पार्किङ खुला गरेपछि निर्माण कम्पनीले माग्यो क्षतिपूर्ति !

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्माणाधीन धरहरामा निःशुल्क पार्किङ शुरु गरेपछि निर्माण कम्पनीले क्षतिपूर्ति माग गरेको छ। पार्किङले काममा बाधा पुगेको भन्दै निर्माण कम्पनीले क्षतिपूर्तिको लागि शहरी विकास मन्त्रालयमा पत्राचार गरी क्षतिपूर्ति मागेको मन्त्रालयले जनाएको हाे।

महानगरपालिकाले पुसमा धरहरा पुनर्निर्माणमा खटिएका कामदारहरू बस्दै आएको संरचनामा पनि डोजर चलाएको थियो। शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीका अनुसार धरहराको अझै करिब ८ प्रतिशत काम बाँकी छ।

तर यता महानगरपालिकाले माघ १४ गतेदेखि निःशुल्क पार्किङ खुला गरेको थियो। पार्किङ गर्ने चालकहरूले अत्यन्तै राम्रो काम भएको भन्दै बालेनको तारिफ गरिरहेका छन्।

निर्माण कम्पनी जिआइइटिसी-रमण जेभीले भने काममा बाधा पुगेको भन्दै पार्किङ खुला भएको दिन नै क्षतिपूर्ति मागदाबीसहित पार्किङ रोक्न मन्त्रालयमा पत्र पठायो।

त्यसपछि शहरी विकास मन्त्रालयले महानगरपालिकालाई पत्राचार गरेर नै पार्किङ बन्द गर्न आग्रह गरेको छ। ‘निर्माण कम्पनीले क्षतिपूर्ति माग गरेको छ, काम नै नसकि पार्किङ त खुला गर्न भएन नी!,’ इकाइ प्रमुख अधिकारीले थाहाखबरसँग भने। उनले पार्किङ खुला गर्नको लागि कुनै महानगरबाट पत्र नआएको पनि बताए।

‘धरहरा पुनर्निर्माण भइरहेकोमा सो निर्माण व्यवसायीबाट मिति २०८०/१०/१४ को पत्रबाट काठमाडौं महानगरपालिकाबाट कर्मचारीहरू आई जबरजस्ती ढंगबाट सर्वसाधारणलाई ट्रिपल बेसमेन्टमा पार्किङ खुलाएकोले सो कार्य हाल रोकी पाउँ भन्ने आशयको व्यहोरा लेखी आएको तथा यस इकाईसँग कुनै सम्पर्क र समन्वय नै नगरि तर नि:शुल्क पार्किङ खुल्ला गरियो,’ मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको पत्रमा पनि उल्लेख छ।

मन्त्रालयका अनुसार धरहरा रंगरोगन, पार्किङ प्रवेशद्वारमा विभिन्न छुटपुट कार्यहरू गर्न बाँकी छ। ‘तसर्थ माथि उल्लेखित कार्यहरू सम्पन्न नै नगरी भूमिगत पार्किङ संचालन गर्दा निस्सासिएर मानवीय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका माथिका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधानसमेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माण स्थलमा अनगिन्ती र अनधिकृत व्यक्तिहरू र सवारीसाधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्छ,’ पत्रमा उल्लेख छ।

यस्तै निर्माण सामाग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुन सक्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय अन्योल रहेको मन्त्रालयकाे भनाइ छ।

‘अर्कोतर्फ यस इकाईबाट निज निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको र हाल सोअनुरूप कार्य भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमताअनुसार पार्किङ सञ्चालन गर्न सकिने भएकोले हाललाई निर्माण कार्य नसकुञ्जेल उक्त पार्किङ स्थलको उपयोग गर्ने कार्य तत्काल नगरिदिँदा बाँकी रहेका निर्माण कार्यहरूलाई यथाशक्य चाँडो सम्पन्न गर्न सहयोग पुग्ने हुँदा हाल पार्किङ प्रयोगको कार्यलाई रोकी निर्माण कार्यलाई सुचारू र अवरोधरहित ढंगले अगाडि बढाउन सहयोग गरि दिन हुन हार्दिक अनुरोध छ,’ पत्रमा उल्लेख छ।

‘काम सकेपछि पार्किङ खुला भइहाल्छ’

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख अधिकारीले सबै काम सकेपछि पार्किङ खुला नै हुने जानकारी दिए।

‘अहिले त्यहाँ काम भइरहेको छ, पार्किङ गर्न जाँदा जतिखेर पनि चालकलाई चोटपटक लाग्न सक्छ, त्यसैले अहिले खुला गर्नुहुँदैन, काम सकेपछि पार्किङ खुला भइहाल्छ,’ उनले भने। 

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए। निर्माण कार्य थालेको ५ वर्ष भइसक्दा पनि अझै काम भने सकिएको छैन।

धरहरा निर्माणका लागि जिआइइटिसी–रमन जेभीसँग ३ अर्ब ८ करोड रूपैयाँको सम्झौता भएको छ। आगामी चैतसम्ममा निर्माणको काम सकेर वैशाखदेखि धरहरामा सर्वसाधारणहरू चढ्न पाउने दावी निर्माण कम्पनीले गर्दै आएको छ।

तर पार्किङले काममा बाधा पुगे समयमा काम सम्पन्न नहुने जानकारी निर्माण कम्पनीले मन्त्रालयलाई गराएको उनको भनाइ छ।

बालेन भन्छन्- पार्किङ बन्द हुँदैन 

महानगरपालिकाका प्रमुख शाहले शहरी विकास मन्त्रालयले पार्किङ रोक्न पत्राचार गरेकोमा आक्रोश व्यक्त गरेका छन्। उनले पार्किङ बन्द नहुने सामाजिक सञ्जालमार्फत जानकारी पनि दिएका छन्। 

सरकारले काम नसकेकाे भनेपछि बालेनले भने उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्।

निर्माणाधीन धरहराको काम नै नसकी तत्कालीन प्रधानमन्त्री ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो।

बालेनले भनेका छन्, ‘आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू।’

त्यसाे त  केपी ‌ओलीलाई बालेनको प्रश्न, बन्दै नबनेको धरहरा तीन वर्षअघि नै किन उद्घाटन गर्नुभो?। पार्किङ बन्द गर्नुको साटो अझ व्यवस्थित गर्दै लैजाने उनले बताए।

‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ’, अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ, हामी महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ,’  उनले भने। 

पार्किङ बन्द नगर्ने बालेनले भने पनि यसका लागि हालसम्म केही शहरी विकास मन्त्रालयमा औपचारिक जानकारी नआएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख अधिकारीले जानकारी दिए। 

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.