|

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरू प्रकट भइरहेको दाबी गरेका छन्। 

शनिबारबाट काठमाडौंमा सुरू भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन्। 

उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्याए। अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि बिस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए।

सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त परियोजनाहरू प्रस्तुत गर्ने तयारी भइरहेको पनि बताए। 

‘अहिले हाम्रा सबै आर्थिक सूचक सकारात्मक छन्। त्यसमा कुनै समस्या छैन। आन्तरिक सूचकहरू पनि सकारात्मक नै रहेका छन्। ब्याजदर घटेको छ । सेयर बजार उकालो लागेको छ। आर्थिक गतिविधि पनि बिस्तारै बढिराखेको छ । अहिले पोजेटिभ न्यारेटिभ्स विकसित गर्न जरुरी छ । अहिलेसम्म हामी धेरै  नेगेटिभ कुराहरू गर्‍यौं। त्यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर भयो।’ अर्थमन्त्री महतले भने, ‘अहिले सूचकहरू सकारात्मक भइरहेको अवस्थामा हाम्रो व्यापार, व्यवसायको कन्फिडेन्स बढछ। उपभोक्ताहरूको पनि कन्फिडेन्स बढ्छ । त्यसले लगानी बढाउँछ । नेपालमा लगानी गर्न सक्ने नेपालीहरू छन् । उनीहरूले नेपालमा गर्न नसक्ने भन्ने केही पनि छैन। त्यसकारण मलाई लाग्छ अब यो उपयुक्त समय हो कि पोजेटिभ न्यारेटिभ्सका साथ अगाडि बढौं । र, आत्मविश्वास जगाऔँ । बाहिरबाट पनि नेपालमा लगानी गर्न यथेष्ट इच्छाहरू प्रकट भएको छ । भारत, अमेरिका, चीनलगायतका देशहरु पनि नेपालमा लगानी गर्न धेरै इच्छुक छन् ।’

मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउन आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.