|

इलाम : इलामको माईभ्याली गोल्डकप आयोजना हुँदा घरको छतमा बसेर हेरेको टिकटको पनि रकम तिर्दै आएका छन्। टुँडिखेलमा हुने माईभ्यालीलाई इलामेलीहरू दोस्रो दशैँ भन्छन्। प्रतियोगिताका वेला इलामबजार सुनसान हुन्छ। इलाममा जुन उत्साहका साथ फुटबल प्रतियोगिता हुन्छ त्यो कुनै उत्सवभन्दा कम हुँदैन। फुटबललाई इलामको सांस्कृतिक खेलभन्दा फरक पर्दैन।

यो इलामेलीहरूको फुटबलप्रतिको सम्मान हो। २०७६ यता माईभ्याली गोल्डकप आयोजना हुन सकेन। कोभिडपछि थलिएको माईभ्याली त्यसपछि उठ्न सकेन। २०७५ को संस्करणको फाइनल खेलमा अफ्रिकन टोली दाफिन्सविरुद्ध हिमालयन शेर्पाको खेलमा मात्रै १४ लाख ५० हजार रुपैयाँको टिकट विक्री भएको पूर्व पत्रकार उमेश गुरुङ सम्झन्छन्।

इलाममा हुने फुटबल प्रतियोगितामा सहभागिताका लागि एन्फाका पदाधिकारीबीच होडबाजी हुने गरेको थियो। इलामेली दर्शकको फुटबलप्रतिको क्रेजबाट एन्फाका पदाधिकारी लोभिने गरेका छन्। सामान्यतया फुटबल प्रतियोगितामा एन्फाबाट १ जनाको प्रतिनिधित्व हुने गर्छ तर इलामको फुटबलमा भने ५,७ जना छुट्दैनन्।

‘इलामको फुटबल भन्नेबित्तिकै घरको छतमा बसेर टिकट काटेर हेर्ने दर्शक सम्झन्छौँ। यस्ता दर्शक इलाम बाहेक अन्त कतै छैनन्’, एन्फाका महासचिव किरण राई भन्छन्, ‘पहाडी क्षेत्रमा हामीले इलाममा खेल्न आउँदा मैदान बाहिर गएको बल लिएर आउन सम्भव थिएन तर इलामेलीको फुटबलप्रतिको मायाले धेरै राष्ट्रिय खेलाडी जन्मिए। विगतमा माईभ्याली र हाल हुन लागेको इलाम गोल्डकप आयोजक रेडहर्स जस्ता क्लबहरूले इलामको फुटबललाई देशैभर चिनाए।’

राईले इलामेलीहरूको फुटबलप्रतिको लगावले नै इलाम फुटबलको हब बन्न सकेको बताए।

इलामेलीहरूको फुटबल क्रेजलाई अग्रज पत्रकार धर्म गौतमले भनाइले झन् स्पष्ट पार्छ। ‘करिब दुई दशकअघि राजधानीबाट आएका मानिसले इलाम आएर पनि चिया खान पाइएन भने। उनले इलामको अर्थोडक्स चिया खान पाएनन् भनेका होलान् भन्ने सोचेको‚ त्यो होइन रहेछ,  फुटबल प्रतियोगिता भएकाले सम्पूर्ण पसल बन्द रहेछन्। इलामेलीहरू पसल बन्द गरेरै खेल हेर्न जान्छन्।’

४ वर्षयता इलामेलीहरूले टुँडिखेलमा स्तरीय प्रतियोगिताको मनोरञ्जन लिन पाएका छैनन्। आर्थिक र प्राविधिक कारणले गर्दा माईभ्याली गोल्डकपको सातौँ संस्करण हुन सकेन तर इलामेलीलाई फुटबलको मजा दिन जिल्ला लिग च्याम्पियन रेडहर्स फुटबल क्लबले प्रथम संस्करणको इलाम गोल्डकप आयोजना गर्दै छ। आगामी माघ ६ गतेबाट १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताका लागि भनेर बाँसको प्यारापिट बनाइएको छ।

अस्थायी प्यारापिटमा करिब चार हजार दर्शक अटाउने क्षमता छ। दर्शकको सुविधाका लागि प्यारापिट निर्माण र मैदान स्तरोन्नतिका लागि आयोजकले १० लाख रुपैयाँ खर्च गरेको छ। इलामेलीहरूले यो वर्ष ‘ए’ डिभिजनका शीर्ष ५ क्लबको खेल हेर्न पाउनेछैनन्।

इलामेलीले थ्रीस्टार, मनाङ मर्स्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस लगायतका क्लबलाई रुचाउने गरेका थिए तर इलाम गोल्डकप आयोजकले सोच माईभ्यालीको भन्दा केही फरक देखिएको छ। ‘ए’ डिभिजनको न्युरोड टिम (एनआरटी) मात्र सहभागी हुनेछ।

‘मनाङ, थ्रीस्टार, आर्मी, पुलिसहरूको सहभागिताले सामान्यतया क्लब व्यावसायिक हुने भए तर खेलाडी व्यावसायिक नहुने भए। आउने क्लबहरू एकदुईवटा छाडेर जति सहभागी छन् त्यहाँ गिभ एन्ड टेक हुनेछ’, रेहडर्स क्लबका उपाध्यक्ष नवीन तामाङले भने ‘सहभागी क्लबहरूले प्रतियोगिता आयोजना गर्दै आएका छन्। त्यहाँ रेडहर्सको समेत सहभागिता हुने सहमति भएको छ। जसले गर्दा इलामका खेलाडीले समेत विभिन्न प्रतियोगितामा खेल्ने अवसर पाउने भए।’

तामाङका अनुसार प्रतियोगितामा ६० लाख रुपैयाँ खर्च हुने अनुमान छ। उनले प्रतियोगितामा अपेक्षानुसार मुख्य प्रायोजक नपाउँदा समस्या रहेको बताए।

उनले गैरआवासीय नेपालीहरूले अन्तिम समयमा आएर प्रायोजन गरेपछि केही राहत भएको बताए। प्रतियोगितामा २५ हजार दर्शकले खेल हेर्ने आयोजकको अनुमान छ। प्रतियोगितामा ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) र नेपाल सुपर लिग क्लब बुटबल लुम्बिनी समेत सहभागी छन्। बुटबल लुम्बिनीका अफिसियल सुगन तण्डुकार एनएसएलमै सहभागी खेलाडीहरूलाई इलाममा सहभागी गराउने बताउँछन्।

इलामेलीको फुटबल जोश देखेर तण्डुकारले टिम सहभागी गराउने भएका हुन्। सुगन तण्डुकार उनै व्यक्ति हुन्, जसले ल्याएको अफ्रिकन टिम दाफिन्सको खेलबाट मात्र २०७५ सालको माईभ्याली गोल्डकप फाइनलमा १४ लाख ५० हजारभन्दा बढी रुपैयाँको टिकट विक्री भएको थियो।

प्रतियोगितामा नेपाल–भारत सिमानामा रहेको दार्जीलिङको मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी) सहभागी हुँदै छ। इटहरी गोल्डकपको १३ औँ संस्करण सफलतापूर्वक सम्पन्न गरेको राष्ट्रिय जागृति क्लब, झापाको बिर्तामोड युनाइटेड र पाँचथरको पाँचथर एफसीसँगै राजर्षि जनक कप आयोजक सर्लाहीको बागमती युवा क्लब सहभागी हुँदै छन्। प्रतियोगिताको पहिलो चरणका लागि १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको छ।

माघ १३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्वाइस अफ नेपाल विजेता विनोद राई र गायक यम बरालको सांगीतिक प्रस्तुति दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.