विश्वकप खेलेको नेदरल्याण्ड्स ९ विकेटले पराजित

|

काठमाडौं : कुशल भुर्तेलको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई सजिलै ९ विकेटले हराएको छ। 

नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि नेपालले १ सय ४१ रन बनाएको थियो। 
नेपालको जितमा भुर्तेलको ४ विकेट र उनले सुरुवातमा हानेको २८ रन महत्वपूर्ण रह्यो। भुर्तेलले सुरुवातमै चौका र छक्काको वर्षा गर्दै ११ बलमा २८ रन बनाए। उनी किङ्माको बलमा लिडेद्धारा क्याच भए। 

यसबाहेक नेपाली खेलाडी अनिल साह र आशिफ शेखले अर्धशतक पूरा गरे। नट आउट रहेका साहले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५७ रन हाने। 
यस्तै उनलाई साथ दिएका आशिफले पनि नटआउट ४५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५४ रन जोडे।

यसअघि किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गरपछि ब्याटिङ गरेको पाहुना टोली नेदरल्याण्ड्सले ३९ ओभरमा सबै खेलाडी गुमाएर १ सय ३७ रन बनाएको थियो। 

नेदरल्याण्ड्सलाई सस्तैमा रोक्न नेपाली खेलाडी कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। ७ ओभर बलिङ गरेका उनले २० रन खर्चिएर ४ विकेट लिएका थिए। यस्तै २ विकेट ललित राजवंशीले लिए भने सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिए। ललितले १० ओभरमा ३२ रन खर्चिएका थिए । सोमपालले ७ ओभरमा २ मेडेन राखेर २४ रन दिए।

कप्तान रोहित पौडेलले १ ओभरमा ३ रन खर्चिएर १ विकेट लिन सफल भए। नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोडे। ४९ बलमा ३३ रन जोडेका कप्तान स्कट भुर्तेलको बलमा एलबिडब्लु भएका थिए। यस्तै डच खेलाडी बास डि लिडे २७ रन तथा सिब्राण्डले २३ रनको योगदान दिए। 
अन्य ब्याट्स्म्यानहरुको प्रदर्शन त्यत्ति उत्कृष्ट हुन सकेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.