|

काठमाडौँ : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा ६ भदौरेको दोभानटारका कुलबहादुर मगरको घरको छानो गत सोमबार हावाले उडायो। उनका अनुसार गत वर्ष पनि हावाले घरको केही भाग छाना उडाइदिएको थियो। उनले समयमा छानो हाल्न सकेनन्। पुनः पूरै छानो हावाले उडाएपछि उनी अहिले राहतका लागि भौँतारिदै आएका छन्। 

उनी शारीरिक रूपमा अशक्त छन्। गाउँपालिकाबाट राहत पाइन्छ कि भन्ने आशामा निरन्तर धाइरहे पनि अझै नपाएको उनको गुनासो छ। ‘पोहर पनि हावाले अलिकति छाना उडाएको थियो, छानो हाल्न सकिएन, के गर्नु, अस्ति २१ गते त हावाले पूरै छाना उडायो, राम्रो खालको पाल पाए हुन्थ्यो मैले किन्न सक्ने अवस्था नि छैन, आर्थिक अवस्था कमजोर छ, छोरा पनि मानसिक रोगी छन्’, उनले भने।

हावाले सबै छाना उडाएपछि अहिले घरमा बस्ने स्थिति पनि नरहेको उनले बताए। ओखलढुंगा खबरसँग भनेका छन्, ‘अहिले त बस्ने अवस्था नै छैन, हावाहुरी चल्छ, घाम त्यस्तै छ, वडा कार्यालयमा पनि राहतका लागि आएको थिएँ, सकिएछ, गाउँपालिकामा पठायो।’ उनका परिवारका अनुसार आज पनि राहत पाउने आशमा मगर गाउँपालिका धाएका छन्।

‘हामी राहत उपलब्ध गराउँछौँ’

गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा (बास्तोला)ले पीडित मगरलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनले थाहाखबरसँग भने, ‘उहाँ आएर भर्खरै मात्रै जानु भएको छ, हामीले घरको मुचुल्का उठाएर वडाको सिफारिस ल्याएर आउनुस्, राहत दिन्छौँ भनेर पठाएका छौँ।’

उनका अनुसार पीडित मगरले एउटा पाल दिए हुन्छ भनेर माग गरेका थिए। ‘तर,हामीले त्यसरी दिन मिल्दैन नि,कानुनी प्रक्रियाअनुसार हामी जानुपर्छ, भोलि के आधारमा राहत दियो भन्ने प्रश्न उठ्छ’, उनले भने, ‘हामीले सबै कुरा सिकाएर पठाएका छौँ। उहाँ आएपछि सकेको राहत उपलब्ध गराउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.