|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई स्वदेशमै रोक्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। शिक्षा र रोजगारीका लागि युवा पलायनको क्रम बढेको भन्दै प्रधानमन्त्रीले उनीहरूलाई यहीँ रोक्ने कार्यक्रम ल्याउनुपर्ने बताए।

कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभामा उनले रोजगारी प्रवर्धन गर्ने कार्यक्रम ल्याउनुपर्ने तर्क गरे। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुशी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्य  हासिल गर्न नसकिने उनले बताए। ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ’, उनले भने, ‘जुनसुकै उपाय  अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ। उत्पादकत्व बढाउनुपर्छ।’

उनले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए। विश्वविद्यालयले देशैभरि सबै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठवटा कृषि संकाय र एक वनविज्ञान संकायअन्तर्गतका कलेज र दुईवटा कृषि विज्ञान केन्द्र स्थापना गरी सञ्चालनमा आएकोप्रति उनले खुशी व्यक्त गरे। 

विश्वविद्यालयले गरिराखेको शिक्षण अनुसन्धान क्रियाकलाप, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्य, भौतिक पूर्वाधार र कलेज विकासजस्ता कार्यलाई दिगोरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरे।

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न वि.सं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.