महालक्ष्मी-नख्खुपुल सडक मर्मतमा बेवास्ता

|

काठमाडौँ : सबैलाई लाग्न सक्छ- काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा चिरिच्याँट्ट सडक छन्‚ चिल्ला सडकमा सवारीसाधन गुड्छन्।

यसरी सोचेजस्ता उपत्यकाका सडक न त चिल्ला छन् न समयमै मर्मत भएका छन्।

७ वर्षदेखि ललितपुरकै ललितपुर महानगर-१४ स्थित स्वाभाहिटी नंखुडोल मार्ग अर्थात् महालक्ष्मी चोक–नख्खुपुल सडक जीर्ण छ‚ सडकमा खाल्डैखाल्डा छन्। धुलो त्यस्तै। यही सडकबाट स्थानीय र त्यहाँ बाटो हुँदै हिँड्ने सवारीचालक होस् या सर्वसाधारण‚ सबै आजित छन्। मर्मतमा संघ न प्रदेश न स्थानीय तहले नै चासो देखाए। 

स्थानीय रमेश बस्नेतका अनुसार २०७२ को भूकम्पपछि करिब १३ सय मिटर सडकको हाल बेहाल छ। सडककाे पिच उप्किएको छ। ‘सडकमा खाल्डैखाल्डा छन्, दुर्घटनाको जोखिम उस्तै छ, टिपर गुड्दा धुलोधुँवाले बस्नै सकिँदैन। हामीले एकपटक रोक्न खोज्दा झडप नै भयो। अन्त सबै ठाउँमा पिच भइसक्यो‚ हाम्रो गाउँ अझै उस्तै छ’, उनले भने। 

    जीर्ण महालक्ष्मी चोक–नख्खुपुल सडक

यो सडक पिच गर्नका लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा चासो नै नलिएको उनको गुनासो छ। ‘स्थानीय तहमा, सडक डिभिजन कार्यालय ललितपुर हरिहरभवनमा १२ पटकभन्दा बढी पटक धायौँ, ध्यानाकर्षण गरायौँ तर केही वास्तै गरेन’, उनले भने, ‘पम्फा भूसाललाई भेट्यौँ तर केही भएन, खाली बजेट छैन भन्दै सबै पन्छिए।’

उनका अनुसार उक्त सडक चापागाउँ लगायत ठाउँमा जोडिन्छ। धेरै सकस भएपछि केही दिनअघि स्थानीयले आफैँ माटो ल्याएर खाल्डा पुरेको उनले जानकारी दिए। उनका अनुसार झनै वर्षातको समयमा यो सडकमा सवारीसाधनमा होस् या पैदल होस् आवतजावत गर्न सकिँदैन। तत्काल सडक पिच हुनुपर्ने स्थानीय बासिन्दाको माग छ।

यी सडकमात्रै हाेइन पासाङल्हामु शेर्पाको सालिकबाट छुट्टिने चुच्चेपाटी–आरुबारी सडकखण्डको हालत पनि यस्तै छ। वर्षौदेखि सडक पिच नहुँदा सडक खाल्डाखुल्डीमा परिणत भएका छन्। बीच बीचमा सडक पिच भए पनि अझै उक्त सडक खण्डको तीनचुली चोकदेखि आरुबारीसम्मकै सडक पिच भएको छैन।

मर्मतका लागि सरोकारवाला कुनै निकायको ध्यान जान सकेको छैन। उक्त सडक चावहिल, चुच्चेपाटी आरुबारी हुँदै काठमाडौँ मेडिकल कलेज (अत्तरखेल), गोकर्ण, सुन्दरीजल लगायतसँग निस्किने बाटो हो। यो सडकमा  बढी मात्रामा टेम्पो चल्छ। 

पिच भएका सडक भासिने

उपत्यकाभित्रकै पिच भएका व्यस्त सडक भने भासिने गरेका छन्। गत शुक्रबार बानेश्वरको मध्य सडक नै भासिएर फस्यो बस, धन्‍न जोगिए यात्रु
नयाँ बानेश्वर हाइवेमै सडक भासियो। बानेश्वर चोकनजिकै एभरेष्ट बैंकअगाडिको सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका वेला शुक्रबार बिहान १० बजे भासिएको थियो।

मूल सडकमै गुडिरहेको उक्त बस एक्कासि सडक भासिएपछि भासमा एकातर्फका चक्का फसेर बस नै कोल्टे पर्‍यो। बस फसेर कोल्टिनेबित्तिकै बसमा सवार सबै यात्री र चालक भने सकुशल निस्किन सफल भए। पछि बस निकालियो र सडकको मर्मत भयो।

यसैगरी २०७९ कात्तिकमा पनि नयाँ बानेश्वर चोकअगाडिको मूल सडकको बीचमा ठूलो भ्वाङ पर्‍याे। त्यहाँ खटिएका ट्राफिक प्रहरीका अनुसार पहिला सडक भासिएको थिएन। माइतीघर मण्डलातर्फ स्कुटर जाँदै गर्दा सडक भासियो। त्यस वेला सडक प्वाल परेर स्कुटरको अगाडिको भाग भाँचियो।

एस्काभेटर ल्याएर खन्दा एक मिटर गोलाइ र करिब पन्ध्र फिट जतिको खाल्डो देखिएपछि खाल्डो पुर्न एक साताभन्दा बढी समय लागेको थियो। यसरी नै पटकपटक भासिन्छन् राजधानीका सडक। यस्तै घटनाले यहाँको सडक निर्माणको गुणस्तरमा लापारबाही भए पनि राज्यले अनुगमन गरी कमी कमजाेरी बाहिर ल्याउन सकेको छैन।

पूर्वाधारविद् सूर्यराज आचार्यका अनुसार वर्षाको समयमा पानी सडक भित्र छिर्छ। त्यो पानीले भित्रभित्रै कुलो बनाएको हुन्छ र सुक्खाको समयमा माटो आफैँ झर्दै जान्छ। त्यसपछि सडक भासिन्छ।

सडक भासिने समस्याको दिगो समाधान पनि छ। ‘ढल राख्नुभन्दा पहिला नै सडकभित्र चुहिएको पानी निकास दिने व्यवस्था गर्नुपर्छ, ढल र खानेपानीको पाइप राख्दा राम्रोसँग जोड्नुपर्छ, गुणस्तरीय पाइप हाल्नुपर्छ। यसो गरेमा सडक भासिने सम्भावना कम हुन्छ तर त्यसो गरेको पाइँदैन’, उनले भने।

यसैगरी सडक विभागका पूर्व महानिर्देशक अर्जुनजंग थापा ढलका कारण अधिकांश सडक भासिने गरेको सुनाउँछन्।

सडक डिभिजन भन्छ : ठेक्का प्रक्रियामा छ

महालक्ष्मी चोक–नख्खुपुल जीर्ण सडकको निर्माण र पिचबारे महानगरपालिका-१४ वडाका अध्यक्ष अमृतजंग महतसँग सम्पर्क हुन सकेन। सडक डिभिजन ललितपुरका सूचना अधिकारी रिकेश महर्जनले भने ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

‘ठेक्का दिन हामीले सूचना जारी गर्न लागेका छौँ, यो काम अब छिट्टै हुन्छ’, उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.