|

कृष्णा पौडेल

लिमी : ट्रयाक खोलेको १० वर्ष बित्दा पनि हुम्लाको लिमी–लाप्चा सडकखण्डको स्तरोन्नति हुन सकेको छैन। चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमीसम्मको बाटोको ट्रयाक २०७० सालमा खोलिएको हो। एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै छ।

मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीप बाहेक त्यस खण्डमा सार्वजनिक सवारीसाधन चल्दैनन्।

स्थानीयले प्रयोग गर्दै आएको बाटोलाई आधार मानी २०६७ सालको भदौमा मोटरबाटो खन्न शुरु गरिएको थियो। जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ वर्ष लगाएर लाप्चा–केरमी सम्मको ७८ किलोमिटर सडकखण्डको ट्रयाक खोलिएको थियो।

तत्कालीन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुःखका साथ ट्रयाक खोलिए पनि त्यसयता बाटोको स्तरोन्नतिमा कुनै पनि सरकारको ध्यान नपुग्दा स्थानीय बासिन्दा सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको गुनासो गर्छन्।

लामाले भने, ‘शुरुमा नेपाल सरकारको १ करोड र ३ वटा गाविसले २० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँमा बाटोको ट्रयाक खोल्ने काम गरिएको थियो। २०६७ साल भदौ अन्तिम सातामा पोखराको एचए कन्स्ट्रक्सनबाट भाडामा ल्याएको डोजरलाई तातोपानी नाका हुँदै लाप्चा नाकामा पुर्‍याइएको थियो। त्यसपछि ल्हासामा चिनेका साथीहरूबाट एक ट्रक तेल उधारोमा ल्याएर हामीले बाटो खन्न शुरु गरेका थियौँ।’

सबै काम मान्छेलाई नै लगाउनुपर्छ भन्ने मान्यता बोकेको तत्कालीन समयको त्यो समुदायले मान्छेले गर्ने काम मेसिनलाई दिए भनेर विरोध गरे। आफूमाथि आक्रमण भएको उनी सम्झन्छन्।

‘मान्छेले काम गर्ने पैसा डोजरलाई दियो भनेर राति आक्रमण भएपछि साथीहरू भागेर प्रहरीको शरणमा पुगे। म सिमकोटमा थिएँ। आक्रमण भएको थाहा पाएपछि ज्यानको सुरक्षाका लागि म मानसिक रूपमा तयार भएर आएको थिएँ। त्यहाँको स्थानीयको बुझाइ बाटो खनेको ज्यालाभन्दा पनि इन्जिनीयरलाई गोदेपछि चामल बढी पाइन्छ भन्ने थियो। बाटो खन्ने क्रममा केही इन्जिनीयरलाई बाँधेर गोद्ने काम पनि भयो।’

कतिपय मान्छेले बाटो आउनै सक्दैन भनेर भड्काउँथे। द्वन्द्वरत समय भएकाले बाटो निर्माणमा राजनीतिक अवरोध धेरै भयो। बाटो खन्ने मेसिन बिग्रिँदा १ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टरमा मिस्त्री ल्याउनुपरेको सम्झन्छन् उनी।

डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ। तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो। तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा नै रह्यो। नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ।

कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका वेला लिमी–लाप्चा सडकखण्डमा गाडी चलाउँदै आएका सवारीचालक तिलक खप्तडी मगर जोखिमपूर्ण सवारी चलाउनु परेको बताउँछन्। ट्रयाक मात्रै खोलिएको पहाडी बाटोमा पर्ने दर्जनभन्दा बढी हिमखोलामा साँझमा पानीको सतह बढ्ने र बहाव दह्रो हुँदा गाडी नै बगाउने खतरा पनि हुने गरेको सम्झन्छन्।

उनले भने ‘बाटोको अवस्था ठिक छैन। हिल्सातिर ठिकै छ, लिमीलाप्चातिर चाहिँ लास्टै असहज छ। बाटोमा खोलाहरू छन् ठूला ठूला गाडी नै बगाउने जस्तो। पुलहरू पनि छैनन्। डबल गाडी क्रस गर्ने बाटो पनि छैन। एकदमै असहज छ।’

ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशामा बसेका लिमीवासीहरू अहिले पनि पैदलयात्रा गरी सदरमुकाम आउन बाध्य छन्। चुनावका वेला मत माग्न गाउँ पुग्ने नेताहरू ५ वर्ष फर्किंदैनन्। मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो तर लिमीवासीको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन।

मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन्। हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.