|

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले काठमाडौँमा भएको एउटा सार्वजनिक कार्यक्रममा आफूहरू सडकमा उभिनु रहर नभएर बाध्यता भएको बताए।

नेपाल पर्यटन बोर्ड, मायाको पहिचान नेपाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले आयोजना गरेको 'समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श'मा उनीहरूले सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गरिदिन सरकारसँग माग पनि गरे।

राज्य, विभिन्न सङ्घसंस्थाले बेवास्ता गरेको गुनासो गर्दै उनीहरूले परिवारबाट हिंसामा परिरहेको, लैङ्गिक मैत्रीपूर्ण वातावरण नभएको दुखेसो पनि पोखे।

शुक्रवारको उक्त कार्यत्क्रममा साहसिक कदम नेपालकी अध्यक्ष आनिक राना र  मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगिरहेका समस्या र मागका बारेमा आफ्ना भनाइ राखेका थिए।

कार्यक्रममा उनीहरूले राखेका मन्तव्यकाे सम्पादित अंश:

आनिक राना, अध्यक्ष/साहसिक कदम नेपाल 

विगत २८ वर्षदेखि म एचआइभी संक्रमित छु। सर्वोच्चमा पुगेर नागरिकताको लागि लडेँ। नागरिकता पनि पाएँ। यसरी मैले आफ्नो पहिचान लिएर हिँडेकी छु। त्यसका लागि नेपाल सरकारलाई धन्यवाद। 

हामी कहाँ छौँ? हामी कस्तो हौँ? भनेर हाम्रा लागि लडिदिने व्यक्ति हुनुहुन्छ सुनिलबाबु पन्त। म आज आनिक भएर बोलिरहँदा उहाँ कतै न कतै मसँग जोडिरहनु भएको छ। मेरो समुदायका लागि उहाँले पनि संघर्ष गरिरहनु भएको छ। 

हाम्रा समुदायका धेरै व्यक्तिहरू आफ्नो क्षमता अभिवृद्धि गर्न  पढ्न चाहन्छन् तर उनीहरू पढ्न पाएका छैनन्। सम्मानजनक रोजगारको अवसरका लागि तड्पिरहेको अवस्था छ। उहाँहरू नयाँ जीवनको खोजीमा लागिरहनु भएको छ तर रोजगार दिने काम कसैले गरिरहेको छैन। 

हामीलाई रोजगार दिने को हो त? नेपाल सरकार कि म? म एउटा व्यक्ति हुँ। नेपाल सरकार एउटा अभिभावक हो। जबसम्म अभिभावकले हाम्रो संरक्षण गर्दैन। तबसम्म हामी सडकमा छौँ।  हामी हिजो पनि सडकमा थियौँ। आज पनि सडकमा छौँ। भोलि पनि सडकमा रहनेछौँ। 

अनि हामीमाथि प्रश्न फेरि नेपाल सरकारले नै उठाउँछ। तिमीहरू सडकमा किन निस्कियौ? किन उभियौ? तिमीहरूले यौन व्यवसाय किन गर्‍यौ? यो  मेरो र हाम्रो बाध्यता हो। रोजगार हो।  मलाई सडकबाट विस्थापित गरेर घर  र समाजमा स्थापित गर्ने काम कसको हो? नेपाल सरकारको हो तर सरकारले कहिले सोच्ने?  कहिले बुझ्ने? अनि कहिले मनन गर्ने? 

यो विषय आज पनि सोचिएन, भोलि पनि कल्पना गरिएन भने  र हाम्रा लागि रोजगारीका वातावरण पनि खुलेन भने म  सडकमा उभिन छोड्दिन। किनभने यो मेरो बाध्यता हो।

यौन व्यवसाय मेरो रहर होइन बाध्यता हो। मलाई यौन व्यवसाय गर्नु छैन। मलाई यौन व्यवसायबाट मुक्त गराउन सरकार प्रतिबद्ध हुनुपर्छ। म शरीर बेच्न चाहदिनँ।

म एचआइभी संक्रमित भएँ। भोलि मलाई एड्स हुन्छ। अनि मलाई उपचार कसले गर्छ? मसँग उपचार गर्ने पैसा छैन। म आज पाँच सय कमाउँछु। साँझमा भात खान्छु। बिहान कमाउँछु। बिहान खान्छु तर मेरो दिन आफ्नो छैन। मेरो भविष्य मसँग छैन। मलाई मेरो भविष्य निर्माण गर्न नेपाल सरकारले सोचिदिनुपर्‍यो। 

यदि यो भएन भने म जस्ता हजारौँ आनिकहरू सडकमा उभिन बाध्य हुनेछन्। जसले आफू त गम्भीर रोग बोकिरहेका छन्। म र मजस्ता साथीहरूका लागि सोचिदिनुपर्छ।

म असल नागरिक भएर यो देशका लागि केही गर्न चाहन्छु। यसका लागि यौनिक तथा अल्पसंख्यक समुदायले मात्र होइन, अन्य समुदायले पनि बोलिदिनुपर्छ। तेस्रो लिंगीको आवाज तेस्रो लिंगीले मात्र बोल्ने, समलिंगीको आवाज समलिंगीले मात्र बोल्ने हो भने समाज केका लागि?  राष्ट्र केका लागि? प्रदेश केका लागि?  स्थानीय सरकार केका लागि?

अहिले जति पनि हामीलाई साथ र सहयोग गर्ने साथीहरू हुनुहुन्छ। उहाँहरूलाई अनुरोध के भने हामीले सम्मानजनक बाँच्ने अवसरको ढोका खोल्न मद्दत गरिदिनुस्। आनिक एक नाम हो। आनिकसँग जोडिएको एलजीबिटीआइक्वु समुदायलाई सडकबाट घर ल्याइदिनुस् र हामीलाई रोजगारको बाटो खुलाइदिनुस्। हामीलाई बाँच्न दिनुस्। 

देवेन्द्रबहादुर खत्री, उपाध्यक्ष/मायाको पहिचान नेपाल

मेरो संघर्षको यात्रा सहज थिएन। म आफ्नै परिवारभित्र पनि समलिंगी पुरुष हुँ भनेर चिनाउँदै गर्दा पनि कतैबाट साथ पाएँ, कतैबाट पाइन। ६८ सालदेखि म काठमाडौँ उपत्यकामा छु। त्योभन्दा पहिले म दिल्लीमा थिएँ।

जीवनमा संघर्ष गर्दैगर्दा मैले धेरै अनुभव संगालेको छु। हस्पिटालिटी सेक्टर फुड प्रोडक्सनको सीप पनि छ तर मभित्र भएको क्षमतालाई कहीँ कतै उपयोग गर्छुभन्दा पनि मिल्ने खालको वातावरण भएको छैन।

राज्यको तर्फबाट बेवास्ता भएको र कुनै ठोस किसिमको नीति/नियम नहुँदा विभिन्न सरोकारवाला संघ-संस्थाहरूको ध्यान केन्द्रित हुन सकेको छैन।

हामी हाम्रा यौनिक अल्पसंख्यक समुदायका साथीहरू चाहिँ सडकमा उभिन परेको छ। यौन कार्यमा संग्लन हुनुपर्ने बाध्यता रहेको छ। जुन एकदमै पीडादायी कुरा हो। जसलाई हामीले न्यूनिकरण तथा निर्मलीकरण गर्नुपर्छ। सम्मानित पेशामा स्थापित गर्नुपर्छ। 

हामीले यसका लागि विभिन्न क्याम्पियनहरू गर्दै आएका छौँ। विभिन्न तालिम दिएर उनीहरूलाई सक्षम बनाउन भूमिका खेलेका छौँ तर उहाँहरूले पाएको तालिम व्यवहारिक तहमा प्रभावकारी हुन सकेको छैन। 

क्षमता भएका साथीहरूलाई अवसर, सीप नभएका साथीलाई सीप सिकाउन जरूरी छ। यौन क्रियाकलापमा लागेका साथीहरूलाई रोक्न सक्नुपर्छ। उनीहरूलाई व्यवसायमा कसरी उत्प्रेरित गर्ने?  कसरी आर्थिकरुपमा सहयोग गर्ने भन्ने सोच्न जरूरी छ। 

आउने दिन हामीलाई स्थापित गर्न सरकारले महत्वपूर्ण भूमिका खेलिदिनुपर्छ भन्ने लाग्छ। हामीलाई आशा पनि छ। आर्थिकरुपमा सबल हुन सरकारले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने प्रतिक्षारत छौँ। सरकारले हाम्रा लागि ल्याउने नीति हामी अनुकुल छन्/छैनन् सरकारले ध्यान दिन जरुरी छ। 

७७ जिल्लाका सडकमा उभिनु हाम्रो कुनै रहर छैन। अञ्जान व्यक्तिहरूलाई आफ्नो शरीर सुम्पनु हाम्रो पीडाको विषय हो। हामी पनि माया चाहन्छौँ। सम्मान चाहन्छौँ। बाँच्न चाहन्छौँ। 

राज्यले हेर्दैन। परिवार र समाजले लैंगिक हिंसा गर्छ। हामी पढाइबाट वञ्चित भएका छौँ। विद्यालय तथा कलेजमा हिंसाको शिकार भएका छौँ। जहाँ लैंगिक मैत्रीपूर्ण वातावरण  छैन। जसले हाम्रा समुदाय पछाडि परिरहेको अवस्था छ। हामी कति दिन बहिस्कृत हुने? हामीलाई पनि नागरिक ठान्न जरुरी छ। हाम्रो सीप क्षमता राज्यलाई दिन चाहन्छौँ। देशको समृद्धिमा हामी पनि हातेमालो गर्न चाहन्छौँ। 

म आफैँ पनि व्यवसाय सञ्चालन गर्छु भनेर कोरोनाकाल अगाडि काम सुरू गरेँ तर सहयोग भएन। म  आर्थिकरुपले सवल व्यक्ति होइन। संघ-संस्थाहरूले साथ पनि दिएन। जसकारण पुन: सडकमा आउनुपर्‍यो। मैले यो मेरो अनुभव भनिरहेको छैन। यो हाम्रो समुदायको साझा समस्या हो। मुद्दा हो। यो खालको भयावह स्थितिलाई रोक्न हाम्रो पहिचान गरेर देशको उत्पादनशिल कार्यमा लगाइदिनुपर्छ। 

विडम्बना हामीले हाम्रो क्षमता लुकाउनुपरेको छ। पहिचान लुकाउनु परेको छ। हाम्रो क्षमताहरू यसै खेर गइरहेको छ। हामी राज्यको समृद्धिको यात्रामा सहयात्री बन्न चाहन्छौँ।

हामी कति दिन बहिस्कृत हुने? हामी पनि यो देशका नागरिक हौँ। हाम्रो सीप क्षमतालाई राज्यले सदुपयोग गर्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.