गठबन्धनको पिछलग्गु भएर क्रान्तिको बाटो हिँड्न सकिँदैन

|

साढे दुई वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टी गठनयताका धेरैजसो समय सरकारमै रहेर बिताएको छ। यो पार्टी अहिले पनि सरकारमै छ। तर आफ्नै दल सहभागी भएको सरकारप्रति एकीकृत समाजवादीमा सन्तुष्टिको स्वर भने निकै कम सुनिन्छ। 

खासगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको चर्को आलोचना गर्ने गरेका छन्। नेता खनालले कांग्रेससहितको  गठबन्धनमा रहने अवस्थासमेत नरहेको बताएका थिए। वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालको यस्तो गतिविधि र अभिव्यक्तिले कतै उनी एमालेसँग नजिकिँदै त छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ। 

त्यसो त पछिल्लो समय सत्ता गठबन्धनभित्रै पनि मतैक्य छैन। सरकार र गठबन्धनभित्रको यिनै असन्तुष्टिका विषय, नयाँ सत्ता समीकरण र वामपन्थी ध्रुवीकरणको सम्भावना, एकीकृत समाजवादीको राजनीतिक तथा वैचारिक धरातल र आगामी महाधिवेशनलगायत विषयमा नेता खनालसँग कुराकानी गरिएको छ। प्रस्तुत छ, त्यसैको सम्पादित अंश–

तपाईँ सधैँ आफ्नै दल सहभागी भएको सरकारको आलोचना मात्र किन गरिरहनुहुन्छ? 

यो सरकारले जे काम गर्नुपर्ने थियो त्यो गर्न सकेको छैन। आज देश जे अपेक्षा गरिरहेको छ, जनतामा जुन आकांक्षा छ ती कुनै पनि कुरा अहिले सम्बोधन भएका छैनन्। त्यसकारण स्वाभाविकरूपमा सरकारप्रतिको असन्तोष र विरोध, आक्रोश बढेको हो। जुन कुरा सरकारले बुझिरहेको छैन। हाम्रो पार्टी पनि सत्तामा अंशियारी छ। यो अंशियारीकै बारेमा समीक्षा गर्ने अवस्थामा छौँ। मैले समीक्षा गरौँ भनेर पटक–पटक भन्दै आएको हुँ।  

काम गर्न चुकेको सरकारमा किन बसिराख्नुभएको त उसोभए?

हामी महाधिवेशनको पूर्वघडीमा छौँ। त्यसकारण महाधिवेशनमा यसबारे गम्भीर समीक्षा गरेर नै टुंगोमा पुगौँ। त्यो तर्कसंगत हुन्छ। हामीलाई फाइदा–बेफाइदा के भयो? हामीले ठिक–बेठिक के गर्‍यौँ? हामीले क्रान्तिका लागि सहयोगी काम गर्‍यौँ वा क्रान्तिलाई झन् अल्झनमा पार्ने काम गर्‍यौँ? यी तमाम विषयको समीक्षा गरेर मात्र हामी निर्णय लिन्छौँ। 

अब तपाईँको पार्टी अध्यक्ष माधव नेपालको पालो हो प्रधानमन्त्री बन्ने, त्यसपछि सबै ठिक हुन्छ त? 

कमरेड प्रचण्ड अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँको पार्टीसँग ३२ सिट छ। त्यति सिट भएकै प्रधानमन्त्रीबाट देश र जनताले अपेक्षा गरेका काम हुन सकेनन् भने हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री भएर के गर्नुहोला? यो कुरा आम जनताले पनि कल्पना गरिसक्या छन्। त्यसो हुनाले म ती कुराहरूबाट धेरै आशावादी छैन।  

तपाईँले केही दिनअघि गठबन्धनमा पनि बस्ने अवस्था छैन भन्नुभएको थियो। असन्तुष्टि भागवण्डामै हो? 

पहिलो कुरा नेकपा एकीकृत समाजवादी एउटा क्रान्तिकारी पार्टी हो। यस्तो प्रकारको गठबन्धनमा लागेर वा गठबन्धन पिछलग्गु भएर क्रान्तिको बाटो हिँड्न सकिँदैन। यो बाटो भनेको यथास्थितिवादको बाटो हो। त्यसकारण म यस्तो कुरा गरिरहेको छु।

असन्तष्टिको विषय जहाँसम्म छ, अरुको असन्तुष्टिको विषय अरुसँगै खोज्नुहोस्। मेरो असन्तुष्टि भनेको आधारभूत हाम्रो नीतिको कुरामा हो। मैले भनिहालेँ, हामीले हिँड्नुपर्ने क्रान्तिको बाटो, तर हामी हिँड्दैछौँ यथास्थितिवादमा। त्यसो हुनाले यो यथास्थितिवादमा उभिएर भागवण्डा खोज्नुबाहेक अरु के नै हुन्छ र?

अर्को भनेको हाम्रो पार्टीमाथिको अपमानको कुरा मैले उठाएको हो। जुन कुरा हाम्रो कार्यदिशा र नीतिसँगसमेत जोडिएको छ। 

तपाईँ त सधैँ वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएको मान्छे, एमाले जोडतोडका साथ सत्ता गठबन्धन भत्काउन लागिपरेको वेला तपाईँ पनि उतै नजिकिँदै हुनुहुन्छ भनिन्छ नि!  

म त एउटा स्वतन्त्र क्रान्तिकारी, जनआधारित मार्क्सवादी, लेलिनवादी ठूलो क्रान्तिकारी पार्टी बनोस् भन्ने चाहन्छु। र नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणको मुखमा भएको हुनाले म समाजवादको पक्षमा छु। यसैलाई लक्ष्य बनाएर अगाडि बढ्ने कम्युनिष्ट पार्टीहरूबीचमा एकता हुनुपर्छ। विचारमा, नीतिमा, सिद्धान्तमा हाम्रो पार्टीसँग अथवा हामीसँग एकरूपमा हुने समूहहरू प्रकट भए भने त्यस्ताहरूसँग एकता हुन्छ नै। तर दैलोको आग्लो जस्तो कहिले दायाँ र कहिले बायाँ गर्ने कम्युनिष्टहरूको चाहिँ यो देशमा काम छैन। 

तपाईँले एक हुन चाहेको कम्युनिष्ट पार्टीमा एमाले पर्छ कि पर्दैन त?

एमालेभित्र पनि गम्भीर समस्याहरू छन्। एमालेको मात्र के कुरा माओवादीभित्र पनि त्यस्तै समस्या छन्। अहिले कम्युनिष्ट आन्दोलनका जति  पनि आफूलाई मुख्य पार्टी भन्नेहरू छन् उनीहरूको नेतृत्वमा अहिले दक्षिणपन्थी भड्काउ हाबी हुँदै गएको छ। त्यसैले हर पार्टीभित्र पुनर्गठन, पुनर्विचार, समीक्षा, नयाँ धरातल र त्यही नयाँ धरातलमा एकताका कुरा खड्किरहेका छन्।

म के देखिरहेको छु भने नेपालको कम्युनिष्ट आन्दोलन यतिबेला पुनर्गठनको एउटा नयाँ प्रवाहतर्फ अघि बढ्दैछ। र ८० को दशक नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठनको दशक, एकताको दशक र प्रगतिको दशक हुनेवाला छ।  

समाजवाद रूपान्तरणका लागि भनेर तपाईँहरूले बनाउनुभएको समाजवादी मोर्चा आज कहाँ छ?  

समाजवादी मोर्चा मैले पनि त्यति धेरै देखिरहेको छैन। यो मोर्चा घोषणा गर्ने दिन चाहिँ कमरेड प्रचण्डले मलाई आउनैपर्छ कि आउनैपर्छ भनेर म गएको थिएँ। मैले यो समाजवादी मोर्चा अहिलेको यथास्थितिवादी सत्ताको वैशाखी नबनोस् है भनेर त्यसै दिन भनेको थिएँ। यहाँसम्म आउँदा म त्यस्तै भइरहेको देख्छु। 
जुन सत्ताले लोकप्रिय र प्रगतिका काम गर्न सक्दैन, त्यही सत्ताको वैशाखी हुने कुनै पनि समूह, गुट र व्यक्तिले लोकप्रियता हासिल गर्न सम्भव नै छैन।

तपाईँ त हिजो एमसीसीको कट्टर आलोचक, पारित भएर कार्यान्वयनमा गएको आज पाँच महिना पुगिसकेको छ। तपाईँले भने जसरी नेपालमा अमेरिकी सेना आउने छाँटकाँट त छैन त! 

अमेरिकी सेना आउने भनेको एमसीसीको एउटा सम्झौता मात्र होइन। एमसीसीसँगै एसपीपीलगायतका धेरै कुराको एउटा समग्र योजना नेपालमा लागू हुन गइरहेको थियो। त्यो कुरा अहिले अलिकति अवरुद्ध भएको छ। 

मैले त एमससीसी गर्‍यो भने नेपालको भूमिमा अमेरिकी सेना आउँछ भनेर कहिल्यै बोलिनँ र आजसम्म बोलेको पनि छैन। तर मेचीदेखि महाकालीका जनताले बोल्या थिए त्यतिवेला। त्यो कुरा नितान्त गलत थिएन। एसपीपी नामको सम्झौता भित्रभित्रै अगाडि बढ्दै थियो। त्यसभित्रको प्रावधानहरू कतिपय जनताले थाहा पाएका थिए। त्यहीकारण त्यतिवेला त्यो कुरा आएको थियो।

यदि एसपीपीसमेत भएको भए चाहिँ आमजनताले गरेका जुन प्रश्न थियो, जिज्ञासा थियो त्यो सत्य सावित हुन्थ्यो। र तपाईँले नै देख्नुहुन्थ्यो नेपालमा अमेरिकी सेना कसरी आउँदो रहेछ भनेर। 

एसपीपी सम्झौता रद्द भएसँगै एमसीसीबाट तपाईँले औँल्याएको खतरा पनि टर्‍यो उसोभए? 

एमसीसीमार्फत हाम्रो देशलाई जतिवटा सर्तमा फस्न बाध्य गराइयो नि! त्यसले अब सदासर्वदा नेपालको डिप्लोमेसीमा कालो दब्बा लगाइदिएको छ। सरकारमा बस्नेहरूले तीन करोड नेपालीको निधारमा त्यो कालो टिका लगाइदिने काम गरेका छन्।    

अब तपाईँको पार्टीकै कुरा गरौँ, विद्रोहको करिब साढे दुई वर्ष बित्दा एकीकृत समाजवादीले के गर्‍यो र अहिले कहाँ छ? 

यो साढे दुई वर्षमा संगठनात्मक काम जस्तो प्रदेश, जिल्ला र पालिकासम्म संगठन विस्तारका कामहरू भएका छन्। तर पार्टीलाई जसरी वैचारिक राजनीतिक रूपले क्रान्तिकारी दिशातर्फ अगाडि बढाउनुपर्ने थियो त्यो काम चाहिँ कैयौँ कारणबस अपेक्षित गतिले अगाडि बढ्न सकेको छैन। 

हामीले करिब यो अढाइ वर्षको गहन ढंगले समीक्षा गर्ने पक्षमा छौँ। महाधिवेशनमै यसको समग्र समीक्षा हुन्छ। त्यसपछि चाहिँ नेकपा एकीकृत समाजवादी अब कसरी अगाडि बढ्छ र के गर्छ भन्ने कुरा प्रष्टरूपले देख्न सकिन्छ।  

नेता–कार्यकर्ताले पार्टी छाडेर अन्य दलमा जाने क्रम त रोकिएको छैन। यसले विस्तारै पार्टीको अस्तित्व संकटतर्फ गइरहेको जनाउँछ नि होइन र?

यो बिचमा हाम्रा पार्टीका कतिपय कार्यकर्ताहरू बाहिर गएको कुरा साँचो हो। नेकपा एकीकृत समाजवादीमा अन्य पार्टी त्यागेर आइरहेको कुरा पनि फेरि साँचो हो।

तर पार्टी साँच्चै अपेक्षित गतिमा अगाडि बढ्दै छ त? यो त बिलकुल छैन। अब यसलाई अ‍ेपेक्षित गतिमा अगाडि बढाउनका लागि चाहिँ अहिलेसम्मका समग्र अनुभवहरूको समीक्षा गर्दै हामीले आगामी महाधिवेशनबाट पार्टीको कार्यदिशा, सिद्धान्त, कार्यक्रम, रणनीति, क्रान्तिको बाटो आदिको समग्र श्रृंखला क्रान्तिकारी जगमा उभ्याएर अगाडि बढाउनुपर्ने छ। त्यो कुरा हामीले सफलतापूर्वक गर्न सक्यौँ भने नेपालको कम्युनिष्ट आन्दोलनमा नै एउटा नयाँ धरातल, नयाँ तरंग र नयाँ लहर आउँछ। 

तपाईँले भन्दै आएको त्यो क्रान्तिकारी बाटोमा अहिलेसम्म पार्टी अघि नबढ्नुको पछाडि कहाँ को चुकेको देख्नुहुन्छ?

कुनै पनि पार्टीको विकास, विस्तार र प्रगतिको निर्णायक कुरा भनेको उसले लिने वैचारिक र राजनीतिक कार्यदिशा हो। यदि वैचारिक, राजनीतिक कार्यदिशा सही छ भने त्यो पार्टीको विकास र विस्तार कसैले छेक्न सक्दैन। तर वैचारिक राजनीतिक कार्यदिशामा ‘डिफेक्ट’ छ भने अड्चनहरू पैदा हुन्छन् र पार्टी कहिले खुम्चिएजस्तो र कहिले विस्तार भएको जस्ता उत्तरचढाव देखिन्छन्। 

अहिले हाम्रो पार्टीको विकासक्रममा वैचारिक राजनीतिक कार्यदिशाका कतिपय पक्षहरूमा रहेका कतिपय कमीकमजोरीले गर्दा पार्टीले अपेक्षित गति लिन नसकेको हो। ती कुराहरूलाई चिनेर अब नयाँ ढंगले समीक्षा गर्दै त्यसलाई सच्याउनुपर्ने आवश्यकता छ। 

आगामी जेठमा महाधिवेशन गर्ने भन्नुभएको छ। नेतृत्वमा तपाईँको पनि दाबेदारी रहन्छ?  

म सही वैचारिक राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तको पक्षमा छु। क्रान्तिकारी कार्यदिशाको पक्षमा छु। त्यसैबाट मात्रै पार्टी अघि बढ्छ भन्ने पक्षमा छु। म मेरा विचारहरू पार्टी कार्यकर्तासमक्ष दृढतापूर्वक राख्छु। 

महाधिवेशन एउटा सर्वोपरी थलो हो। त्यसले क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तमा मैले अगाडि सारेकै कुराहरू पास गर्ने स्थिति बन्यो भने कुनै पनि जिम्मेवारी लिनबाट म पछि हट्ने छैन। 

पार्टी अध्यक्ष माधव नेपालसँग शुरुदेखि नै कुरो मिलेजस्तो देखिन्न नि तपाईँको, किन? 

माधव कमरेड र म २०३२ देखि सँगसँगै हिँडिरहेका छौँ। तर वैचारिक राजनीतिक कुराहरूमा हाम्रा बिचमा बहस छलफलहरू वेलाबखत हुने गर्छ। हाम्रा बिचमा अहिले पनि बहस छन्। 

हाम्रा बिचका ती बहसहरू कति सही र कति गलत त्यसबारे महाधिवेशनले निष्कर्ष निकाल्छ नै। त्यसअघि नै हामी एकताबद्ध हुन सक्छौँ कि भनेर त्यो प्रयत्न मेरो तर्फबाट हुनेछ। उहाँको तर्फबाट पनि भयो र क्रान्तिकारी विचारमा एकताबद्ध भयौँ भने तपाईँहरूले यसरी प्रश्न सोध्नुपर्ने आवश्यकता पनि अन्त्य हुनेछ। त्यसमा हाम्रो मतैक्य भएन भने महाधिवेशनमा त वैचारिक संघर्षहरू हुन्छन् र महाधिवेशनले गर्ने निर्णयले पार्टीको भविष्यलाई निर्धारण गर्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.