|

इलाम : नेपाली यू–१९ राष्ट्रिय टोली बंगलादेशको ढाकामा हुने साफ यू–१९ च्याम्पियनसिपको लागि आज उड्दैछ। एन्फाले सोमबार राष्ट्रिय टोलीमा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरेको छ।

खेलाडीसँगै नेपालबाट प्रतियोगितामा सहभागी हुने फिफा रेफ्री अन्जना राई र सहायक रेफ्री राधिका शाक्यलाई बिदाइ गरेको थियो। तर, हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद शाक्य बंगलादेश जान पाइनन्। उनलाई एयरपोर्टबाटै फर्काइएको छ। कारण अध्यक्ष पंकज विक्रम नेम्वाङलाई जवाफ फर्काएको।

‘विमानस्थलमा आएर बल्ल थाहा पाएँ मेरो नाम काटिएको रहेछ भनेर। कारण चाहिँ के हो थाहा भएन उहाँहरुलाई मेरो नाम क्यान्सिल गरेको जानकारी गराउनुभएन। एयरपोर्टबाट फर्किनुपर्‍यो। कारणहरु त्यस्तो केही पनि छैन। तर, पनि केही खबर नै नगरीकन मेरो नाम काटिएको रहेछ’ उनले भनिन् ‘स्थानीय प्रतियोगिता भए त केही फरक पर्दैनथ्यो। तर, अन्तर्राष्ट्रिय अवसर गुमाउनु पर्दा दुःख लाग्यो।’

के कारणले क्यान्सिल गरिएजस्तो लाग्छ? भन्ने थाहाकर्मीको प्रश्नमा उनले भनिन्, ‘बुधबार बिदाइ कार्यक्रमको समापनपछि म तल गएको थिएँ। सबै खेलाडी र अफिसियलहरु भने फोटो खिचेर बसिरहेका थिए। पछि म, इन्दु (दुवाल) र अन्जना कुरा गरिरहको बेला अध्यक्ष आएर आक्रोशित मुद्रामा तँ नबोल् भन्नुभयो’ शाक्यले घटना सुनाइन्, ‘ अध्यक्षको यस्तो शब्दपछि मैले पनि म किन नबोल्ने? भनेर जवाफ फर्काएको हो। उहाँलाई कोसँग रिस उठेको थियो मलाई पोख्नुभयो।’

राधिकाले बंगलादेश अघि सिनियर र उमेर समूहको विभिन्न अन्तर्राष्ट्रिय खेलहरु समेत खेलाएकी छन्। घटनाको बारेमा एन्फा महासचिव किरण राईलाई सोध्दा आफूले यस बारेमा बुझ्ने बताए। ‘अनुशासन उल्लंघनको घटना भन्ने सुनेको हो। थप कारणबारे बुझ्दै छु’ उनले भने।

एन्फा भित्रको राजनीतिले विमानस्थलबाट फर्किएको योपहिलो घटना भने होइन। गत फागुनमा रुबान्डामा हुने ७३ औं फिफा कंग्रेसमा सहभागी हुन जाने क्रममा एयरपोर्टबाट एन्फा उपाध्यक्ष विराटजंग शाही समेत फर्किएका थिए।

घर परिवारबाट बिदाइपछि विमानस्थल पुगेका उनको स्थानमा अध्यक्ष नेम्वाङले मणिराज विष्टलाई फिफाको कार्यक्रममा सहभागी गराएका थिए।

एयरपोर्टबाट फर्किपछि शाहीले ४० वर्ष फुटबलमा इमान्दारीपूर्वक गरेको योगदान र अध्यक्षमा पंकजविक्रम नेम्वाङलाई गरेको सहयोगबापत आफूले जीवनको सबैभन्दा ठूलो अपमान भोग्नुपरेको प्रतिक्रिया समेत दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.