कुनै मन्दिर बन्दै, कुनै प्रक्रियामै

|

काठमाडौँ : आज विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र यसको सम्भावित जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना बढाउन यो दिवस मनाउन लागिएको जनाएको छ। 

प्राधिकरणका अनुसार आज (मंगलबार) ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ। उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा कार्यक्रम आयोजना हुनेछ।

चन्द्रागिरि नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहभागी हुने उक्त कार्यक्रममा भूकम्पबाट सुरक्षित रहने र कसरी संरचना बलियो,सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी पनि गरिनेछ। तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८  संरचना भत्किएको थियो। 

यसैगरी विसं २०७२ वैशाख १२ गते पनि ठूलो भूकम्प गयो। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा ८ हजार ९७९ जनाको मृत्यु भएको थियो। २२ हजार ३०९ जना घाइते भएका थिए। 

त्यही भूकम्पले ऐतिहासिक सम्पदामा समेत क्षति गर्‍याे। पुरातत्त्व विभागका अनुसार देशभर भूकम्पले ९२० ऐतिहासिक एवं सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। भूकम्प गएको  ८ वर्ष बितिसक्दा पनि अझै ती ढलेका सम्पदा पुनर्निर्माण हुन सकेका छैनन्।

पुरातत्त्व विभागले हालसम्म ७७० वटामात्रै सम्पदाको पुनर्निर्माण सकिएको जनाएको छ। ‘९२० वटा सम्पदामा भूकम्पले क्षति पुगेको थियो, तीमध्ये ७७० वटाको पुनर्निर्माण भइसक्यो,अब १५० वटाको निर्माण गर्न बाँकी छ’, पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने। 

कुनै मन्दिर बन्दै, कुनै प्रक्रियामै

भूकम्पले पशुपति क्षेत्रको विश्वरूप मन्दिर पनि ध्वस्त बनायो त बन्ने वेला विवादले गर्दा समयमा निर्माण अघि बढ्न सकेन। २०७८ मा निर्माण गर्न टेन्डर आह्वान भएको थियो तर टेन्डर प्रक्रिया अपारदर्शी भएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिटसमेत परेपछि काम अघि बढ्न सकेन।

विवाद सल्टिएपछि अहिले भने पुनर्निर्माण थालिएको छ। २०७२ वैशाख १२ मा गएको भूकम्पबाटै अर्को ऐतिहासिक सम्पदा धरहरा पनि ढल्यो‚ सरकारको आलटालका कारण समयमै पुनर्निर्माण सुरू हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि अर्थात् २०७५ पुस १२ गतेमात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि शिलान्यास गरेका थिए।

निर्माण थालेको पाँच वर्ष भइसक्दा पनि अझै यसको काम सकिएको छैन। बरु उनै ओलीले धरहरा नबन्दै हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरे। धरहरा निर्माणका लागि जिआइइटिसी–रमन जेभीसँग तीन अर्ब आठ करोड रुपैयाँको सम्झौता भएको छ।

निर्माण कम्पनी रमन जेभीका अनुसार आगामी चैतसम्म निर्माणको काम सकेर वैशाखदेखि धरहरामा सर्वसाधारणलाई चढ्न दिने लक्ष्य छ तर अझै काम भने १० प्रतिशत बाँकी छ। भौतिक प्रगति विवरण ९० प्रतिशत र वित्तीयमा ७९ प्रतिशत सम्पन्न भएको छ।

यी सम्पदा मात्रै होइन अन्य भूकम्पबाट बनेका सम्पदाको पुनर्निर्माण थालिए पनि काम सुस्त छ। अरू बनाउने प्रक्रियामै रहेको पुरातत्त्व विभागले जनाएको छ।

काठमाडौंको पुरातात्त्विक मन्दिर काष्ठमण्डप पनि बल्ल बन्यो। २०७८ मंसिरमै  काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गर्‍याे। 

त्यस वेला समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा करिब ११ करोड ३९ लाख खर्च भएको जानकारी पनि दिए।

उनले भनेका थिए,‘काष्ठमण्डप सातौँ शताब्दीको काष्ठमण्डप हामीले हाम्रै श्रम, पुँजी र प्रविधिले बनाउन सक्छौँ भन्ने ज्वलन्त उदाहरण हो, हामीले काठबाहेक ढुङ्गा,इँटा, माटो,तामा लगायतका सामग्री प्रयोग गरी बनायौँ।’

यसविरुद्ध पनि सर्वोच्चमा मुद्दा पर्‍यो। स्थानीयहरूले अहिले पनि काष्ठमण्डपको थाम,बिम हल्लिएको बताएका छन्। त्यसो त हालसम्म पनि उक्त काष्ठमण्डपमा सर्वसाधारणका लागि खुला गरिएको छैन।

५३ भवन र चारवटा सडक भूकम्पीय जोखिममा

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ भवन र चारवटा सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको बताएका छन्। भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले उक्त जानकारी दिए।

उनका अनुसार प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र चार सडक भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र तिनको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखिएको छ।

त्यसैले विपद्पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने पनि बताए। कुनै एक तहको सरकारको असहयोग हुँदा पनि विपद् पूर्व तयारीका लागि काम गर्न नसकिने उनको भनाइ छ। 

बाँकी पुनर्निर्माण गर्न ४ अर्ब खर्च आवश्यक, कहिले बन्ला ?

पुरातत्त्व विभागका प्रवक्ता कुँवरले बाँकी सम्पदा निर्माणमा करिब ४ अर्ब रकम आवश्यक हुने जानकारी दिए। उक्त रकम सरकारले जुटाउनुपर्ने आवश्यक छ।उनका अनुसार पछि थप २१५ वटा गुम्बा पनि निर्माण गर्नुपर्ने जिम्मा थपिएको छ।

उनले यी सबै पुनर्निर्माणको काम २०८२ सालसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए। यी सम्पदाको पुनर्निर्माणमा प्रक्रियागत ढंगबाट जानुपर्ने हुँदा ढिलाइ भएको उनको तर्क छ।

उनका अनुसार बढी दुर्गम क्षेत्रका सम्पदा पुनर्निर्माण गर्नमा समस्या छ। ‘बढी चाहिँ निर्माण सामग्रीकै समस्या छ,झनै दुर्गम क्षेत्रमा जुटाउनै धौ धौ पर्छ’, उनले भने। उनले काष्ठमण्डपको विषयमा भने सर्वसाधारणका लागि छिटै खुलाउने गरी गृहकार्य भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.