|

मार्च ८ अर्थात्  अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर  विविध कार्यक्रम गरि मनाइँदै!’

अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित,  विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’

अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको रूपमा मनाउने दिन हो। यसको उद्देश्य  महिला, पुरुष, वा अन्य लैंगिक तथा यौनिक अल्पसंख्यक बीचको असमानताको बारेमा चेतना फैलाई, समानता कायम गर्नु हो। 

श्रमिक आन्दोलनबाट उत्पत्ति भएको महिला दिवसले आफ्नो यात्रा ११३ वर्ष पार गरिसकेको छ।

क्लारा जेटकिन नामक एक महिलाले सन् १९१० मा यसको जग बसालिन्।​

प्रिय पाठकहरू तपाईँहरूलाई थाहा छ : यो दिवस कसरी सुरू भएको थियो?

यस दिनलाई विशेष बनाउन सन् १९०८ मा न्यूयोर्क सहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा सुरु गरेका थिए।  उनले सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुझाव दिएकी थिइन्।

उक्त सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए र उनीहरूले क्लाराको सुझावलाई सर्वसम्मतिले स्वीकार गरे। पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइयो।

यसको शताब्दी उत्सव सन् २०११ मा मनाइएको थियो। जुन पछि संयुक्त राष्ट्रसंघले वार्षिक उत्सवको रूपमा मान्यता दिएको थियो। यस वर्ष हामी ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ।

यसै दिनलाई सम्झँदै मिडियामा महिलाहरूको अवस्थाको बारेका केही कुराहरू गरौँ।  नेपालमा मिडियामा अहिले महिला पत्रकारहरूको उल्लेख्य वृद्धि भएको छ। यो गतिशील क्षेत्रमा महिला पत्रकारको यात्रा भने अनौठो चुनौतीहरूले भरिएको छ।

महिलाहरूको उल्लेख्य उपस्थितिका बाबजुद, लैंगिक असमानताहरू जारी छन्। जसले मिडिया उद्योगमा महिलाहरूलाई उपलब्ध व्यावसायिक अनुभव र अवसरहरूलाई असर गरेको छ।

नेपालमा महिला पत्रकारहरूले सामना गर्नुपर्ने प्रमुख बाधाहरू मध्ये एक हो, लैंगिक पूर्वाग्रह। मिडियामा महिलाहरूको उपस्थिति उल्लेख्य छ। तर सक्षम हुँदाहुँदै पनि निर्णय लिनसक्ने भूमिकामा उनीहरूलाई कम सहभागिता गराइन्छ।  मिडिया एउटा  पुरुष पत्रकारलाई ‘पत्रकार’ भनिन्छ। तर एक महिलालाई भने ‘महिला पत्रकार’ का रुपमा चित्रित गरिन्छ।

धेरै जस्तो महिलाहरू समाचार वाचक, रिसेप्सनिस्ट, सजिलो भनिएका समाचार विटमा कार्यरत छन्। महिलालाई  आज पनि राजनीतिक बहस, खोजमूलक विधामा कमै अवसर दिइन्छ। अवसर नदिएपछि महिलाहरूको संख्या धेरै देखिँदैमा अर्थपूर्ण सहभागिताको रूपमा लिन सकिँदैन।

विश्वभर नै सञ्चार गृहहरूको नीति–निर्माण तहमा महिलाहरू अत्यन्त कम संख्यामा छन्। ग्लोबल रिपोर्ट अन दि स्ट्याटस अफ विमेन इन न्युज मिडिया, २०११ अनुसार मिडिया संस्थाहरूका सन्दर्भमा कुरा गर्दा सात महादेशका कार्यकारी बोर्ड र प्रमुख व्यवस्थापकीय पदमा क्रमशः ७४.१ प्रतिशत र ७२.७ प्रतिशत पुरुषहरूको वर्चस्व रहेको छ। (आइडब्लयुएमएफ, २०११)

ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट २०१० को रिपोर्ट अनुसार विश्वभरी समाचारमा पढिने वा सुनिने समाचारका विषयवस्तु (जसका बारेमा चर्चा गरिन्छ वा जोसँग अन्तर्वार्ता गरिन्छ) मध्ये ७६ प्रतिशत मानिसहरू पुरुष छन् भने केवल २४ प्रतिशत मात्र महिला। तर, समाचारमा पीडितका रूपमा प्रस्तुत हुने ८ प्रतिशत मात्र पुरुष छन् भने १८ प्रतिशत महिला छन्। त्यस्तै ४६ प्रतिशत समाचारले परम्परागत लैंगिक ढाँचालाई बढावा दिने काम गरेका छन्। (जिएमएमपी रिपोर्ट, २०१०)  

मिडियाको सम्पादकीय नेतत्वमा महिलाको संलग्नता अत्यन्तै कमजोर छ। वि.सं. २०७२ मा सञ्चारिका समूहले गरेको एक अध्ययनले नेपाली मिडियामा ८.१ प्रतिशत पत्रकार महिला सम्पादकको भूमिकामा रहेका देखाएको थियो। यसैगरी ०.३ प्रतिशत कार्यकारी सम्पादक, ०.१ प्रतिशत उपसम्पादक र ३.६ प्रतिशत प्रमुख संवाददाताको भूमिकामा रहेर काम गरेको देखाएको थियो। (सञ्चारिका समूह, वि.सं. २०७२)

मिडिया एक्सन नेपालले  पत्रकार महिलाको बाइलाइनलाई मिडियाको लैंगिक संवेदनशीलताको सूचीका रूपमा राखेर गरेको २०७८ मा गरेको एक सर्वेक्षणमा २० वटा मिडियामा प्रकाशित समावेश गरिएका २१ हजार ९१९ वटा समाचारमा जम्मा ७६ वटा समाचारमा मात्रै पत्रकार महिलाको बाइलाइन प्रकाशित भएको छ।

यो जम्मा प्रकाशित समाचारको करिब ०.३५ प्रतिशत मात्रै हो। यस्ता खालका सर्वेक्षणबाट पनि महिला पत्रकारहरू पछाडि छन्। मिडियाहरू लैंगिक संवेदनशीलताको विषयमा पछि  छन् भन्ने देखिन्छ। (मिडिया एक्सन नेपालद्दारा प्रकाशित  लैंगिक संवेदनशील पत्रकारितासम्बन्धी हाते पुस्तकमा आधारित)

पत्रकारिता क्षेत्रमा धेरै महिला साथीहरू छन्। पंक्तिकार स्वंयले पनि विगत ४ वर्षदेखि राजधानीमा पत्रकारिता गरिरहेको छु।

मिडिया हाउसभित्र हुने महिलाहरूले पुरुष जसरी काम गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गरिएको छ। आफ्ना समाचार पनि प्रदेश संयोजकको नाममा प्रसारण भएका छन्। सम्बन्धित कार्यालयमा उजुरी गर्दासमेत आर्थिक प्रलोभनमा पारी बोली बन्द गर्न लगाउने प्रवृत्ति आज पनि उस्तै छ।   समाज रुपान्तरण, न्याय तथा असमानताविरुद्ध चलाउने हाम्रा कलमहरूलाई आफूमाथि हुने हिंसा, असमानता र भेदभावहरूलाई लुकाउन कहिलेसम्म बाध्य बनाइरहने?

असमान तलब, महिलालाई आकर्षणको रूपमा मात्रै हेरिनु सम्पादकको भूमिकालाई बाहिर राखिनु , महिला भएकै कारण फिल्ड रिपोर्टिङ गर्न नपाउनु, अफिसमा महिलाहरूका लागि प्याडको समेत व्यवस्था समेत नहुनु , महिला सम्बन्धित न्युज सामग्री प्रसारणयोग्य हुँदा हुँदै  नगरिनु आदि हुन्!

नेपालमा महिला पत्रकारहरूका लागि सुरक्षाको चिन्ताले थप चुनौतीहरू थपेको छ।

संवेदनशील मुद्दाहरूमा रिपोर्टिङले उनीहरूलाई उत्पीडन र हिंसासहित विभिन्न जोखिमहरूको सामना गर्नु परिरहेको छ।  पर्याप्त सुरक्षा उपायहरू र सहयोगी वातावरणको अभावले यी चिन्ताहरूलाई बढाउँछ, धेरै प्रतिभाशाली महिलाहरूलाई अनुसन्धान वा क्षेत्र रिपोर्टिङ गर्न रोकिरहेको छ।

यसबाहेक, मिडिया हाउसमा काम गर्ने सिनियर सहकर्मीको महिलाहरू प्रतिको परम्परागत सोचाई र दृस्टिकोण, महिलाका मुद्दामा उनीहरूले गर्ने टिप्पणी, नितान्त व्यतिगत कुराहरूमा सोधिने प्रश्नले समेत महिला पत्रकारहरूको लागि थप तनाव सिर्जना गरिरहेको छ।  

यसको मतलव  सबै मिडिया हाउसहरू नराम्रो छन् भनेको कदापि होइन तर अधिकांश भने त्यस्तै अवस्थामा छन्।  यी चुनौतीहरूलाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण आजको आवश्यकता हो।

मिडिया संस्थाहरूले निष्पक्ष रुपमा गर्ने कर्मचारी छनोट, समान तलब नीतिहरू, र व्यावसायिक विकासका लागि अवसरहरू प्रदान गरेर लैंगिक समानतालाई सक्रिय रूपमा प्रवर्द्धन गर्न आवश्यक छ।

सुरक्षित रिपोर्टिङ वातावरण सिर्जना गर्नु, शारीरिक र सांस्कृतिक दुवै रूपमा, विविध र समावेशी मिडिया परिदृश्यलाई बढावा दिन महत्त्वपूर्ण छ।

सरकारी पहल र नियामक निकायहरूले महिला पत्रकारहरूको संरक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। लैंगिक भेदभाव र उत्पीडनविरुद्ध कडा कानुनको स्थापना र कार्यान्वयनले मिडिया हाउसमा महिलाहरूको लागि सुरक्षित स्थान बनाउन योगदान पुर्‍याउँछ।

मिडिया संगठनहरूमा विविधता र समावेशीकरणको लागि वकालत गर्ने नेपालमा महिलाहरूको अनुभव र दृष्टिकोणको विविधतालाई हाइलाइट गर्ने कथा र सामग्रीको प्रचार गर्न आवश्यक  छ।

 मिडिया साक्षरता अभियानहरूमा सहभागी हुने मिडियामा महिलाको चित्रण र सामाजिक धारणामा यसको प्रभावबारे चेतना जगाउन प्लेटफर्महरू प्रयोग गर्ने, सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरू प्रयोग गर्नुहोस्  महिलाहरूको आवाज बढाउन र उनीहरूको उपलब्धिहरूमा ध्यान ल्याउन सहयोग गर्ने  मिडिया हाउसमा लैंगिक समानतालाई समर्थन गर्ने नीतिहरूको वकालतमा संलग्न हुने , लैंगिक समानता तर्फ काम गर्ने संस्थाहरूसँग सहकार्य गर्ने  मिडियामा महिलाहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने पहलहरूमा योगदान गर्न जरूरी रहेको छ।

गहिरो अन्तर्निहित पूर्वाग्रहहरू हटाउन, सहयोगी कार्य संस्कृतिको विकास, र सुरक्षालाई प्राथमिकता दिनु महिला पत्रकारहरूलाई सशक्तीकरण गर्न र नेपालको मिडिया क्षेत्रलाई सही दिशामा अगाडि बढाउन   उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक छ।

नेपाली महिला पत्रकारहरूले व्यावसायिक सञ्जालहरूमा सक्रिय रूपमा भाग लिएर, न्यूजरूमहरूमा लैंगिक समानताको वकालत गरेर र महिला अधिकारसम्बन्धी मुद्दाहरूलाई उजागर गर्न आफ्नो प्लेटफर्म प्रयोग गरेर मिडिया अधिकारका लागि आवाज उठाउन सक्छन्। छलफलमा संलग्न हुनु, प्रभावकारी कथाहरू लेख्नु, र समान विचारधारा भएका व्यक्तिहरूसँग सहकार्य गर्नाले उनीहरूको आवाजलाई बढावा दिन र सकारात्मक परिवर्तनमा योगदान दिन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.