|

रौतहट : रौतहटमा तीनजना नक्कली चिकित्सक पक्राउ परेका छन्।

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं–१ सुकदेव चोकस्थित सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत ३ जना नक्कली चिकित्सक पक्राउ परेका हुन्।

यसरी पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारन थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं–३ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गाउँपालिका वडा नं–२ भेडियाही टोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीको एपेन्डिस, पायल्स, पाठेघरलगायतको शल्यक्रिया गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

उनीहरुसँग विरामीहरुको उपचार गर्न पाउने इजाजतपत्र माग्दा गर्दा निजहरुसँग निर्धारित शैक्षिक योग्यताको प्रमाणप्रत्र नभएकाले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तरगत इलाजसम्बन्धी कसूरमा मुद्दा दर्तासमेत गरेको उनले बताए।

यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास भइरहेको जानकारी उनले दिएका छन्। केही वर्षयता रौतहटमा दर्ता नगरि र चिकित्सकको अनुमतिपत्र नलिइ व्यापक रुपमा अस्पताल संचालन भइरहेको पाइएको छ।

सम्बन्धित निकायले रौतहटमा सञ्चालित अस्पतालहरुको अनुगमन नगर्दा नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेको भनाइ छ।

रौतहट जिल्लाभरिका निजी स्वास्थ्य संस्थाहरुको अविलम्ब अनुगमन गर्न पनि अध्यक्ष घिमिरेले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.