बाँदरबाट बच्न बाली फेर्न विज्ञको सुझाव

|

काठमाडौँ : कास्कीकाे पोखरा महानगर-१९ ले बाँदर नियन्त्रणका लागि मंगलबार रूख काट्न उर्दी जारी गर्‍याे।

पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरून्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रूख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रूखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरिन्छ।’ 

उक्त सूचना केही छिनमै सामाजिक सञ्जालमा भाइरल भयो। उक्त सूचनाको कतिपयले खिल्ली उडाए भने पीडितहरूले राम्रो काम भन्दै स्वाबासी दिए। 

महानगरले भने रूख नकाट्न निर्देशन दियो। महानगरका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्माले वडालाई सूचना रद्ध गर्नु भनी लेखिएको पत्रमा भनिएको छ, ‘तहाँ वडा कार्यालयबाट मिति २०८०।१०।१५ मा प्रकाशित भएको रूख काट्ने सम्बन्धी सार्वजनिक सूचना प्रकाशन भएको देखियो। उक्त सूचना अविलम्ब रद्ध गरी रूख कटान गर्ने कार्य बन्द गर्नुहुन अनुरोध गरिन्छ।’

त्यसपछि पुनः पहिला रूख काट्नु भन्ने वडाध्यक्ष पाण्डेले नगरपालिकाको पत्र पाएपछि पत्रानुसार गर्नु भन्दै सार्वजनिक सूचना जारी गरे।  

पछिल्लो समय देशभर बाँदर आतंकले कृषक मारमा परेका छन्। कृषकहरूले यसबाट छुटकारा पाउन सरकारसँग बिलौना गरिरहेका छन्। यो विषय वडादेखि संसद्‌सम्म प्रवेश गरेको छ तर राज्यले नियन्त्रणका लागि प्रभावकारी योजना अझै ल्याउन सकेको छैन। 

किसानलाई आक्रमण, मकै खेती गर्नै छाडे

शहरीकरण र युवाहरू विदेश पलायन हुँदा गाउँघर रित्तिँदै गएका छन्। अधिकांश घरमा बूढाबूढी मात्रै बस्ने गरेका भेटिन्छन्। त्यसैले पनि बाँदर आतंकले ​उनीहरूलाई सताइरहेको छ। बाँदरले अन्नबाली नष्ट गर्ने मात्रै गरेका छैनन्, कृषकलाई आक्रमण पनि गर्न थालेका छन्।

पोखरा महानगर-१९ का ऋषिराम तिवारी बाँदरकै आक्रमणबाट पुस २२ गते घाइते भए। ‘घाँस काट्न जाँदा बाँदरले खुट्टामा आक्रमण गर्‍याे’, उनले भने, ‘उपचारका लागि अस्पताल नै जानुपर्‍याे।’ उनी अहिले बाँदरले केही बाली लगाउन नदिएको बताउँछन्। ‘धान रोपे धान, मकै रोपे मकै, केही बाँदरले बाँकी राख्दैन। हामी कसरी बाँच्ने? युवाहरू गाउँमा छैनन्’, उनले भने।

अरू स्थानीयले पनि मकै, आलु, कोदो केही अन्न लगाए बाँदरकै कारण आधी बाली पनि घरमा भित्र्याउन नपाइएको दुखेसो पोख्छन्। कतिपयले यही आतंकले मकै खेती गर्नै छाडेको बताए। घर वरपरका रूखहरू काट्नुपर्ने उनीहरूको भनाइ छ।

पोखरा महानगर-१९ का अध्यक्ष पाण्डेले वर्षेनि बाँदरको आक्रमणबाट ५-७ जना स्थानीय बासिन्दा घाइते हुने गरेको बताए। सिन्धुपाल्चोकका किसानहरूले बाँदरले विभिन्न खाद्य तथा नगदे बाली खान थालेपछि वैकल्पिक खेती शुरु गरेका छन्।

उनीहरूले परम्परागत बाली जोगाउन नसकेपछि विकल्पमा किवी‚ कागती तथा चिया खेती गर्न थालेका छन्। गुल्मीवासीले बाँदर र बँदेलबाट जोगिन झाडी गर्ने अभियानमा जुटेका छन्।  

किन जंगलबाट बस्तीमा छिरे बाँदर?

वन्यजन्तु वैज्ञानिक प्रा.डा. मुकेशकुमार चालिसेका अनुसार पहिला जनसंख्या कम थियो। सरकारले वनजंगल फँडानी गरेर खेती गर्ने नीति ल्यायो। कृषिमा जोड दियो तर पछिल्लो समय भने जंगल फँडानी गरेर काठ बेच्ने र घर बनाउने प्रवृत्ति बढ्यो।

‘यसै कारण थोरै मात्रै जंगल बाँकी रह्यो, जीवजन्तुको वासस्थान मासियो’, उनले थाहाखबरसँग भने, ‘त्यसपछि कहाँ जाने भन्दा अहिले जहाँ खेती भइरहेको छ, त्यहाँ आएर वासस्थान नै बनाउन थाले।’

उनका अनुसार पछिल्लो समय आम्दानी नभएपछि गाउँका युवाहरू कि त शहरकेन्द्रित भए कि त विदेश पलायन भए। जसकारण खेतीयोग्य जमिन बाँझै भए। ‘खेती गर्नसक्ने जनशक्ति नहुँदा टाढाका खेतीयोग्य जमिन बाँझै भए र घरवरपरका खेतबारीमा मात्रै अन्न लगाउने चलन भयो। त्यसैले पनि बाँदरले दु:ख दिइरह्यो’, उनले भने।

उनले बाँदरहरू किसानहरूले लगाएको अन्नबाली खान पल्किएपछि अन्य जीवजन्तुले पनि त्यही सिको गर्ने गरेको बताए। ‘त्यही देखेपछि अहिले मृगलगायत अन्य जीवजन्तु पनि बाली नष्ट गर्नेमा पल्किए, जहाँ खेतीपाती लगाएको हुन्छ, गन्धले नै जीवजन्तुले त्यो खेतीबारे थाहा पाउँछन्’, उनले भने।

उनले सीमान्तीकृत, विकट गाउँ, कम बस्ती भएका ठाउँमा जीवजन्तुकै कारण उठिवास नै गराएको पाइएको बताए। ‘अहिले जहाँ पनि सञ्चारको पहुँच पुगेको छ, कहीँ बाँदर आएर खायो भने जनप्रतिनिधिलाई जानकारी दिन्छन् र केही उनीहरूले नियन्त्रणबारे काम गरेर देखाउन खोजे। त्यही भएर व्यापक यसबारे चर्चा हुन थाल्यो’, उनले भने। 

उनका अनुसार उक्त आतंकबाट बच्न किसानले बाली फेर्नुपर्ने हुन्छ। जस्तो मकै लगाउने ठाउँमा धान लगाउने‚ सुर्ती, खुर्सानी, अदुवा, बेसारजस्ता बाली लगाउनुपर्छ। 

उनले भने, ‘जहाँ बढी बाँदर हुन्छन्, त्यहाँ बिजुलीको सानो भोल्ट अर्थात् १० भोल्टको बिजुलीको तार लगाउन पनि सकिन्छ। यसो गरे बाँदर तर्सिन्छन्।’ उनका अनुसार बाँदर बस्ने ठाउँको अध्ययन गरी बढी भएमा त्यहाँ स-साना चिडियाखाना बनाएर पनि नियन्त्रण गर्न सकिने बताए। 

संरक्षणविद् डा. उदयराज शर्माले बढी वन्यजन्तुप्रेमी भएर पनि यी समस्या भएको बताउँछन्। हिजो भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा भने, ‘जहाँ गए पनि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ, एक हिसाबले खुसी लाग्यो, दुःख पनि लाग्यो। यही द्वन्द्व बढ्ला भनेर हामीले संरक्षण सूचीमा नभएका वन्यजन्तुलाई मध्यवर्ती क्षेत्रको वनमा सिकार खेल्न पाइन्छ भनेर बनायौँ। यो कुरा नियमावलीमै छ तर प्रयोगमा आउन दिँदैनन्। केही बन्दुक पड्कियो कि आर्मीलाई टेन्सन हुन्छ अनि अधिक वन्यजन्तुप्रेमी भए, यो काम छैन। यस्तोमा बँदेललाई मार्न दिए भयो।’

उनले बाँदर निकासी गरेर पनि नहुने बताए। ‘ल मानौँ तपाईंहरूले १०० वटा बाँदर निकासी गर्नुभयो भने के यो बाँदरको आक्रमण कम हुन्छ?’, उनले भने, ‘त्यस्तो नचाहिँदो कुरा नगर्नुस्, पहिला पनि मैले रोकेकै हो, यदि साँच्चिकै बाँदरले दु:ख दिन्छ भने बाँदरलाई मार्नुस् समस्या छैन,बेच्नुस् सुकुटी बनाउनुस्।’

लेखक अश्विनकुमार पुडासैनीले भने बाँदर नियन्त्रणका लागि बस्ती व्यवस्थित र वन्यजन्तु प्रकृतिमय बनाउँदै लैजाउनुपर्ने बताउँछन्। ‘बाँदरले दु:ख दियो रूख काट्नु यो समाधान होइन, मारेर पनि हुँदैन, निकासी गरेर बन्ध्याकरण गरेर पनि हुँदैन, समाधान चाहिँ जो पीडित छन्, ती पीडितहरू त्यो क्षेत्रमा पुगेर अवस्था के छ भनेर त्यो हेरेर सांस्कृतिक परम्परागत कुरा छन्, त्यसलाई ध्यानमा दिएर के-हो त समाधान भनेर हेर्न गर्नुपर्‍याे’, उनले भने।

उनका अनुसार यसका लागि अन्य विभिन्न समाधान पनि छन्। ‘पछिल्लो समय बहस आएको छ, ऐनले बाँदर मार्न दिँदैन, अब पाउने ऐन बनाउनुपर्छ, युरोपमा यति प्रतिशत बँदेल मार्न सक्ने भन्ने छ। त्यो हामीलाई केही ठाउँमा उपयुक्त हुने हो कि? तर त्योभन्दा ठूलो कुरा चाहिँ हाम्रा बस्ती व्यवस्थित र जतिसक्दो धेरै चाहिँ वन्यजन्तु प्रकृतिमय बनाउँदै जानुपर्छ’, उनले भने।

पोखरा महानगर-१९ का अध्यक्ष पाण्डेले पनि जंगलमा भएका खानेकुरा मासिँदा बाँदर बस्तीतिर छिर्न थालेको बताउँछन्। उनले भने, ‘पहिला वनमै काफल, लगायत खानेकुरा थिए र वनमै रमाउँथे तर अहिले त्यो छैन। अहिले हाम्रै घरवरपर वासस्थान बनाए।’ यसै कारण उनले रूख काट्ने अभियान चलाउन लागेको उनको भनाइ छ।

‘वडाको सूचना चर्को रूपमा बुझेजस्तो लाग्यो’, उनले भने, ‘हामीले करेसाबारी नजिकका रूख काटने भनेका हौँ। रूखमा बस्दा बाँदरले दुःख दिए, टेर्दैन। भुइँमा भए धपाउन सहज हुन्छ,रूख काट्ने मात्रै भनेका छैनौँ, अरू काफल, लप्सी, केरा छेउछाउमा रोप्ने अभियानमा जुटेका हौँ।’

बाँदर नियन्त्रणका लागि भारत जाँदै सांसद

संसद्‌मै माग उठेपछि सांसदहरू बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरूको जम्बो टोली नै भारतको हिमाञ्चल राज्य जाने भएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालले भारत जान नामावली तयार भइसकेकाे जानकारी दिए तर कहिले जाने भन्ने मिति नताेकिएकाे उनले बताए।

उनका अनुसार उक्त टोलीमा १८-१९ जना सांसद रहनेछन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन् तर समय भने तोकिएको छैन।

केही समयअघिको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाँदरका कारण किसानको बाली नष्ट गरेर हैरानी खेप्न बाध्य भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने माग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.