|

काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आदिवासी जनजातिको सभ्यताका कथा राज्यले ओझेलमा पार्न नहुने बताएकी छिन्। शुक्रबार आदिवासी जनजाति चलचित्र महासंघको १५ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेकी रानाले चलचित्रको माध्यमबाट आदिवासीका सभ्यतालाई संसारभर चिनाउन आवश्यक रहेको बताएकी हुन्।

संविधानले दिएको हकअधिकार प्रयोग गरेर पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा लिनुपर्ने समेत उनले बताइन्। ‘हाम्रा सभ्यता लोप हुँदै गएका छन्। यी सभ्यतालाई चलचित्रको माध्यमबाट संरक्षण गर्ने र समाजमा ल्याउन आवश्यक छ। म पनि पहिला निगुरो बेचेर स्कुल पढेकी हुँ। आदिवासीका यस्ता थुप्रै कथा छन्। त्यसलाई राज्यले पनि प्राथमिकता दिनुपर्छ’, उनले भनिन्।

उनले उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी नआएपछि आपत्ति पनि जनाइन्। उनले भनिन्, ‘यति ठूलो जातिगत संस्थाको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्षलाई ल्याउनुपर्‍याे,उहाँ पनि आउनुपर्‍याे। उहाँले यो कार्यक्रम इन्कार गर्नु अन्याय हो‚ कथा र मुद्दाहरूलाई ओझेलमा पार्नु हो’, उनले भनिन्। चलचित्र विकास बोर्डका अध्यक्षलाई निमन्त्रण गरे पनि उनी भने कार्यक्रममा आएका थिएनन्। उनले वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा जस्ता धेरै पुस्ता जन्माउन आवश्यक रहेको बताइन। 

‘१० वर्षे योजना पूरा गर्नमा महासंघ प्रतिबद्ध छ’ 

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले १० वर्षे योजना बनाएको र त्यसैअनुसार महासंघले अहिले काम गर्दै आएको बताए। उनले कार्यक्रममा भने, ‘२०६५ सालमा यो महासंघ स्थापना भएको हो। यो अवधिसम्म आइपुग्दा थुप्रै काम भए‚ हकअधिकारका निम्ति लडेको छ, थुप्रै योजना छन्,कतिपय सकिए त कतिपय बाँकी छन्।’

उनका अनुसार अहिले महासंघको आफ्नै भवन बनाउन जग्गा खरिदका लागि आर्थिक स्रोत जुटाउन महासंघ लागिपरेको छ। ‘हामीले ७ दिने चलचित्र लेखन प्रशिक्षण पनि चलायौँ, अब आदिवासी चलचित्रको लागि पाठ्यक्रम निर्माण गर्ने तयारीमा छौँ’, उनले भने।

राज्यले आदिवासीका प्राचीन कथा  मेट्न लागिपरेको उनले बताए। ‘जारी हुन लागेको नयाँ चलचित्र नीतिमा आदिवासीका कुरा र माग ड्राफ्ट बन्दा मेटिँदै आएको, अहिले आदिवासीको अ मात्रै बाँकी छ, हाम्रो योगदानका कुरै गरिएन, आदिवासीका कुरै सुन्न चाहेको छैन। हामी यो मान्न तयार छैनौँ’, उनले भने। उनले विभिन्न विधाका चलचित्र पुरस्कारसमेत कटौती भएको भन्दै माग पूरा नभए मातृभाषीका चलचित्र सहभागी नगराइने उनको चेतावनी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.