|

काठमाडौँ : समाज पुरातनवादी सोचबाट आधुनिकतामा प्रवेश गरेको रट्टा हान्नेको कमी छैन। आधुनिकताको भर्‍याङ चढ्दै गर्दा कोही भने यही समयमा अझै पनि शोषण, अवहेलना, तिरस्कारको मार खेप्न बाध्य छन्। 

उनीहरू यही अवहेलनाको संसारमा आफूलाई जेनतेन हुर्काइरहेका छन्। बचाइरहेका छन्। यहाँ शारीरिक सबलता भएका व्यक्तिमाथि त बेलाबेला बर्बरतापूर्ण शोषण भएका घटना भइरहन्छन् भने शारीरिकरूपमा अपांगता भएका व्यक्तिहरूले कस्ता कस्ता जोखिम उठाएका होलान्?

सुन्नु र देख्नुभन्दा ठूलो कुरा हो अनुभव गर्नु तर हामीले उनीहरूको दु:ख र पीडा कल्पना गर्न सक्दैनौँ। अझै पनि उनीहरूलाई  राज्यले सम्मानजनक व्यवस्थापन गर्न चुकिरहेको छ। न समाजले प्रतिष्ठा दिएको छ।

सरकार चुक्दैमा वा समाजले दुरदुर गर्दैमा कोही मान्छे हिम्मत हारिहाल्दैन। नदीलाई बाँध लगाउँदैमा उसले बग्न छाड्ने होइन।

सन्तकुमार तुम्बापो पनि त्यस्तै एक व्यक्ति हुन् जसले आफ्नै बलबुताले आफ्नो र आउने पुस्ताको भविष्यलाई उज्यालो छर्ने अभियानमा अनवरत लागिरहेका छन्।  

केही दिनदेखि उनी सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन्। कारण ‘ऐतिहासिक भोजपुर नगर डबली मेला २०८०’ मा उनका विद्यार्थीहरूले इसाराका भरमा नृत्य गर्दै प्रथम स्थान हासिल गरे। यो उपलब्धिको कथा हो।

यो भन्दा पहिले उनको बाल्यकालमा जाउँ। ​उनी कसरी इसारामार्फत विद्यार्थीहरूलाई प्रथम बनाउन सफल भए?

झापा स्थायी घर भएका तुम्बापो २०५० साल माघ १० गते जन्मिए। बुबा तेजबहादुर तुम्बापो र आमा मनमाया तुम्बापोका छोरा सन्तकुमार सुरुवातमा सामान्य मानिस जस्तै सुन्न सक्थे तर जब एसएलसी पास गरे। उनको जिन्दगीमा बज्र पर्‍यो।

सुन्दासुन्दैको कानले गति भुल्दै गयो। विस्तारै उनमा सुन्न नसक्ने समस्या सुरू भयो। कलेजमा शिक्षक र साथीहरूले बोलेका शब्द बुझ्न महाभारत लाग्न थाल्यो। चिकित्सकले  कानको नसा सुकेको र अब सुन्न सम्भव नभएको बताएपछि उनलाई छाँगाबाट खसेजस्तो भयो।

अरुको आवाज सुन्न छोडेपछि उनी आफूलाई एक्लो पाउन थाले। उनले मन लागेको गीत सुन्न पाएनन्। साथीभाइको रमाइला गफ सुन्न पाएनन्। आमाबुबाको स्नेहपूर्ण शब्द सुन्न छाडे। सबैभन्दा मुख्य कुरा आफैँले बोलेका कुरासमेत आफैँले सुन्न छाडे।

सुरूवाती दिनमा चिन्तैचिन्ताको सागरमा डुबे पनि सधैँ चिन्तामा डुब्नु थिएन। आखिर चिन्ताको सागरबाट उत्रिनु नै थियो। उनले आफ्नै मनलाई सम्झाईबुझाई गरे। उनले थाहा पाए, आफू जस्ता कान नसुन्ने व्यक्तिका लागि बहिरा कलेज निर्माण भएका छन्।

बहिरा विद्यालयको खोजी गर्दै उनी पोखरा पुगे। त्यहाँको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा पढ्न थाले। ‘म यसरी बहिराहरूको दुनियाँमा जोडिन आइपुगेँ,’ उनी अतितका पत्र खोल्छन्। त्यहाँ उनले आफू जस्तै धेरै साथीहरू देखे। संगत गरे।

जीवनको भोगाइ र दुखाइमा कोही न कोही असल साथी भेटिन्छन्। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द सापटीमा साथी दुई किसिमका हुन्छन्। एउटा उखुजस्तो साथी, जता बटारिए पनि गुलियो हुन्छ, पछारे पनि गुलियो आउँछ। अर्को साथी चप्पल जस्तो, साथ त दिन्छ तर पछाडिबाट हिलो छ्याप्छ।

तर विद्यालयमा पढ्दा चप्पल जस्ताे नभइ उखुजस्तो भोजपुरको बहिरा साथी सिताराम ओझासँग उनको चिनजान हुन पुग्यो। 

त्यसपछि विद्यालय स्थापना 

झापा जन्मिए पनि ती साथीसँग दुःख, संघर्षका कुरा गर्दै गर्दा २०७३ तिर एउटा नयाँ सोच पलायो। त्यो थियो- भोजपुर बहिरा संघद्वारा भोजपुरमा एउटा बहिरा विद्यालय खोल्ने र त्यसका लागि गाउँगाउँ गएर बहिरा तथा सुस्तश्रवण बालबालिकाहरू खोजी गर्ने।

त्यसपछि उनी भोजपुर पुगे। ‘हामी सदरमुकामनजिकै आफन्तको घरमा बस्थ्यौँ, त्यहाँ बसेर नै हामीले बहिरा बच्चाहरू खोज्न गाउँगाउँ जाने योजना बनायौँ’, उनले संघर्षका दिन सम्झिए, ‘त्यति बेला हाम्रो गाँसबासको टुंगो थिएन, जहाँ मिल्छ खाना मागेर खान्थ्यौँ। सुत्नलाई बास माग्थ्यौँ।‘

गाउँगाउँमा रहेका बहिरा बच्चाहरूको तथ्यांक बोकेर उनीहरू नगरपालिका र जिल्ला शिक्षा कार्यालय धाउँथे तर तथ्यांक पाउने बित्तिकै उनीहरूलाई सहयोगी बन्न कोही तयार थिएनन्। सरकारी काम कहिले कता पठाउने, कहिले कता?

दुई साथीहरूले कसम खाएका थिए, जसरी हुन्छ बहिरा विद्यार्थीहरूको भविष्य निर्माण गर्ने। उनीहरूको लामो समयको संघर्षपछि २०७५ सालमा विद्यालय सञ्चालनको सम्पूर्ण प्रक्रिया पूरा गरी अनुमति पाए। त्यसपछि खुल्याे ‘भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय’।

उनीहरूलाई एउटा युद्ध जिते जस्तो भयो। यो उपलब्धि मात्र थिएन कैयौँ बहिरा बच्चाहरूको भविष्य निर्माण गर्ने एक सुनौलो बिहानी थियो। 

यति गरेपछि पनि उनीहरूको दु:ख कहाँ सकिएको थियो र?

बहिरा अपांगता भएका बालबालिकालाई पढाउन सक्ने जनशक्ति भोजपुरमा थिएन। त्यसपछि उनी आफैँ पढाउन थाले। ‘मैले यस विद्यालयमा काम गरेको ६ वर्ष पुग्यो, म यहाँको विशेष शिक्षक हुँ, भोजपुरको बहिरा विद्यालयको बीउमै जोडिएको छु’, उनी आफ्ना कुरा लेख्दै भन्छन्।

एक जना शिक्षकले विद्यालयमा काम गर्ने समय १० बजेदेखि ४ बजेसम्म मात्र हो तर उनी विद्यालयका लागि २४ घण्टा खटिरहेका छन्। सार्वजनिक बिदामा पनि उनी विद्यालय परिसरमा रहेको होस्टलमा नै विद्यार्थीहरूसँग भेटिन्छन्।   

गाउँगाउँ गएर बहिरा/सुस्तश्रवण भएका बच्चाहरूको खोजी गर्दै

अहिले उक्त विद्यालयमा २३ जना बहिरा/सुस्तश्रवण क्षमता भएका विद्यार्थीहरू अध्ययनरत छन्। ४ जना शिक्षक र एकजना होस्टलमा काम गर्ने कर्मचारी छन्। अझै पनि उनी हरेक वर्ष विद्यालय बिदाका वेला पनि गाउँगाउँ गएर त्यस किसिमका बच्चा खोजी गरिरहेका हुन्छन्। उनको लक्ष्य नै छ, ‘बहिरा र सुस्तश्रवण क्षमता भएका बच्चाहरू शिक्षाबाट वञ्चित नहुन्।’ 

पहिचान भएका बालबालिकालाई विद्यालय ल्याउन आवश्यक वातावरण तयार गर्न विद्यालय र भोजपुर बहिरा संघले पनि सहयोग गरेकाे छ। ‘बच्चा होस्टल बस्दा रेखदेख मैले नै गर्नुपर्छ, विरामी हुँदा अस्पताल लाने/ल्याउने, विद्यालय बिदामा अभिभावक आउन नसक्ने बच्चालाई मैले घरसम्म लागिदिने र विद्यालय खुलेपछि मैले नै घर गएर विद्यालय ल्याउनेसम्म गरेको छु’, उनी भन्छन्। 

इशारा र नृत्यले चर्चा

सन्तकुमार शिक्षक मात्रै होइनन्। उनीसँग नृत्य कला पनि छ। शिक्षा सँगसँगै उनले विद्यार्थीहरूलाई नृत्य पनि सिकाइरहेका छन्। जसको फलस्वरूप ‘ऐतिहासिक भोजपुर नगर डबली मेला २०८०’ मा आफ्नै विद्यार्थीलाई प्रथम बनाउन सफल भए।

‘बल्लबल्ल भेट भो आदाम्मे, मन खोली हासौँ न’ गीतमा सन्तकुमारले इशारा गरेको तालमा बहिरा र सुस्तश्रवण क्षमता भएका  कलाकार कौशिका लुवागुन, दालक्पा शेर्पाले नाचे। उनीहरू जन्मजात सुन्न र बोल्न सक्दैनन्।  

यस्तै, नृत्यले छात्र शेर्पा पूर्वाञ्चल गट ट्यालेन्ट २०८० को र छात्रा कोशिका ल्वागुन भोजपुर गट ट्यालेन्ट २०८० को फाइनलमा पुगेका छन्। उनीहरूका नृत्यले अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा भइरहेको छ। 

उनी आफ्ना विद्यार्थीहरू प्रथम होलान् भन्ने कल्पना नगरे पनि प्राप्त उपलब्धिले सन्तुष्टि प्रदान गरेको बताउँछन्। यतिमात्रै होइन यस्तो क्रियाकलापले गर्दा समाजमा बहिरा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको उनको विश्वास छ। 

जिल्ला बाल संगठनले २०७९ को राष्ट्रिय बाल दिवस अवसरको दिन आयोजना गरेको खुला नृत्य प्रतियोगितामा पनि पेमछिकी शेर्पा,बिनिता कार्की र एलिसा श्रेष्ठ प्रथम भएका थिए भने सोही साल असार ९ गते भोजपुर नगरपालिकाद्धारा आयोजित चित्रकला प्रयोगितामा सिर्जना तामाङ दोस्रो भएका थिए।

‘बोल्न सुन्न नसक्ने बालबालिकाले केही गर्न सक्दैनन् भन्ने मानसिकता बदल्न प्रभावकारी भूमिका खेल्दै छ’, उनी सुनाउँछन्, ‘अर्को कुरा भर्खरै हाम्रो विद्यालयमा नयाँ बहिरा बच्चा भर्ना भए। अभिभावकमा चेतनाको अभावले गर्दा त्यतिवेला विद्यालयमा ल्याउने कोशिस व्यर्थ भो। अहिले नानीहरूको भिडियोले गर्दा ती अभिभावकको मन बदलिएछ।’

उनका अनुसार पछिल्लो समय अन्य जिल्लाबाट नचिनेका अभिभावकहरूले पनि मेरो बच्चा बोल्न/सुन्न सक्दैन भनेर के कसो गर्ने? भनी सोधिरहेका छन्। त्यसैले उनी यी विद्यार्थीहरूको भिडियो भाइरल मात्र भएको होइन, समाज परिवर्तनको सन्देश पनि बन्न सकेको हो जस्तो लाग्न थालेको बताउँछन्।

‘बोल्न र सुन्न नसक्ने सन्तानलाई घरमै लुकाएर राख्ने अभिभावकलाई यी दुई नानीको भिडियोले उनीहरूको सोचाइमा परिर्वतन ल्याउन सहयोग गरेको छ, यो नै हाम्रो उपलब्धि हो’, उनले भने। 

राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउने लक्ष्य 

बोल्न र सुन्न नसक्ने बालाबालिकाहरूलाई गीतको तालमा नाच्न सिकाउन सहज भने छैन। ‘यहाँ सिकाउनेलाई पनि गाह्रो हुन्छ अनि सिक्नलाई पनि अझै गाह्रो हुन्छ,’ उनी नाच सिकाउँदाको अनुभव सुनाउँछन्, ‘गीत नसुनी गीत बिना नाच्नु वास्तवमै पानी बिना माछा पौडी खेल्नु जस्तै  हुन्छ, मेरो पनि सुनाइमा समस्या छ। गीत बजेको अलिअलि सुन्छु तर कतिपय शब्द बुझ्दिनँ।’

त्यसैले गीत बुझ्न धेरै अभ्यास गरेपछि मात्र नृत्यको अभ्यास गर्ने गरेको उनी बताउँछन्। ‘सुरूमा म आफैँ नाच्न सिक्छु। मैले स्टेपहरू चयन गरी तयार पारेपछि मात्र नानीहरूलाई अभ्यास गराउँछु। नानीहरूलाई अभ्यास गराउने वेला मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। नानीहरूले कानले सुनेर होइन आँखाले हेरेर नृत्य सिक्ने हुँदा हरेक पटकको अभ्यासमा मैले नाचेर नै देखाउनुपर्छ। त्यो हेरेर सिक्न समय पनि लामो लाग्छ’, उनले भने।

गीतको सुरूदेखि अन्तिमसम्म ती नृत्य सांकेतिक नम्बरको सूत्र बच्चाहरुले कण्ठ गर्नुपर्ने हुन्छ। बच्चाहरूले संकेत कण्ठ गरेपछि नाच्न सिक्छन्। उनी अब फाइनलमा पुगेका विद्यार्थीहरूलाई फाइनलको तयारी गराउँदै छन्।

‘दुईजनालाई अलगअलग गीतमा तयारी गर्नुपर्ने भएकाले पहिलाको भन्दा अझ धेरै मिहिनेत गर्नुपर्ने हुन्छ’, उनले भने, ‘नानीहरूले डान्सको बेसिक कोर्स पनि सिकेका थिएनन्, नानीहरू मिहिनेत र मेरो प्रयासले यहाँसम्म आउन सफल भएका छन्। हेरौँ अब के हुन्छ।’

उनले अब विद्यार्थीहरूलाई पठनपाठनसँगै डान्स क्लास सञ्चालन गरी उनीहरूको क्षमता  बढाउँदै पछि राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेका छन्। ‘हामीलाई प्रथम हुनुभन्दा अवसर पाउनु नै ठूलो जीत जस्तो लाग्छ’, उनले भने। 

हरेक जिल्लामा बहिरा तथा सुस्तश्रवण बालबालिकाहरूको पहिचान र पठनपाठनका लागि एउटा आवासीय विद्यालय  सञ्चालनमा सहयोग गर्नु सरकारको दायित्व रहेको उनी ठान्छन्। ‘आवश्यकता महसुस नगरेको हो कि सरकारले चासो दिएको छैन’, उनी गुनासो पोख्छन्।

यो विद्यालयलाई नमूना विद्यालय बनाएर आगामी दिनमा विद्यार्थीहरूलाई अझै प्रतिभाशाली बनाउने गरी लैजाने सोच रहेको उनले बताए। यो एक वा दुई जनाबाट सम्भव हुने कुरा होइन। उनी थप्छन्, ‘त्यसका लागि विद्यालयको प्रधानाध्यापक, विद्यालय व्यवस्थापन, शिक्षक कर्मचारी र अभिभावकलगायत सबैको साथ सहयोगको अपेक्षा गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.