महानगर भन्छ : विवाद हुँदै जान्छ, खेलमैदान बन्दै जान्छ

|

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माघ २ गतेमात्रै २६ औँ भूकम्प स्मृति सभामा भनेकी थिइन्, ‘महानगरपालिकाले विपदबाट बच्न विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाको सबलीकरण, खुला ठाउँको संरक्षण, विपद् सिर्जित संकटबाट बच्न समुदायस्तरीय संयन्त्रमा ध्यान दिएको छ।’

यो उनको प्राकृतिक विपत्तिबाट बच्न खुला ठाउँको आवश्यक पर्ने र यसको संरक्षणमा महानगर लागिपरेको आशय हो तर उनको यो आशय र बोलीले महानगर आफैँलाई गिज्याएको छ। ऐतिहासिक खुलामञ्च खुला हुनुपर्छ भन्ने जनताहरूको चाहनाविपरीत त्यहाँ महानगर फुटबल मैदान बनाउन लागेको छ।

चालु आर्थिक वर्षको बजेटमै जसरी पनि खुलामञ्चमा कृत्रिम (प्लाष्टिक) दुबो रोप्ने र सम्भव नभए प्राकृतिक दुबो रोपेरै भए पनि दुईवटा फुटबल मैदान तयार गर्ने अडानमा महानगर छ। उक्त योजनाअनुरूप महानगर अघि बढेको छ।

संरचना नबनाउन स्थानीय बासिन्दा र संरक्षणकर्मीको माग

महानगरपालिकाले यो योजना अघि सारेपछि स्थानीय र अभियन्ता संरक्षणकर्मीहरू पुन: आन्दोलनमा उत्रिएका छन्। खुलामञ्च खुलै हुनुपर्ने उनीहरूको एउटै माग र अडान छ।

उनीहरूले पुस २५ गते ‘फुटबल ग्राउन्ड’ बनाउने प्रक्रिया अगाडि नबढाउने मागसहित महानगरपालिकाको वडा नम्बर २८ मा ज्ञापनपत्र बुझाएका थिए। अक्युपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले ऐतिहासिक खुलामञ्चको संरक्षणको दायित्व महानगरको रहे पनि संरक्षणको साटो मास्न लागि परेको बताउँछन्।

‘खेलमैदान काठमाडौंको आवश्यकता हो यसमा कसैको दुईमत हुन सक्दैन तर खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्व छ, खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने हाल रहेको लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागि महत्वपूर्ण क्षेत्र तथा जीवनदायिनीसमेत हो,’ उनले भने।

उनका अनुसार जनताले इतिहास र आफ्नो हकअधिकारको लागि आवाज राख्ने ठाउँलाई नमास्न, बरू यसमा केही निर्माण गर्नुको साटो यसलाई घाँसे मैदान बनाउनु आवश्यक छ। हाल ताला लगाइरहेको खुलामञ्च जनता (बच्चादेखि वृद्ध) का लागि खुल्ला गरी आवश्यकताअनुसारको क्रियाकलाप गर्न दिन उनको अनुरोध छ।

उनका अनुसार प्राकृतिक रूपमा काठमाडौंको फोक्सो (अर्थात् स्वच्छ हावाको स्रोत), भूमिगत जलभण्डारको पुनर्भरणको स्रोत, महाङकाल, दुई माजु, गुरूमापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक तथा राजनितिक परिवर्तनको साक्षीको रूपमा रहेको खुलामञ्च क्षेत्र तथा दैवी प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको टुँडिखेल दिन प्रतिदिन मासिँदै गएको छ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको यसको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ। यसको अतिक्रमण हुने क्रम बढ्दो छ।

यही अतिक्रमण रोक्न, खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलको स्वतन्त्रताको लागि अक्युपाई टुँडिखेल अभियान कात्तिक २३ गते २०७६ मा सुरू भई ३ महिनासम्म जनतादेखि जनप्रतिनिधिसमेतको उपस्थितिमा सञ्चालन भएको थियो। अहिले पनि जारी छ।

सम्पदा संरक्षण एवं अक्युपाई टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्च नागरिकको सम्पत्ति रहेको बताउँछन्। ‘खुलामञ्च खुल्ला नै रहनुपर्छ, निश्चित प्रयोजनको सोचमात्र होइन बहुमहत्वको यो क्षेत्र बहुप्रयोजन सिर्जित हुनुपर्छ किनकि यो नागरिकको सार्वजनिक सम्पत्ति हो, जुनसुकै तहगत सरकार भए पनि संरक्षण र व्यवस्थापन गर्ने हो, मास्ने होइन,’ उनले भने।

अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारीले पनि खुलामञ्चको ऐतिहासिकतामाथि विभिन्न बहानाबाजीमा पटकपटक प्रहार गरिएको बताए। ‘आम नागरिकका लागि खुलामञ्च निर्बाध रूपमा खुल्नुपर्ने हो तर यहाँ बारम्बार अतिक्रमण गर्न खोजियो, यो काम रोकियोस्,’ उनले भने।

माघे संक्रान्तिको अवसरमा गत सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा १६ जना घाइते भए। उनीहरूको ट्रमा सेन्टरमा उपचार पनि भयो। यी घटना हुनुको मुख्य कारणमा त्यहाँको ठाउँ नै अतिक्रमण गरिनु नै रहेको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।

साँघुरो नभइ स्वतन्त्र रूपमा आवतजावत गर्न दिए यो घटना नहुने उनको भनाइ छ। ‘टुँडिखेलमा घटेको दु:खद घटनाको जिम्मेवार को? अतिक्रमण अनि जनतालाई निस्फिक्री हिँडडुल गर्नबाट वञ्चित गरेको परिस्थिति र त्यसलाई टुलुटुलु हेरेर बस्ने स्थानीय सरकार। लोकतन्त्रमा आखिर बन्देजको राजनीति कहिलेसम्म?,’ उनले भने।

खुलामञ्चमा सधैँ महानगरको कर्के नजर

महानगरपालिकाले खेलमैदान बनाउने योजना अहिलेमात्र अघि सारेको भने होइन। यसअघि पनि बेला बेलामा थुप्रै संरचना निर्माण गर्न तम्सिएको थियो महानगर। तर विरोध भएपछि महानगर पछि हट्यो। ०७९ मै महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो।

५ हजारभन्दा बढी सवारीसाधन अट्ने गरी तीनतले भूमिगत पार्किङ बनाउने योजना महानगरको थियो तर यसको चौतर्फी विरोध हुन थालेपछि उक्त योजना अघि बढ्न सकेन। यसअघि महानगरले खुलामञ्चमा ढलानसमेत गर्न खोजेको थियो। अहिले त्यहाँ ओगटेर बनाइएको संरचनाहरू भने हटाउनमा महानगरको सक्रियता कायम छ। 

महानगर भन्छ : विवाद हुँदै जान्छ, खेलमैदान बन्दै जान्छ

स्थानीय र संरक्षणकर्मीहरूले जति नै विरोध गरे पनि यता महानगरपालिका काम रोक्ने पक्षमा देखिँदैन। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विरोध हुँदै जाने, खेलमैदान पनि बन्दै जाने बताए।

उनले थाहाखबरसँग भने, ‘खेलमैदान बनाउने महानगरकै योजना हो, यसमा विवाद छैन। आन्दोलन भए हुँदै जान्छ, खेलमैदान बन्दै जान्छ।’

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.