|

काठमाडौं : पाँचौँ नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह तथा पुरस्कार वितरण सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रम आज (मंगलवार) सकिएको हो।

ओलम्पियाडका विभिन्न सहभागीहरूको भिडियो परिचयबाट शुरू भएको थियो। ओलम्पियाडका सभापति अर्जुन सापकोटाले उत्कृष्ट ५ जनाले नेपालबाट अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्ने जानकारी दिए।

‘५ जना गोल्ड मेडलिस्टको नाम आजको कार्यक्रममा घोषणा गरिनेछ, त्यो अर्थमा आजको कार्यक्रम निकै महत्वपूर्ण छ,’ उनले अगाडि भने, ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०१९ मा शुरू गरेका थियौं, नेपालमा इकोनोमिक्स, बिजनेस र फाइनान्स साक्षरता प्रवर्द्धन गर्नका लागि यो अभियान निरन्तर अगाडि बढाइरहेका छौँ, हामीले अन्तरराष्ट्रिय रूपमा पनि प्रतिनिधित्व गरिरहेका छौँ।’

उनका अनुसार केही विगतका सहभागीहरू विश्वका उत्कृष्ट विश्वविद्यालयमा भर्ना भएका छन्। कार्यक्रममा अन्तरराष्ट्रिय बिजनेस ओलम्पियाड २०२३ का सहभागीहरूलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदक तथा प्रशंसापत्र वितरण गरे।

पदक तथा प्रशंसापत्र पाउनेहरूमा गोल्डतर्फ समृद्धिका दाहाल थिइन् भने सिल्भरतर्फ युक्ता लेखक, चैतन्यराज शाह, मनिष ओझा, आदेश विष्ट, अनुराग यादव, विनायक गौतम थिए भने कांस्यतर्फ सम्प्रदा अधिकारी, डेलिला दुरा रहेका थिए।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्टले अहिलेको तेश्रो संस्करणमा भाग लिएको र योभन्दा अगाडिको संस्करणमा पनि भाग लिएको उल्लेख गरे।

उनले भने, ‘तपाईंहरू जस्तो मानिस अहिलेको १०/१५ वर्षमा अझ महत्वपूर्ण व्यक्तिको रूपमा आउनुहुनेछ र देशको लागि योगदान गर्न सक्नुहुनेछ, तपाईंहरू अन्तरराष्ट्रिय मञ्चमा सहभागी हुनुभएको छ, भोलि कस्तो किसिमको योजना तर्जुमा गरेर देशको आर्थिक स्थिति सुधार्न सकिन्छ भन्ने कुरामा तपाईंहरूले महत्वपूर्ण योगदान दिन सक्नुहुनेछ।’

ओलम्पियाडको बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा विश्वनाथ पौडेलले प्रतियोगिमा जित हार भन्ने कुरा साधारण रहेको र ओलम्पियाडको मुख्य उद्देश्य सबै समुदायबाट भाग लिन प्रोत्साहित गर्नु रहेको बताए। 

‘गएको ५ वर्षमा नेपालमा व्यापक परिवर्तन भएको छ, लगभग शत्‌प्रतिशत ठाउँमा बिजुली पुगेको छ, त्यसैगरी पर्यटनमा पनि राम्रो प्रगति भएको छ, होटलको विस्तार भएको छ, ३० ठाउँमा फाइवस्टार होटल बनेको छ, शिक्षा र स्वास्थ्य पनि पहिलेभन्दा राम्रो भएकोले प्रशस्त आशा गर्ने ठाउँ छ,’ उनले भने। 

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२४ तर्फ कांस्य पदक १५ जनाले पाएका थिए भने सिल्भर १० तथा गोल्ड ५ जनाले पाएका थिए। गोल्ड मेडल पाउनेहरूमा दीक्षा खिजु, सन्दीप आचार्य, प्रज्ञान शर्मा, प्रभात शाक्य र प्रशिद्धा अधिकारी रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.