो समय नेपालमै यो सेवा विस्तार हुँदै गएको छ। यो राम्रो पक्ष हो तर धेरै आइभिएफ सेन्टरहरूले ७० प्रतिशतभन्दा माथि सफल हुने भन्दै प्रचार गरिरहेका छन्। नेपालमा आइभिएफको सफलतादर ३० देखि ४० प्रतिशत मात्रै छ’‚ डा. सुवेदीले भने‚ ‘अर्कोतर्फ यसको शुल्क पनि सेन्टरपिच्छे फरक छ। यो सेवा विस्तारै व्यापारको शैलीमा बदलिएको जस्तो देखिन्छ।’  

अदक्ष जनशक्तिले आइभिएफ सेवा दिएमा त्यसको गुणस्तरीयतामा प्रश्न उठ्ने र सफलतादर पनि न्यून हुने भएकाले आइभिएफ सेवा दिने संस्थाको नियमन जरुरी रहेको डा. सुवेदीको भनाइ छ।

डा. सुवेदीका अनुसार सबैभन्दा पहिले बुझ्नैपर्ने मुख्य कुरा भनेको नि:सन्तान दम्पतीमध्ये करिब ३ देखि ४ प्रतिशतलाई मात्रै आइभिएफ सेवा चाहिन्छ।

‘निःसन्तानको समस्या भोगिरहनु भएका दम्पतीले विशेषज्ञ चिकित्सकलाई देखाएर अन्य उपाय अपनाएर पनि सन्तान जन्माउन सकिन्छ। यो विषयमा बिरामीले बुझ्न आवश्यक छ’‚ डा. सुवेदीले भने।

हाल निजीस्तरबाट खुलेका आइभिएफ सेन्टरहरूले निजी अस्पतालमा ६ लाखसम्म शुल्क लिँदै आएका छन्।

सरकारीमा थापाथली प्रसूतिगृहमा मात्रै छ आइभिएफ सेवा

सरकारले संघीय अस्पतालमा आइभिएफ सेवा सञ्चालन गर्ने घोषणा गरे पनि हाल यो सेवा सरकारीतर्फ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मात्रै रहेको छ। प्रसूतिगृहमा वि.सं. २०६८ सालदेखि आइभिएफ सेवा सञ्चालनमा थियो।

२०७२ सालसम्म चार वर्ष सञ्चालन भएपछि बन्द भएको थियो। पछिल्लो २०७९ सालदेखि निरन्तर यो सेवा सञ्चालनमा रहेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए। उनका अनुसार पछिल्लो समय प्रसूतिगृहमा आइभिएफ सेवा लिने विरामीको चाप बढ्दो छ। निर्देशक डा. अधिकारीले भने‚ ‘हामीले २०७९ सालदेखि पुनः यो सेवा निरन्तर सञ्चालन गरेका छौँ। पछिल्लो समयमा हाम्रोमा सेवा लिन आउने संख्या बढेको छ।’

डा. अधिकारीका अनुसार दैनिक ६० देखि ७० निःसन्तान दम्पती अस्पतालमा बाँझोपनको उपचारका लागि आइपुग्ने गर्छन्। हाल चिकित्सक तथा नर्ससहित ८ जनाको टिमद्वारा प्रसूतिगृहको आइभिएफ सेन्टर सञ्चालित छ।

प्रसूति अस्पतालमा आइभिएफ सेवा लिँदा लगभग दुई लाख रुपैयाँसम्म खर्च लाग्ने समेत डा. अधिकारीले बताए। ‘आइभिएफ सेवाका लागि अलि बढी शुल्क लाग्ने भनेको औषधिका लागि हो। त्यो सबै गरेर हामीले २ लाखमात्रै शुल्क लिने गरेका छौँ। हाम्रोमा सफलतादर पनि ३० प्रतिशत जति छ’‚ डा. अधिकारीले भने।

यस्तै प्रसूतिगृहले आइभिएफ सेवा मात्रै नभएर विदेश जाने वा अरू नै कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको अण्डा समेत फ्रिज गरेर राख्ने सुविधा रहेको बताए। ‘आइभिएफ सेवा मात्रै होइन विदेश जाने वा अन्य केही कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको अण्ड फ्रिज गरेर राख्ने सुविधा विस्तार गरेका छौँ‚ पछिल्लो समय वैदेशिक रोजगारीमा जाने पुरुष तथा महिलाहरूमा निःसन्तानपनको समस्या बढ्दो छ। यसले गर्दा यसरी आफ्नो अण्डा र शुक्रकीट सुरक्षित राख्न सकियो भने भविष्यमा निःसन्तानको समस्या भोग्नुपर्दैन’‚ डा. अधिकारीले भने।

 के हो आइभिएफ प्रविधि (टेस्ट्युब)?

यदि प्राकृतिक रूपमै महिलाको पेटमा गर्भ नरहेको खण्डमा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निकालेर प्रयोगशालामा राखी भ्रूण विकास भएपछि गर्भाधान गराएर महिलाको पाठेघरमा राखिन्छ।

प्रायजसो यस्तो प्रविधिबाट पाठेघरको नलीमा समस्या भएर बच्चा जन्माउन नसकेका महिलाहरू र शुक्रकीट बन्न नसकेका पुरुषहरूको डिम्ब र शुक्रकीट संकलन गरी सिसाको ट्युबमा राखेर भ्रूण तयार पार्ने प्रक्रिया शुरु गरिन्छ।

४८ घण्टामा यो प्रक्रिया पूरा हुन्छ। महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई बाहिर ट्युबमा राखेर गराइने प्रक्रिया हो।

यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रूणलाई सिरिन्जको माध्यमबाट महिलाको पाठेघरको भित्तामा लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रूण विकसित भई बच्चा बन्ने प्रक्रिया सुरु हुन्छ र प्राकृतिक रूपमा गर्भवती भएका महिलाले जस्तै ९ महिना पुगेपछि बच्चाको जन्म हुन्छ। त्यसैले यसरी जन्मने बच्चालाई टेस्टट्युब बेबी भन्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.