|

काठमाडौं : विभिन्न कारणले युवावस्थामै केश झरेर तालुपन समस्या झेल्नेको संख्या बढिरहेको छ। यो समस्या महिलाभन्दा पुरुषमा बढी देखिन्छ। युवा अवस्थामा नै हुने तालुपनको समस्याले गर्दा व्यक्तिको सामाजिक जीवनमा समेत प्रभाव पारिरहेको हुन्छ।

विभिन्न अध्ययनका अनुसार हाल विश्वमा ८५ प्रतिशत पुरुषले सामान्यदेखि जटिल प्रकारको तालुपनको समस्या झेलिरहेको अनुमान गरिन्छ। जसरी तालुपनको समस्या बढ्दै गएको छ त्यसरी नै केश प्रत्यारोपण (हेयरट्रान्सप्लान्ट) प्रविधिको समेत विकास भइसकेको छ।

दक्ष चिकित्सकले उच्चतम प्रविधिको प्रयोग गरेर गरिने केश प्रत्यारोपणले तालुपन भएकालाई प्राकृतिकरूपमा नै सुन्दरता फर्काएको महशुस गराउँछ। यो प्रविधि तालुपनको समस्या भोगिरहेकाहरूका लागि वरदान नै मानिन्छ। यसले गर्दा पछिल्लो समय कपाल नभएका व्यक्तिका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रूपमा आइरहेको छ। नेपालमा पनि कपाल प्रत्यारोपण गराउनेहरू बढिरहेका छन्।

तालुपनको समस्या किन हुन्छ?, पछिल्लो समयमा निकै चलेको  हेयर ट्रान्सप्लान्ट उपचार के हो? यसको लागि कति खर्च हुन्छ? यिनै विषयमा हामीले कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट डा. इशा पौडेलसँग कुरा गरेका छौँ।

तालुपनको समस्या खास किन आउँछ?

हाम्रो शरीरमा भिटामिन डी, बी तथा तथा अन्य पोषक तत्त्व कम भयो भने केश झर्ने समस्या देखा पर्छ। यस्तै थाइराइड हर्मोनको गडबडी भयो भने पनि कपाल झर्ने समस्या सिर्जना हुन्छ। यी भनेको सामान्य कारण हुन्। यी कारणले केश झरेको छ भने सम्बन्धित समस्याको उपचार गरेपछि पुन: पलाउन पनि सक्छ।

तर कपाल झरेर तालुपनको समस्या सिर्जना गर्ने भनेको ‘जेनेटिक हेयर लस’को कारण हो।  मानिसमा वंशानुगत कारणले गर्दा केश पूरै झर्ने समस्या हुन्छ, जसले तालुपनसिर्जना गराउँछ।

यदि परिवारमा बुबा वा हजुरबुबाको केशकम उमेरमै झरेको छ भने पनि त्यसको असर छोरा वा नातिमा पर्छ। वंशाणुगत कारणले केश झर्नुलाई ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ। यसको मुख्य कारण ‘डाइहाइड्रो टेरेसटेरोन’ हर्मोनले गर्दा कपालको जरा सुकेर जाने कारणले हुन्छ। यो वंशाणुगत हुन्छ। यो एक प्रकारको रोग हो।

जेनेटिकरूपमा झर्ने समस्या रहेको छ भने त्यो केश पुन: पलाउँदैन। यो समस्या महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ। त्यसैले सामान्य कारणले कपाल झरिरहेको छ वा जेनेटिक कारणले हो भनेर परिक्षण गर्नु पर्छ र सोही अनुरूपको उपचार गर्नु पर्छ। जेनेटिक रूपमा केश झरेर तालुपनको समस्या रहेको छ भने केश पुन: पलाउने सम्भावना नहुने हुँदा हेयर ट्रान्सप्लान्ट नै गर्नुपर्छ।

हेयर ट्रान्सप्लान्ट भनेको के हो?

सजिलो भाषामा भन्दा हेयर ट्रान्सप्लान्ट भनेको मानिसको टाउकोमा कपाल नभएर खाली भएको स्थानमा केश रोप्नु हो। तालुपनको समस्या प्राय: टाउकोको पछाडिभन्दा अगाडि भागमा हुन्छ। यसरी हेयर ट्रान्सप्लान्ट गर्दा हामीले केश नै रोप्ने भने होइन। पछाडिको भागमा रहेको केशको जरा लगेर रोप्ने हो। पछि त्यही जरा ठूलो भई केश लामो हुने हो। यसरी रोपेर आएको कपाल पनि प्राकृतिकरूपमा नै आएको कपाल जस्तै हुन्छ।

ट्रान्सप्लान्ट गरेको केश आजीवन रहन्छ?

ट्रान्सप्लान्ट गरेको कपाल प्राकृतिकरूपमा आएको कपाल जस्तै स्थायी हुन्छ। टाउकोको पछाडिको भागको केशको जरा लगेर रोपिएको हुन्छ कि भने हाम्रो टाउकोको अगाडिको भन्दा पछाडिको भागको कपाल प्राय: झर्दैन र यसरी नझर्ने कपालको जरा लगेर रोपिएको हुन्छ यसैले गर्दा ट्रान्सप्लान्ट गरिएको केश स्थायी हुने हो।

सामान्यतया एक पटक पलाएको कपाल ३ वर्षसम्म रहन्छ र त्यो झरेपछि अर्को केश पलाउने हो। ट्रान्सप्लान्ट गरेको कपालको हकमा पनि यही नै हुने हो। किनभने हामीले कपालको जरा रोपिएको हुन्छ, जसले गर्दा केश झरे पनि पुन: उम्रिन्छ।

हेयर ट्रान्सप्लान्ट गर्न कति शुल्क लाग्छ?

हेयर ट्रान्सप्लान्टको सफलता दर  ९० प्रतिशत भन्दा माथि छ। तर हेयर ट्रान्सप्लान्ट गर्न भने अलि लामो समय सम्म लाग्छ। किन भने कपालको जरा निकाले र त्यसमा पनि राम्रो खालको जरा छानेर रोप्नुपर्छ। यसका लागि चारपाँच जनाको टिम नै लाग्नु पर्छ। यसको उपचार खर्च पनि सोही अनुरूपको हुन्छ। हेयर ट्रान्सप्लान्ट समयमा प्रयोग गरिने औषधीसहित सामान्यतया एकदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्छ। तर यसमा पनि कति कपाल रोप्नु पर्ने हो, त्यसअनुसार शुल्क घटबढ हुनसक्छ।

हेयर ट्रान्सप्लान्टपछि कस्ता सावधानी अपनाउने?

सामान्य खालको सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गरिने भएकाले बेहोश बनाउनु पर्दैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर गर्न सकिन्छ। ‘पेनलेस’ रूपमा नै कपाल रोप्न सकिन्छ। हेयर ट्रान्सप्लान्टको कुनै नकारात्मक असर हुँदैन। कपाल उखेलेको र रोपेको ठाउँमा सामान्य पाप्रा बस्न सक्छ। तर घाउ नहुने भएकाले ड्रेसिङ पनि गर्नु पर्दैन।

एक हप्तासम्म सामान्य स्लाइन पानीले स्प्रे गर्नुपर्छ। तीन दिनपछि नुहाउन सकिन्छ। कसैकसैको अनुहार सामान्य सुन्निन सक्छ। तर, पछि आफैँ ठिक हुन्छ। तर हेयर ट्रान्सप्लान्ट गरेको २ हप्ता भने अलि केयर गर्नुपर्छ।

आफ्नै कपालको जरा लगेर रोप्ने हुँदा यसरी आएको  पनि प्राकृतिकरूपमा आएको केशजस्तै हो। त्यसलै हामीले सामान्य अवस्थामा जसरी  स्याहार गर्छौँ। प्रत्यारोपित केशलाई पनि त्यसरी नै स्याहार गर्दा हुन्छ।

ट्रान्सप्लान्ट हेयरमा ‘क्याराटिन’ गर्न मिल्छ त?

कपालको सुन्दरताको लागि भन्दै धेरैले क्याराटिन तथा स्टेट( क्रिम र मेसिनको माध्यमबाट तन्काउने) गरेको पाइन्छ। यो कपालको स्वास्थ्यका लागि प्राकृतिकरूपमा आएको केशलाई पनि हामी सिफारिस खासै गर्दैनौँ। ट्रान्सप्लान्ट गरेको  हेयरको हकमा पनि त्यही हो। सकभर क्याराटिन नगरेकै राम्रो। तर आफ्नै केशको जरा रोपेको हुँदा ट्रान्सप्लान्ट गरेर आएको केशलाई पनि इच्छा अनुसार काँटछाँट भने गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.