|

बिहानको नित्यकर्म सकेर चियाको सुर्कीसँगै मोबाइल हेर्दै थिएँ एउटा साथीको म्यासेज आयो– के छ कता छस्?  गरिबको जाने ठाउँ कहाँ छ र? कोठामै छु, मैले उत्तर दिएँ। 

यसपालि चाहिँ केही मेलोमेसो छ कि जुठो–सुतक परेर रोकियो? उसले भ्यालेन्टाइन डेलाई इसारा गर्दै मलाई व्यङ्ग्य गर्‍यो।  मेरो त यो जुनीमा पार लाग्ने मेसो आएन।

मेरो जवाफ हेरेर उसले खित्का छोड्यो।   अनि यसपालि भ्यालेन्टाइनमा केही लेखेनस? फेरि अर्को प्रश्न आयो। त्यो नमनाउने पर्वको बारेमा नि के लेख्नु, अब शिवरात्रिमा बल्ल लेख्छु। 

मेरो उत्तर हेरेर ऊ फेरि हाँस्यो। चिया सकेपछि पशुपतिनाथको दर्शन गर्न जान मन लाग्यो। मोबाइल खल्तीमा हाल्दै जुत्ता उनेर गुह्येश्वरी मन्दिर हुँदै पशुपतिनाथतर्फ लागेँ।

भोलेबाबाको आँगनमा एक चक्कर मारेर फेरि बागमतीपारीका देवलहरूको बीचमा गएर ब्रह्मनालतिर हेर्दै बसेँ। एउटा भाइ चियाको थर्मस बोकेर छेउमा आयो। मैले इसारा गरेँ, थर्मस बिसाएर मलाई कागजको गिलासमा एक गिलास चिया सारेर दियो, मैले चियाको पैसा तिरेँ।

​ भाइ व्यापारको मेसोतिरै लाग्यो म चिया सुर्क्याउन लागेँ। चिया नसकिँदै छेउमा एकजना वयस्क आएर बसे। मलाई उनी निकै भलाद्मी जस्ता लाग्थे, यो भन्दा अघि पनि पशुपतिनाथ आउँदा यतैतिर देखिरहन्थेँ तर बोलेको थिइनँ।

​​ भाइ चन्दन ल्याउनुभएको छ? सायद निधारको चन्दन देखेर होला उनले मलाई सोधे।  मैले नबोलीकन मन्दिरबाट सालको पातमा ल्याएको चन्दन खल्तीबाट निकालेर उनीतर्फ हात बढाएँ।

उनले आफ्नै हातले चन्दन निधारमा लगाए, बचेको चन्दन पुनः खल्तीमा राखेँ। अब भने बोल्ने बाटो खुल्यो। दाजुलाई प्रायः यतै देख्छु, सधैँ झोला भिरेर हातमा डायरी समातेर यता रुमल्लिइरहनु हुन्छ खास के छ त्यस्तो? भन्न मिल्छ र? मैले प्रश्न गरेँ। 

किन नमिल्नु र? पशुपतिनाथकै विषयवस्तुसँग सम्बन्धित सानोतिनो अनुसन्धान गर्दै छु भाइ। दाजुले मन्द मुस्कानसँगै उत्तर दिए। 

ओहो! कस्तो अनुसन्धान दाजु? म केही उत्सुक हुँदै फेरि सोधेँ।  यो क्षेत्रको आध्यात्मिक शक्ति र यहाँका भौतिक वस्तुहरूले अध्यात्मसाधकहरूमा पार्ने प्रभावसम्बन्धी विषय हो भाइ। दाजुको उत्तर सुनेपछि त्यो भन्दा अगाडि प्रश्न गर्न मेरो मगजले नभ्याउने देखेर अर्को प्रश्न गर्ने आँट गरिँन। 

अनि भाइलाई पनि आक्कलझुक्कल यतैतिर टहलिएको देख्छु खास के छ त्यस्तो? दाजुले पनि मलाई याद गर्ने गरेका रहेछन्। 
कोठा नजिकै छ दाजु, मन बेचैन भयो भने प्रायः यहाँ आएर बस्छु, ब्रह्मनालमा लम्पसार परेर भोलेबाबाको चरणमा समर्पित शरीर र भोलेबाबालाई सुगन्ध अर्पण गरिरहेको चिताको धुवाँ हेर्दाहेर्दै मन बहलाउँछ। 

ए! बढो दार्शनिक कुरा गर्नुहुँदो रहेछ, अनि आज के भएर मन बिग्रियो त? दाजुले अर्को प्रश्न गरे। बिहानै साथीसँग भएको अनलाइन सम्वाद बेलिविस्तार लगाएँ। 
यसपटक दाजु आवाज निकालेरै हाँसे, यस्तो आध्यात्मिक चिन्तन गर्न सक्ने मान्छेको पनि त्यस्ता नाथे बकम्फुसे कुराले मन विचलित हुन्छ र? मलाई अर्को प्रश्न आइलाग्यो। 

मनै त हो दाजु, भाँडिन्छ कहिलेकसो, अझ आज प्रणय दिवसकै दिनमा पशुपतिमा आएर यसरी मन बहलाउन परेपछि त झन् के कुरा गर्नु र? मैले मनको बह पोखेँ। 

यस्ता नाथे दिवस, दाजुले सजिलै जवाफ फर्काए। 

किन दाजु? मैले सोधेँ। 

यी सब केवल प्रविधिको विकासले गर्दा हाम्रो ठाउँमा आइपुगेका भँडुवा दिन हुन्। यिनले हामीलाई कुनै तात्त्विक उपलब्धि दिँदैनन् केवल हामीलाई मनोरोगी बनाउने मात्र हुन्। 

अनि दाजु सेन्ट भ्यालेन्टाइनको बारेमा चाहिँ के छ हजुरको विचार? दाजुको कुरा नसकिँदै फेरि सोधिहालेँ।

​प्रणयको मामिलामा स्वयं भ्यालेन्टाइनका हजुरबाको काखमा बसेर के भ्यालेण्टाइनको चर्चा गर्नु र?  मतलव? मैले दाजुको कुरा बुझिनँ। 

भोलेबाबाको प्रणयकथा सुनेका छौ? दाजुले प्रतिप्रश्न गरे। 

सतीदेवी र महादेवको? मैले सोधेँ। 

हजुर, हामी पूर्वीय जीवनदर्शनका पदचाप पछ्याउनेहरू र आदर्शप्रेमका अनुरागीहरूका लागि अद्वितीय र अलौकिक प्रणयको उदाहरण हो त्यो, दाजुले भने। 
अली स्पष्ट पारिदिनुहुन्छ कि? ममा अनौठो उत्सुकता जाग्यो।

पश्चिमाहरू नाता, सम्बन्धलाई लिएर हामी जस्तो बढी भावनात्मक हुँदैनन्। उनीहरू हामी भन्दा सजिलो हिसाबले सम्बन्ध जोड्न र त्यस्तै सजिलो हिसाबले तोड्न पनि हिच्किचाउँदैनन्। कानुनी हिसाबले त अहिले हामीले पनि पश्चिमाहरूको नक्कल गरिसक्यौँ तर हाम्रो धर्म, संस्कार, परम्परा र पुस्ता हस्तान्तरणका अनेक क्रियाकलापले गर्दा हाम्रो पुरानो जीवनशैली जीवित नै छ।

हामी हरेक नाता सम्बन्धलाई नाता अनुसारको विशेष श्रद्धाभाव राखेर व्यवहार गर्ने संस्कृतिका अनुयायी हौँ। श्रद्धेय व्यक्तिका पाउमा निधार राख्न पाउँदा आत्मगौरव गर्ने हाम्रो संस्कारको विशेषता पश्चिमाहरूको भन्दा बेग्लै छ। 

अन्य सम्बन्धहरूलाई यथावत् राख्दै प्रणय सम्बन्धमा नै लागौँ। हामी पूर्वजन्म र परजन्ममा विश्वास गर्छौँ यो विश्वासले हामीलाई गलत बाटोमा लाग्न र गलत गतिविधि गर्नबाट निषेध गरिरहन्छ। विवाहलाई हामी सात जुनीको सम्बन्ध मान्छौँ। प्रेमी–प्रेमिका नै भए पनि कतिपय विवाहेतर सम्बन्धलाई हाम्रो संस्कारले नैतिक मान्दैन र विवाहबाट जोडिएको अर्थात् पति पत्नीको सम्बन्ध स्वयं आफ्ना जन्मदातासँगको सम्बन्धभन्दा पनि आत्मीय बन्न जान्छ।

विवाहपछि पत्नीलाई अर्धाङ्गिनी भनिनु र महादेवको अर्धनारीश्वर स्वरूपले पत्नी पनि आफ्ना पतिको अर्धाङ्गस्वरूप भएको सङ्केत गर्नुले पति–पत्नीको नाता नाताहरूमध्येको सर्वश्रेष्ठ हो भन्नेमा दुई मत हुन दिँदैन। 

सतिदेवीले आफ्नै पिताले आफ्ना पतिको अत्यन्त अपमान गरेको सहन नसकेर प्राणाहुती नै गर्नु र स्वयं चराचर ब्रह्माण्डका अधिपति जगदीश्वरले सारा ऐश्वर्य बिर्सेर सतिदेवीको निष्प्राण देह बोकेर अचेतावस्थामा ब्रह्माण्ड भ्रमण गर्नु प्रेमको चरमोत्कर्षको अक्षय उदाहरण हो। त्यसैले महादेव र सतिदेवीको प्रणयकथा हामी पूर्वीय सभ्यताका मानिसहरूको लागि एउटा अलौकिक र अद्वितीय प्रणयकथा हो। 

प्रणय दिवस नै चाहिए पनि हामीले हाम्रै सभ्यताका प्रणयकथाहरूको स्मरणोत्सव मनाउन सक्छौँ तर पश्चिमी सभ्यताको नक्कल र अनुशरण गर्नु हाम्रो आफ्नो सभ्यतामा विकृति भित्र्याउनु हो। उनीहरूको सभ्यता र संस्कृतिको सम्मान गर्दै हामीले आफ्नै सभ्यता र संस्कृतिलाई समुन्नत बनाउनतर्फ पो लाग्नुपर्छ।

आधुनिकताका नाममा हामीले अर्काको नक्कल मात्र गर्दै गयौँ भने एकदिन यस्तो आउन सक्छ न हामी जीवित रहन्छौँ न त हाम्रो सभ्यता नै। अझ यस्ता विषयमा त तिमीहरू जस्ता पढेलेखेका युवा पो बढी सचेत रहनुपर्छ त। 

दाजुले मलाई भ्यालेण्टाइनका हजुरबाको कथा मात्र होइन हाम्रो पूर्वीय सभ्यताको श्रेष्ठताको पाठ पनि राम्रैसँग पढाइदिए। दाजुका वाणीले मन नै शीतल बनाइदियो। आनन्दले पशुपतिनाथको गजुरतिर हेर्दै थिएँ, ल भाइ भेट्दै गरौँला है त भनेर दाजु झोला बोकेर हिँडे।

म पनि प्रणय दिवसमा पशुपतिनाथको दर्शन गर्न आउनाले राम्रै मान्छेसँग चिनजान र उपलब्धिमूलक ज्ञान आर्जन गरेर आफ्नो कोठातर्फ फर्किएँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.