|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति प्राडा. केशरजंग बराललाई पाएको छ। त्रिविको उपकुलपति रिक्त भएको झण्डै ४ महिनापछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेका हुन्। 

उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपतिको पद रिक्त थियो। विसं २०१६ सालमा स्थापित त्रिविले गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो तर यहाँ पछिल्लो समय अनेकन समस्याहरूले त्रिविलाई गाँजेको छ।

त्यसैले त्रिवि सुधारमा चुनौती निकै छन्। यी भद्रगोल त्रिविको सुधार कसरी हुन्छ?,उच्च शिक्षा विदेशिने लर्कोलाई कसरी रोक्छ? लगायत यी प्रश्नको सेरोफेरोमा त्रिविका नवनियुक्त उपकुलपति बरालसँग रेडियो थाहासञ्चारले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं भिसी नियुक्त भएको हप्ता दश दिन भइसकेको छ। नेपालको पुरानो र जेठो विश्वविद्यालय सुधारका लागि तपाईंको योजना र कार्यक्रम के के छन्?

मेरो पहिलो प्राथमिकता भनेको शैक्षिक पात्रो बनाउने हो र कार्यान्वयन गराएर निर्धारित समयमा सक्ने हो। निर्धारित समयमा पास आउट गराएर पठाउने हो।

दोस्रो भनेको परीक्षा फल समयमा प्रकाशन गर्ने। म भिसी बनेपछि सम्बन्धित डिनहरूसँग ब्रिफ्रिङ गर्दा प्राविधिक र सेमेष्टर प्रणाली परीक्षा नतिजा समयमा निकालेको पाए।

तर,वार्षिक प्रणालीका परीक्षाफल भने ढिलो भएको पाए। तेस्रो प्राथमिकता शैक्षिक पाठ्यक्रम समयसापेक्ष अद्यावधिक गर्ने योजना छ। यो तीन वटै काम गर्न सफल भयौ भने निश्चित रूपमा त्रिविमा विश्वास र आशा कायम गर्न सक्छौँ।

भिसीमा नियुक्त भइसकेपछि चार वर्षे स्नातकलाई तीन वर्षे बनाउने बताउँदै आउनुभएको छ, खास तीन वर्षे बनाउनेमा किन दाबी आयो नि?

बिएडको सन्दर्भमा तीन वर्षे कन्टेन्ट पढाउने, जुन जुन विद्यार्थीहरू शिक्षक हुन चाहन्छन् उनीहरूलाई आवश्यक ज्ञानलगायत आवश्यक सहयोग दिने भन्ने हो। जुन अरू वार्षिक कार्यक्रमबाट सञ्चालन भएका बिए, बिबिएस लगायतको सन्दर्भमा चाही अन्तर्राष्ट्रिय स्तरमा तीन वर्षे कार्यक्रम छ।

त्यसैले यहाँ पनि तीन वर्षे बनाउने हो। विदेश जानेहरूका हकमा भने जहाँ चार वर्षेको मान्यता खोज्छ त्यहाँका लागि विद्यार्थीहरूलाई छुट्टै कोर्स पढाएर पठायौँ भने ती समस्या पनि हट्छ।

त्रिविका पाठ्यक्रम व्यावहारिक र सीपमूलक भएन। विश्वविद्यालयको सर्टिफिकेट बोकेर थन्किने। यहाँबाट उत्पादित विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने भाष्य छन्, त्यसैले पढ्न विदेश नै जानेहरूको लर्को छ, यसमा तपाईंले के सोच्नुभएको छ?

विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने गलत हो।

विश्वविद्यालयले यो ग्रेडको विद्यार्थी हो भनेर प्रमाणित गरेका विद्यार्थीहरू विदेशीहरूसँग प्रतिस्पर्धा गरेका छन् र गरिरहेका छन्। अन्तर्राष्ट्रिय तुलनामा भने औसतमा त्रिविको स्तर कम छ भन्ने भाष्य भएको होला। तर, प्रतिस्पर्धा त गर्न सक्छन्।

पछिल्लो समय त्रिविमा विद्यार्थीहरू घटनुको मुख्य कारण के हो?

अहिले विदेश गएका विद्यार्थीहरू पढ्नलाई मात्रै गएका होइनन्। पढाइसँगै कमाउने हिसाबले धेरै गएका छन्। विदेश जाने मुख्य कारणमा उच्च शिक्षामा गुणस्तरमा खस्कियो भन्न चाहिँ सकिँदैन।

तर, तोकिएको शैक्षिक समय पूरा गर्दैनौँ। हडताल हुन्छ। जसले गर्दा जुन अवसरको लागि लागत बढी देखिन आउँछ। त्यसैले चाहिँ अभिभावकहरू छिमेकी मुलुक भारतमा बालबच्चा पढाउन पठाउने गरेका छन्। अन्य ठाउँमा चाहिँ शिक्षा मात्रै होइन कमाइको लागि प्लस टु पछि जाने गरेको पाइन्छ।

सरकारमा रहेका दलका नेताहरूले विदेशबाट नेपालमा पढ्नका लागि वातावरण बनाउँछौँ भनेर भाषण ठोक्छन्, यसो भन्दै गर्दा सरकारले गर्नुपर्ने काम चाहिँ के-के छन्?

विदेशी विद्यार्थीहरूलाई हामी निश्चित विषयमा आकर्षित गर्न सक्छौँ। तर,यहाँ उनीहरूको जस्तो वातावरण देखिँदैन छैन पनि। नेपालमा धेरै भाषीहरू रहेकाले भाषाको अध्ययन, जिओग्राफी विषयमा अध्ययन गराउन विद्यार्थी तान्न सक्छौँ। तर, त्यसको लागि अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार र जनशक्ति आवश्यक छ। यसको विकास गर्न सके यहाँ निश्चित विषयमा पढाउन सक्छौँ।

भिसी भइसकेपछि रेक्टर, रजिष्टार पद स्वतन्त्रपूर्वक योग्यताक्रममा नियुक्ति गर्नुपर्ने बताउँदै आउनुभएको छ, यता, भागबण्डाले पद रिक्त छ, यी नियुक्ति प्रक्रियालाई भागबण्डामा नभई सामान्य अवस्थामा ल्याउन कति समय लाग्ने आँकलन गर्नुभएको छ?

यो सबै व्यवस्थापन एउटा भिसीले मात्रै गरेर सक्ने अवस्था होइन। सबैसँग संयोजन गरेर मिले मात्रै व्यवस्थापन गर्न सकिन्छ। राजनीतिक दलको पनि सहयोग आवश्यक पर्छ। सरकारको सहयोगबिना ट्रयाकमा ल्याउन गाह्रो छ। मलाई एक डेढ वर्षमा त्रिविको केही सुधार ल्याउन सक्छु जस्तो लागेको छ। 

विश्वविद्यालयमा पुरानै जनशक्ति छन्, जसकारण नयाँ प्रविधिको विकासबाट सेवा प्रवाह भएन भन्ने आमगुनासो छ, विद्युतीय हाजिर गर्न नमान्ने समस्या पनि छ, अब यी समस्यालाई कसरी समाधान गर्नुहुन्छ?

प्राध्यापकले विद्युतीय हाजिर गर्न मान्दैनन् भन्ने लाग्दैन। मैले पनि समाचार मात्रै पढेको हो। सबैतिर हाजिर भएकै छन् जस्तो लाग्छ। प्रविधिको कुरामा पूर्ण रूपमा लागू भएको छैन भन्ने होइन लागू गर्ने प्रयास भइरहेको छ। नीति नै बनेको छ। थेसिस डिजिटलाइज गरेर राखेको हुन्छ। 

त्रिविमा जुन खालको राजनीतिक संगठनले भूमिका खेल्ने गरेका छन्,जसले त्रिवि नै कब्जामा परेको जस्तो देखिएको छ,अब यी समस्या हटाउन के कस्ता आश्वासन पाउनुभएको छ?

सम्माननीय प्रधानमन्त्रीज्यूले नियुक्त गर्दा नै मलाई सरकारको पूर्ण सहयोग आवश्वान दिनुभएको छ। स्ववियुका सभापति लगायतले मसँग भेटेर पूर्ण रूपमा एजेण्डामा सहयोग गर्ने भन्नुभएको छ। अब पछिका कुराहरूलाई त पछि देखिन्छ होला।

अन्त्यमा, त्रिविका कतिपय भौतिक संरचनाहरू जीर्ण छन्,मर्मत कहिले हुन्छ?

आवश्यक भौतिक संरचना जीर्ण भएका छन्, ती नयाँ  बन्छन्। नयाँ नयाँ कार्यक्रम ल्याउने मेरो योजनाहरू पनि छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.