|

धनकुटा : छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ। जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याउन लागिएको हो।

संघीय सरकारको १६ करोड २३ लाख रुपैयाँ लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ। उक्त खानेपानी आयोजनाबाट एक हजार २९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए।

सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यो आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ। गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलब्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने उनको भनाइ छ।

खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यो आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शंकर ओझाले जानकारी दिए। २०७९ माघमा दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको थियो। हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले बताए।

योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्यांकी र चारवटा सुरक्षा भवनको काम सकिएको उनले जानकारी दिए  काम गरेको दुई करोड ५० लाख रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको गुनासो उनले गरे।

बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुङ्गो नभएकाले काम रोकिन लागेको अधिकारीले जानकारी दिए। ‘खानेपानी विभागले बजेटको टुङ्गो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ’, उनले भने, ‘समयमा बजेट उपलब्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौमा खानेपानी परीक्षण हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.