|

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका निकटस्थ रहेको आरोप लगाएका छन्।

निर्वाचित भएको ९० दिन पुगेको अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको आरोप लगाए। उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आउने भए पनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पारे।

उनले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेशनल र सचेतना अपनाएर निर्वाचन आफूहरूले गरेको दाबी गरे। उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि नतिजा स्विकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए। उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ एनआरएनएको इतिहासमा २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल भनेर, सबैभन्दा बढी सचेतना अपनाएर, सबैभन्दा बढी वैधानिक कागजपत्र उपलब्ध गराएर निर्वाचन गरेको छ। चुनावको बीचमा आएका प्राविधिक समस्या समाधान गर्न तीनैजना अध्यक्षका उम्मेदवारले सही गर्नुभएको छ र सहमति भएको छ। तीनजनै अध्यक्षका उम्मेदवार र प्रतिनिधिले सही गरेर चुनाव समापन गरेका छौँ।’

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम शुरु भएको एनआरएनएले जनाएको छ। भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्रालाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै गैरआवासीय नेपालीबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ।

गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.