|

संखुवासभा : संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगरलाई हिजो बुधबार र खाँदबारी–११ खर्तुवाकी गर्भवती सपना राईलाई आज हवाई उद्धार गरी काठमाडौं लगिएको छ। गर्भवती राईको पेटभित्र बच्चा मृत भेटिएको र अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जिल्ला अस्पताल संखुवासभाका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। गर्भवती राई आज बिहान अस्पताल भर्ना  भएकी थिइन्।

त्यसैगरी सुत्केरी मगर र बच्चामा स्वास्थ्य समस्या भएपछि थप उपचारका काठमाडौं लगिएको छ। सुत्केरी मगरको शल्यक्रियामार्फत बच्चा निकाएर आइसियू र भेन्टिलेटरमा राखिएको थियो। बच्चाको अवस्था झन् जटिल हुने थालेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको मेडिकल अधिकृत आचार्यले बताए।

जिल्लामा हालसम्म १९ जनाभन्दा बढीको सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले जानकारी दिइन्। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पताल पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.