|

पाल्पा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको बताएका छन्।​

बुधवार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले भने, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए। कांग्रेस पनि जिम्मेवार पार्टी हो। हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ।

इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन। ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उनले बताए।

सत्तामा टिकिरहने सत्तागठबन्धन आबद्ध दलहरूका सोचले मुलुक अप्ठ्यारोमा परेको छ। निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको पोखरेलले आरोप लगाए।

‘विकास निर्माणका काम अलपत्र छन्। ऋण दैनानुदिन बढिरहेको छ। जनता गरिबीले छट्पटिएका छन्। युवा विदेश जान बाध्य छन्’, उनले भने, ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ।’ एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गरे। विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्छ। देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए।

दुर्गा प्रसाईजस्ता वेलाबखत पार्टीमा जन्मन्छन्

दुर्गा प्रसाईजस्ता नेता वेलाबखत पार्टीमा जन्मने उनले बताए। प्रभावित पार्न पार्टीमा आउँछन्। आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गर्छन्। उनी अराजकताको प्रतिनिधि भएको पोखरेलले बताए। उनले थपे, ‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन्।’

यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए। कलात्मक हिसाबले पार्टीमा आउँछन् र धोका दिएर जाने हुँदा आगामी दिनमा यस्ता अराजक नेताप्रति वेलैमाथि सचेत हुन आवश्यक रहेको उनले बताए।

एमालेको नेतृत्वमा बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्छ

नेकपा एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उनले बताए। अन्य दलले भन्दा फरक काम गर्नुपर्छ। जनताको हितमा काम गरिनुपर्छ। जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्न उनले सुझाए। सम्बन्धित विज्ञसँग छलफल गरी स्थानीय तहमा नमुना काम गर्नुपर्छ। जनताले महसुस गर्ने गरी विकास निर्माणका काम हुनुपर्छ। त्यसले पार्टीको जनआधार दरिलो बन्ने उनले बताए।

‘कुराभन्दा काम गर्ने वेला आएको छ। जनताले कामको मूल्यांकन गर्छन्’, उनले भने ‘जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ।’ जितको ठाउँको रक्षा गर्ने र नयाँ स्थानीय तहमा आगामी निर्वाचनमा जित हासिल गर्ने गरी पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्न महासचिव पोखरेलले बताए।

मंगलबारदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिन सञ्चालन हुनेछ। बुधबार एमाले केन्द्रीय सचिव पदमा अर्याल, पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी, केन्द्रीय सदस्य सिर्जना काफ्ले, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य बद्री खनाल लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.