नतिजाभन्दा प्रदर्शनमा सुधार गर्नुपर्ने अवस्था

|

ललितपुर : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको छ।

समूह डीबाट तेस्रो हुँदै सुपर सिक्समा पुगेको नेपाल बंगलादेश र भारतसँग खेल्न बाँकी छँदै सेमिफाइनल पुग्ने अवसरबाट वञ्चित बनेको छ।

भारत र पाकिस्तानले सुपर सिक्सका पहिलो खेलमा नै बाजी मार्दा नेपाल अबका दुवै खेल जिते पनि सेमिफाइनलमा पुग्ने छैन। 

सुपर सिक्समा पुग्नुअघि समूह चरणमा २–२ खेल जितेर ४–४ अंक बटुलेका भारत र पाकिस्तानले मंगलबारको जितसँगै ६–६ अंक बनाएका छन्। 

सुपर सिक्समा भारतले न्युजिल्याण्डलाई २१४ रनले हराएको छ भने पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गरेको छ। 

सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्नेछ।  बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक मात्र हुनेछ। तर भारत र बंगलादेश बलिया टोली भएकाले यसै ठोकुवा गर्ने अवस्था रहँदैन। 

यद्यपि प्रशिक्षक जगत टमाटा अफगानिस्तानलाई हराएपछि मनोबल बढेकाले नेपाली खेलाडीले अप्रत्यासित नतिजा ल्याउन सक्नेतर्फ सकारात्मक छन्। ‘केटाहरूले पूरै इफोर्ट लगाएर खेलीरहेका छन्’, उनल भने, ‘आशा छ ​बंगलादेश र भारतसँग पनि राम्रो नतिजा दिनेछन्।’ 

प्रतियोगिताबाट बाहिरिएपनि नेपालका लागी भने भारत र बंगलादेशसँग खेल्न पाउनु ठूलो अवसर हुने विश्लेषक बताउँछन् । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी संजम रेग्मी खेलको नतिजा जे भए पनि भारत र बंगलादेशसँग खेल्न पाउनुलाई अवसरका रूपमा लिनुपर्ने बताउँछन्। 

अर्का पूर्व राष्ट्रिय खेलाडी विकास दली यू-१९ को नेपाली टोलीको प्रदर्शनबाट सिनियर टोलीका लागी आवश्यक जनशक्ति विकल्पका रूपमा तयार हुने बताए । उनले सुपर सिक्समा पुग्नुलाई पनि महत्त्वपूर्ण अवसरका रूपमा लिए। ‘नेपाली टोलीले राम्रो खेल्ने प्रयास गर्नुपर्छ।, समूह चरणमा गरेका गल्ती नदोहोर्‍याई टिकेर खेल्नुपर्छ’, उनले भने। 

नेपालसँगै न्युजिल्याण्ड र आयरल्याण्ड पनि यो समूहको सुपर सिक्सबाट औपचारिक रूपमा बाहिरिसकेका छन्।

सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलबाट उति नै अंक सहित पाकिस्तान दोस्रो स्थानमा छ । भारतको भन्दा पाकिस्तानको नेट रनरेट कम छ ।

बंगलादेश दुई खेलमा २ अंकसहित तेस्रो स्थानमा रहँदा न्युजिल्याण्ड ३ खेलमा २ अंक सहित चौथो स्थानमा छ। नेट रनरेटमा बंगलादेश अगाडि छ।

यता नेपाल भने २ खेलमा अंकविहीन हुँदै पाँचौँ स्थानमा छ। कुनै अंक नभएको आयरल्याण्ड ३ खेल खेल्दै पुछारमा छ।​ आयरल्याण्ड नेपालभन्दा रनरेटमा पछि छ। आफ्नो समूहबाट सुपर सिक्समा पुगेका टोलीबीचको मात्र अंक सुपर सिक्समा गणना गर्ने आईसीसीको प्रावधान छ। 

समूह डीमा अफगानिस्तानलाई हराएर आए नेपाल अंकविनै सुपर सिक्समा पुगेको हो। न्युजिल्याण्डले हराएको नेपाल सुपर सिक्समा पुगेकाले उसको खातामा २ अंक छ। 

नेपाल र न्युजिल्याण्ड हराएको पाकिस्तानसँग सुपर सिक्समा पुग्दा उसँग ४ अंक थियो। 

भारत, बंगलादेश र आयरल्याण्ड समूह एबाट सुपरसिक्समा पुगेपनि नेपाले भने सो समूहको विजेता भारत र उपविजेता बंगलादेशसँग खेल्नुपर्ने छ। 

यो सुपर सिक्सबाट शीर्ष दुई टोली सेमिफाइनलमा र अर्को श्रीलंका, वेष्ट इण्डिज, जिम्बाबे, दक्षिण अफ्रिका, इंगल्याण्ड र अष्ट्रेलिया रहेको सुपरसिक्सको समूहबाट दुई शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.