|

पाल्पा : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले अहिलेको सरकारले गरेका कमी कमजोरीको दोष आफ्नो पार्टीले नलिने बताएकी छन्।

नेपाल प्रेस युनियन पाल्पाले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले लिनुपर्ने बताएकी हुन्।

अहिलेको सरकार गठबन्धनको हो। कांग्रेसबाट मन्त्री बनेकाहरूले पनि सन्तोषजनक काम नगरेको भन्दै उनले असन्तुष्टि पोखिन्। एक वर्षसम्म जनताले महसुस गर्ने गरी यो सरकारले काम गर्न नसकेको आरोप लगाइन्।

‘कांग्रेसबाट सहभागी मन्त्रीलाई पार्टीका नेताले समेत सुझाव दिएका छैनन्। सरकारमा सहभागी मन्त्रीहरूले पार्टीसँग पनि कुनै सरसल्लाह गरेको पाइँदैन’, उनले भनिन् ‘व्यक्तिवादी सोचबाट काम गरिरहेका हुँदा उनीहरूले गरेका गल्तीको जिम्मेवारी पार्टीले लिँदैन।’ 

राम्रो कामको जस माओवादीले लिएको छ। नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था छ। गठबन्धनका नाममा पहिलो पार्टी बनेको कांग्रेस सरकारमा भूमिकाहीन जस्तै भएको उनले बताइन्।

कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनले त्यसको संकेत गरेको संग्रौलाले दाबी गरिन्। निर्वाचनअगाडि गठबन्धन गर्न नहुने उनले जिकिर गरिन्। बहुमत कुनै पार्टीको आउँदैन। निर्वाचनपछि मापदण्डका आधारमा गठबन्धन गर्नुपर्ने उनले पार्टी नेतृत्वलाई सुझाइन्। 

आजदेखि पाल्पामा पनि समुदायमा कांग्रेस अभियानको थालनी भएको छ। उनी पाल्पामा सुपरीवेक्षक प्रतिनिधिको रूपमा खटिएकी छन्। जनताका गुनासो र सुझाव संकलन गरेर पार्टीको महासमिति बैठकमा लैजाने उनले बताइन्। जनताकै कुरा सुनेर जस्ताको तस्तै पुर्‍याएर छलफल गर्ने उनले बताइन्। जनताले दिएको सुझावका आधारमा वर्तमान सरकारले गरिरहेका गतिविधिबारे गम्भीर समीक्षा हुनेछ। त्यसैका आधारमा सरकारलाई गति दिइने नेतृ संग्रौलाले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.