|

बैतडी : बैतडीको पाटन र श्रीकेदारमा निःशुल्क स्वास्थ्य शिविरबाट साढे चार हजार व्यक्ति लाभान्वित भएका छन्। पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा विशेषज्ञसहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको हो।

एकदिने शिविरमा २ हजार १७ जनाले सेवा लिएको आयोजक पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। शिविरमा पाटन, सुर्नया, मेलौलीलगायतका ठाउँका २ हजार १७ जनाले उपचार सेवा लिएका हुन्।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहीमा जटिल समस्या देखापरेकाले उनीहरूको काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग, कृष्ण मावि र पाटन प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा नगरपालिकाको आयोजनामा बृहत् स्वास्थ्य शिविर गरिएको हो। 

यस्तै दोगडाकेदार गाउँपालिका-४ स्थित श्रीकेदार माविमा सम्पन्न विशेषज्ञ सहितको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २ हजार ५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। 

शिविरमा २ हजार ५२२ जनाले उपचार सेवा पाएको आयोजक श्री केदार संस्कृति संरक्षण सामाज पीपलकोटका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। 

यस्तै १०३ जनाको काठमाडौँमा उपचार हुनेछ। शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहीमा जटिल समस्या देखापरेकाले उनीहरूको काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको भट्टले बताए। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृति संरक्षण सामाज पीपलकोटको आयोजनामा बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक रोग, मुटुसम्बन्धी सेवा दिइएको थियो। यस्तै चिकित्सकको परामर्शअनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो। शिविरमा स्वास्थ्य निर्देशनालयले निःशुल्क प्राप्त हुने औषधि दिएको थियो भने काठमाडौँ मेडिकल कलेजका चिकित्सकको टोलीले उपचारमा सहयोग गरेका थिए।

शिविरको उद्घाटन प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.