|

काठमाडौं : बबरमहलदेखि नयाँ बानेश्वरसम्मको सडकको जेब्रा क्रसमा मात्रै होइन, सडक किनाराको ब्लकमा समेत रंग लगाएर चिरिच्याट्ट पारिएका छन्। पुस १७ गते नै बबरमहलको सडक किनाराका ब्लकमा कलर लगाएर सजाइएको थियो।

तर पैदलयात्रुहरूको जीवनसँग जोडिएको जेब्रा क्रसको भने बेवास्ता गरिएको छ‚ जसको उदाहरण हो काठमाडौं उपत्यकाभित्रका जेब्रा क्रसको संकेत मेटिए पनि ती संकेतको मर्मत नगरिनु‚ तिनमा रंग नलगाइनु।

जुन क्षेत्रबाट धेरैभन्दा धेरै भिआइपी सवारी हुन्छन् उक्त क्षेत्रमा मात्रै सडक रंग्याउने कामदेखि तीव्र गतिमा सडक मर्मतको काम भएको देखिन्छ तर जहाँ थोरै भिआइपी सवारी हुन्छ, पैदलयात्रु भने अत्यधिक हिँड्छन् ती क्षेत्रलाई भने खासै प्राथमिकता​ दिइँदैन।

एक साताअघि नयाँ बानेश्वरको सडक नै भासिएर बस फस्यो र उक्त क्षेत्रमा तत्कालै सडक मर्मत भयो। यता धोबीखोला करिडोर सडक जीर्ण बन्दै गयो। ठाउँठाउँका ढलका मंगाल बिग्रिएका महिनाैँ भइसक्याे। सवारीचालकहरू जोखिम मोलिरहेका छन्‚ तै पनि मर्मतमा कुनै निकायले वास्ता गरेको छैन।

पैदलयात्रुलाई सुरक्षित ढंगले सडक पार गर्न बनाइएको संकेत हो, जेब्रा क्रस। कतिपय ठाउँका ती जेब्रा क्रस मेटिएका छन्‚ नमेटिएका ठाउँमा पनि सवारीसाधन दगुर्दा खिइएर नदेखिने भएका छन् र सडक पार गर्न सकस पर्छ पैदलयात्रीहरूलाई।

काठमाडौं उपत्यकाको जोरपाटी चोक, अरब बैंक, बौद्ध पिपलबोट, चावहिल चोकलगायतका जेब्रा क्रस खुइलिएर कुनै संकेत देखिँदैन। जसकारण पैदलयात्रुहरू ज्यानको जोखिम मोलेर सडक पार गर्न बाध्य छन्। 

चावहिल चोकमा भेटिएकी शर्मिला अधिकारीले जेब्रा क्रस मेटिएकाले ज्यान नै जोखिममा पारेर सडक पार गर्नुपरेको भन्दै गुनासो पोखिन्। ‘जेब्रा क्रसबाट सडक पार गर्नुपर्छ भन्छन्, सुरक्षित हिसाबले पार गर्न जेब्रा क्रसको प्रयोग गर्नु आवश्यक छ तर खै त्यसको कुनै संकेत नै देखिँदैन मेटिएर,’ रंग सबै मेटिएको जेब्राक्रसिङ देखाउँदै उनले भनिन्।

सरकारले नै चासो नदिएका कारण हालसम्म पनि जेब्रा क्रसको मर्मत नभएको उनले बताइन्। ‘घरबाहिर निस्कियो कि कहाँनिर कतिखेर के भएर ज्यान जान्छ, केही भर नै छैन,’ उनले भनिन्।

उनका अनुसार बढी भिडभाड हुने मुख्य चोकहरूमा आकाशेपुल आवश्यक छ तर सरकार पुल बनाउन चासो दिँदैन। बौद्ध र जोरपाटी चोकमा आकाशे पुल आवश्यक भए पनि सरकारले नबनाएको उनको भनाइ छ। 

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा आकाशेपुल आवश्यक रहेको भन्दै आर्थिक वर्ष ०७६/७७ को वार्षिक योजना तथा कार्यक्रममा जोरपाटी चोकमा आकाशेपुल निमार्ण गर्ने योजना समेटेको थियो। आकाशेपुल बनाउन २ करोड रूपैयाँ बजेट पनि विनियोजन गर्‍यो तर अझै बनेको छैन।

यस्तै, नगरपालिकाले आव ०७७/७८ को नीति तथा कार्यक्रममा पनि जोरपाटी चोकको आकाशेपुल निर्माणलाई तीव्रता दिने योजना अघि सारेको थियो।

नगरपालिकाले यसका लागि डिपिआर तयार भएर सार्वजनिकसमेत गरेको थियो तर हालसम्म पुल भने बनेको छैन। पुल नबन्दा पैदलयात्रुलाई सडक पार गर्न समस्या छ।

जेब्रा क्रसमा समेत तीव्र गतिमा सवारीसाधन हुइँकिदा सवारी दुर्घटना हुने गरेकाले अकालमै पैदलयात्रुको ज्यान पनि गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष ०८०/८१ को तथ्यांकअनुसार साउनदेखि पुस ७ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ९५१ सवारीसाधन दुर्घटना भएका छन्।

जोरपाटी अरब बैंकअगाडिको मेटिएको जेब्रा क्रस

यसमध्ये १४ जेब्रा क्रसमा १५ वटा सवारी दुर्घटना भएका छन्, जसमा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते र १५ जना सामान्य घाइते भए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मेटिएका जेब्रा क्रस सडक विभाग र सम्बन्धित स्थानीय तहले मर्मत गर्नुपर्ने बताए। 

सडक डिभिजन भन्छ- जेब्रा क्रस मर्मत गर्छौं

सडक विभागका प्रवक्ता रामहरि पोखरेलले विभागले जेब्रा क्रस मर्मतको काम नगर्ने बताए। ‘यो विभागले गर्ने काम होइन,सडक डिभिजनले गर्ने हो,’ उनले भने। सडक डिभिजन काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले मेटिएका जेब्रा क्रस मर्मत गर्ने प्रतिबद्धता जनाए।

‘जहाँ जहाँ जेब्रा क्रसका संकेत मेटिएका छन्, त्यहाँ मर्मत हुन्छ, यो काम रोकिएको छैन। अहिले पनि विभिन्न ठाउँमा काम भइरहेको छ,अब केही दिनमै चावहिल क्षेत्रमा पनि मर्मत गर्छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.