|
तस्विर–गोरखापत्र

धनकुटा : साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे। माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ। घरभन्दा अलि मुनि अर्को ढुंगा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गरेका छन्। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, उनी सामान्य कच्ची घरमा बस्दै आएका छन्। तर चिटिक्क परेको सानो पक्की घर भने उहाँले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गर्नुभएको हो । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान भन्ने गरेका छन्।  लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ। चार छोरी र एक छोरा रहेका मनप्रसाद आफ्नी ७३ वर्षीया पत्नी शुकरानी इवाहाङसँग बस्छन्। उनले कपुरथान पतिपत्नी दुवै जना अट्ने गरी दुई कोठा भएको निर्माण गरेका छन्।

पाँच वर्षअघि नै करिब एक लाख रुपियाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर कपुरथान निर्माण गरेका हुन्। कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ । खाली भागमा मनप्रसाद र शुकरानीको निधनपछि पार्थिव शरीर राखिने छ। 

मनप्रसाद दम्पतीका पाँच छोराछोरीमध्ये अहिले कोही पनि साथमा छैनन्। उनीहरू सबै बाहिर रहेकाले मृत्युअघि नै कपुरथान बनाएको इवाहाङले बताए। ‘छोराछोरी सबै बाहिरै छन्, मरेपछि कहिले आउलान्, कसो गर्लान्, कहाँ राख्लान्?’, उनले भने, ‘अहिले नै बनाए त मृत्युपछि दुई चार जना गाउँले भेला भएर कपुरथानमा लगेर हालिदिन सक्छन् नि! त्यसैले पहिले नै बनाएका हौँ।’ 

सोही स्थानका स्वर्गीय नैनकुमार तुम्बापोले पनि आफू र पत्नीका लागि केही वर्षअघि दुई कोठाको आकर्षक कपुरथान निर्माण गरेका थिए। तर उनले निर्माण गरेको दुई कोठे कपुरथानको एउटा कोठा खुला छ भने अर्को कोठो सधैँका लागि बन्द भइसकेको छ। पाँच महिनाअघि मृत्यु भएका नैनकुमारको शवलाई कपुरथानको एक कोठामा राखिएको छ। पत्नीका लागि निर्माण गरिएको कोठा भने खुला छ। 

सामान्यतया लिम्बू जातिमा निधन भएपछि शव राख्ने यस्तो परम्परा छ। चिहानघरमा शव राखिसकेपछि बाहिरबाट ढुङ्गामा माटो वा सिमेन्ट प्रयोग गरी प्वाल बन्द गरिदिने चलन छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङमा जीवित अवस्थामै आफ्ना लागि चिहान बनाउने चलन बढेको छ । माङ्दाङ्वा गाउँका १५ ज्येष्ठ नागरिकले आफूले रोजेको ठाउँमा कपुरथान बनाएका छन्। स्थानीय शिवकुमार इङ्नामले १५ जनाभन्दा बढीको शव आफैँले निर्माण गरेको कपुरथानमा पुरिसकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.