|

काठमाडौँ : न्यूजिल्याण्डविरुद्धको टी–२० आई सिरिज अष्ट्रेलियाले जितेको छ।

आज (शुक्रवार) भएको दोस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले ३ खेलको शृंखलाको एक खेल खेल्न बाँकी रहँदै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। 

जितका लागि अष्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १७ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो। 

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४२ रनको योगदान गरे। ट्रेन्ट बोल्टले १६ तथा जोश कार्लशनले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

न्यूजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए। 

त्यसअघि न्यूजिल्याण्डको इर्डन पार्कमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो। 

अष्ट्रेलियाका लागि ट्राभिस हेडले ४५, प्याट कमिन्सले २८ तथा कप्तान मिचेल मार्शले २६ रन जोडे।

न्यूजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम खेल आगामी आइतवार हुनेछ।

यसअघि भएको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ६ विकेटले हराएको थियो।

न्यूजिल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले टी–२० आई सिरिजलगत्तै २ ओटा टेस्ट खेल्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.