|

काठमाडौं: आइतबार मध्यान्नतिर ठमेलको चिबहालस्थित लिलिजा कलेक्सनमा पुग्दा सुमन श्रेष्ठ आगोले जलेका सामान बाहिर निकाल्दै थिए। बिहान पसल खोलेर उपल्लो तलामा उक्लेका सुमनको हस्तकला पसल आगोले ध्वस्त बनाएको थियो।

बिजुलीको सर्किटमा खराबी भएर सल्किएको आगो निभाउन उनले प्रयास नगरेका होइनन् तर तर आगो यति फैलिइसकेको थियो कि पाँच तले घरका सबै तलामा आगो सल्किइसकेको थियो। बेलैमा दमकल आएपछि करिब एक घण्टामा आगो नियन्त्रणमा आयो।

घरमा आगो लागेको देखेर बाटो हिँडिरहेका कोही सरकारी कर्मचारीले दमकललाई खबर गरिदिएपछि १० मिनेटमै दमकल आएपछि आसपासका घरमा आगो सल्किन पाएन।

सुमन कवि दुर्गालाल श्रेष्ठका छोरा हुन्। कवि श्रेष्ठका छोरा सुमन र सुरज घरको तल्लो तलामा कपडा व्यवसाय गर्थे।

आगोले नष्ट बनाएका कपडा बाहिर निकाल्दै गरेका सुमनलाई पसलका सामान जलेको भन्दा पनि बुबाको बुबाको संग्रहालय नष्ट भएकोमा चिन्ता थियो।

‘पसलको सामान जल्यो भन्दा पनि बुबाको संग्रहालय जलेकोमा दुःखी छु। बुबाले जीवनभर पाएको सम्मान, चित्रकला, मूर्तिकलाका सबै सामान जले। अरु त पछि पनि बनाउँला तर बुबाको इतिहास नै सकियो’, कवि श्रेष्ठका जेठा छोरा सुमनले भने।

दुई दशकदेखि सञ्चालित हस्तकलाका सामानको पसलको बिमा पनि नभएको कान्छा छोरा सुरजले बताए। ‘के थाहा यस्तो हुन्छ, भनेर?', उनले प्रश्न गरे, 'बिमा पनि गरिएन। अब के गर्ने सोच्नै सकिरहेका छैनौं’, सुरजले भने।

आगो लाग्नासाथ पड्किने डरले ग्यास सिलिण्डर सबैभन्दा पहिला अर्को घरमा लगेर राखेर सुरजले आमाबुबालाई पनि निकालेर आगो निभाउन थालेका रहेछन्। ‘बाँच्छु भन्ने नै लागेको थिएन’, उनले भने, ‘पाँचवटै तल्लामा आगो लागेको छ, सबै सकियो, धन्न ज्यान त जोगियो।’

आगो निभाउने क्रममा उनीहरुका भतिज सलिल श्रेष्ठ घाइते भएको उनले बताए। उनको अनुहार र हातमा आगोले पोलेको सुमनले बताए। आइतबार बिहान भएको आगलागीमा दुई करोडभन्दा बढीको धनमाल नष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.