विज्ञ भन्छन्– जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आयो

|

काठमाडौं : कोभिड-१९ को ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट 'जेएन.१' देखिएपछि सरकारले यसअघि कोभिड महामारीको समयमा लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय गराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तत्काल जनस्वास्थ्यका मापदण्ड कडाइको साथ पालना गर्न र संक्रमणबाट बच्न सबैलाई आग्रह गरेको र संक्रमणको फैलावटको अवस्था हेरेर थप निर्णय गर्ने समेत बताए। ‘ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट 'जेएन.१' हाम्रोमा पुष्टि भइसकेको छ त्यसैले यसअघि हामीले कोभिड नियन्त्रणका लागि लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय बाउने निर्णय गरेका छौँ’, उनले भने, ‘भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न, र साबुनपानीले हात धुन आग्रह गरेका छौँ। संक्रमण बढ्दै गए अन्य निर्णय पनि गर्ने तयारी छ।’

कतै नगएका काठमाडौंका बासिन्दालाई संक्रमण

पछिल्लो समय भारतका सब-भेरियन्ट 'जेएन.वान तीव्ररूपमा फैलिरहेको अवस्थामा सीमा नाकाबाट नेपाल भित्रिनेहरूमा संक्रमणको जोखिम उच्च रहेर सतर्कता अपनाइए पनि कहीँ नगएका काठमाडौंमै बसेकामै 'जेएन.१ सब-भेरियन्ट भेटिए पछि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्नु पर्ने अवस्था आएको हो।

गत आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशका विभिन्न भागका विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो। परीक्षणमा सात नमुनामा ओमिक्रोनको सब-भेरियन्ट 'जेएन.१' पुष्टि भएको थियो।

डा. बुढाथोकीका अनुसार यसरी सात जनामा पुष्टि भएको  'जेएन.१ सबभेरियन्ट संक्रमित हालै भारत वा तेस्रो मुलुकबाट नआएको देखिएको छ। यसकारण भित्रभित्रै संक्रमणको जोखिम बढ्दै भएको हो कि भन्ने देखिँदा जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ अपनाउनु पर्ने अवस्था आएको हो। ‘हिजो मात्रै हाम्रोमा पहिलो पटक भेटिएको सब-भेरिअन्टको सङ्क्रमण पुष्टि भएका  सात संक्रमित भारतीय नाकाबाट भित्रिएका होइनन्’, उनले भने, ‘सातमध्ये काठमाडौंका बढी छन्। केही पोखरा, चितवन, भक्तपुरको। प्रारम्भिक जानकारीमा उनीहरू भर्खरै भारत लगायतको तेस्रो मुलुकबाट आएको  ‘ट्राभल हिस्ट्री’ भेटिएको छैन तर हामी विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे बुझ्दै छौँ।’

सङ्क्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको र सबै सुरक्षित आइसोलेसनमा बसेको समेत उनले बताए।

अस्पताल पुग्न थाले संक्रमित

यति मात्रै होइन पछिल्ला दिनमा कोभिडका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर दुई हप्ताअघिसम्म शून्य रहेकोमा अहिले विस्तारै कोभिडका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार हाल अस्पतालको आईसीयूमा तीन संक्रमितको उपचार भइरहेको बताए। उनले भने ‘ दुई हप्ता अघिसम्म हाम्रोमा कोभिडको बिरामी शून्य थियो। बिस्तारै संक्रमित उपचारका लागि आउन थालेका छन्। अहिले हाम्रोमा तीन संक्रमित आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्’,उनले भने।

यस्तै अहिले अस्पतालको ओपीडीदेखि आकस्मिक कक्षमा कोभिड संक्रमण भएका बिरामी बिस्तारै उपचारमा आउने संख्या बढ्दै गएको अस्पतालका सरुवारोग विशेषज्ञ पुनले बताए। ‘ केही दिनयता रुघाखोकीसहितका लक्षण लिएर उपचारमा आउने र परिक्षण गर्दा कोभिड संक्रमण पोजेटिभ देखिने बिरामीहरु बढ्न थाल्नु भएको  छ’डा पुनले भने।

नयाँ सब-भेरियन्ट हाम्रोमा पुष्टि भइसकेको र बिरामी अस्पताल आउने दर पनि बढ्दै गएको अवस्थामा थप सतर्कता अपनाउनु पर्ने समेत डा. पुनले बताए। संक्रमण  बढ्दै जादा दीर्घरोगी र  वृद्धवृद्धालाई धेरै असर पर्नसक्ने भएकाले निगरानी बढाउनुपर्ने समेत उनले बताए।

संक्रमण बढेपछि सबै खोप प्रदेशमा पठाइयो

पुन कोरोना संक्रमणको जोखिम बढेपछि यतिखेर स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा कोभिड विरुद्धको खोप पठाएको छ। विभाग अन्तर्गतको आपूर्ति व्यवस्था शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीले विभागको केन्द्रीय भण्डार कक्षमा रहेको ७ लाख कोभिडविरुद्धको फाइजर खोप सातै प्रदेशमा पठाइसकेको बताइन। ‘हामीसँग कोभिडविरुद्धको सात लाख फाइजर खोप थियो। प्रदेशबाट माग भएपछि हामीले लगभग सबै पठायौँ’, उनले भनिन्, ‘अहिले हामीसँग जम्मा २ हजार डोज मात्रै खोप छ’।

कतिको संक्रामक छ नयाँ भेरियन्ट जेएन. १?

यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको विवरण आएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि हाल विश्वभर पुन: कोभिडको संक्रमण बढ्दै गएको र यसको प्रमुख कारण नयाँ सब भेरियन्ट जेएन–वान हो। यसको संक्रमणको गति तीव्र छ। यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरूप हो।

सामान्यतया ओमिक्रोन भेरियन्टको लक्षण ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने लक्षण भए पनि जेएन–वान भेरियन्टको लक्षण भने केही फरक रहेको पाइएको छ। यसले ज्वरो, थकान र शरीरको दुखाइका साथै मध्यम ग्यास्ट्रोइटेस्टाइनलका लक्षण निम्त्याउन सक्छ। जस्तै, ढिलो दिसा वा हल्का पेट दुखाइ।  निद्रामा समस्या हुन्छ।

यस्तै नाकबाट पानी बग्ने, खोकी लाग्ने, टाउको दुख्ने र कमजोरी हुने जस्ता सामान्य लक्षणका अतिरिक्त केहीलाई सुत्न गाह्रो हुने तथा  तनाव अनुभव गर्ने जस्ता लक्षण पनि यस भेरियन्टमा देखा पर्ने जनाइएको छ। यो भेरियन्टले अत्यधिक तनाव र चिन्ताले अनिद्रा निम्त्याउन सक्छ। यसले निदाउन वा सुत्न गाह्रो बनाउने नयाँ लक्षण देखिएको जनाइएको छ।

यसअघि कम घातक मानिएको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट भएको हुँदा कम घातक हुने अनुमान गरिए पनि वृद्धवृद्धा र दीर्घरोगीलाई घातक हुन सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने सरुवारोग विशेषज्ञ डा. पुनले बताए। ‘अहिलेसम्म हेर्दा कम घातक मानिए पनि यो निकै संक्रामक रहेको देखिएको छ। लक्षण पनि अलि परिवर्तित जस्तो देखिन्छ जसले गर्दा वृद्धवृद्धा र दीर्घरोगीलाई घातक हुन  सक्छ’, उनले भने, 'सामान्यतया चिसो मौसममा भाइरस बढी सक्रिय हुन्छन्। अब फेरि संक्रमण देखिँदा हामीले पुन: जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.