|

अस्ट्रेलिया : नेपाल चालक अनुमतिपत्रले अस्ट्रेलिया सवारी चलाउन पाइने व्यवस्था परिवर्तन भएको छ। 
अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू) राज्यले नेपाल, चीन र भारतलगायतका देशबाट जारी भएको लाइसेन्सले अब ६ महिना मात्र मान्यता पाउने व्यवस्था गरेको हो। 

नेपाली लाइसेन्सले अस्ट्रेलियामा सवारी साधन चलाउन पाइने भएकाले विभिन्न काम र अध्ययनका सिलसिलामा अस्ट्रेलिया पुग्ने नेपालीहरूले नेपालको लाइसेन्स लिएर अस्ट्रेलिया आउने गरेका छन्। 

न्यू साउथ वेल्सका अधिकारीहरूका अनुसार सम्भावित सडक दुर्घटनाको जोखिम कम गर्न नेपाल, पाकिस्तान, चीन र भारतलगायतका केही देशबाट जारी गरिएका लाइसेन्सका आधारमा ६ महिनासम्म मात्र सवारी चलाउन दिने व्यवस्था गरिएको हो। यो व्यवस्था गत जुलाई १ देखि लागू भएको हो। न्यू साउथ वेल्सको सवारी चालक अनुमतिपत्र पाउन नेपालीका हकमा लिखित र प्रयोगात्मक परीक्षा पास हुनुपर्छ। 

अस्ट्रेलियाली सवारी चालक अनुमति पत्र लिनका लागि कम्तीमा ६ महिना अस्ट्रेलियामा बसेको हुनुपर्नेछ। जापान, सिंगापुर, जर्मनीलगायतका देशबाट जारी भएका लाइसेन्सले पनि ६ महिना मात्र सवारी चलाउन पाइने भएपनि ती देशको लाइसेन्सका आधारमा अस्ट्रेलियाली सवारी चालक अनुमतिपत्र लिन परीक्षा भने दिनुपर्ने छैन। 

अघिल्लो सरकारले नै नेपाललगायतका देशका सवारी चालक अुनमतिपत्रका सम्बन्धमा यो व्यवस्था गर्ने भनिएको भएपनि कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको थियो। 

राष्ट्रिय सडक तथा मोटर चालक संघ (एनआरएमए)ले नयाँ व्यवस्थाको प्रशंसा गरेको छ। सवारी चालक अनुमतिपत्र प्रदानसम्बन्धी व्यवस्थालाई एकरूप बनाउने र चोरबाटोबाट अनुमतिपत्र दिइने लुपहोल पनि नयाँ व्यवस्थाले बन्द गर्ने विश्वास उसको छ।
न्यु साउद वेल्स सरकारका अधिकारीका अनुसार विदेशी चालकले १३ डिमेरिट प्वाइन्ट प्राप्त गरे सवारी चलाउन पाउने छैनन्। 
सवारी चालनसम्बन्धी गम्भीर अपराधको आरोप लागेमा, सवारी चलाउन अदालतले अयोग्य ठहर गरेमा, तीव्र गतिमा सवारी चलाएमा, लागूपदार्थ र मादक पदार्थ

सेवन गरी सवारी चलाउमालगायतका विषय डिमेरिट प्वाइन्टमा समावेश छन्। यी डिमेरिट प्वाइन्ट भएका विदेशीका हकमा अस्ट्रेलियामा सवारी चालक अनुमति सुविधा खोसिनेछ। 

हाल १३ डिमेरिट प्वाइन्ट पाएको खण्डमा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा दिइएको सवारी चलाउने सुविधा निलम्बन गर्ने मात्र व्यवस्था छ। 
निलम्बन अवधि सकिएपछि विदेशकै अनुमतिपत्र देखाएर अस्ट्रेलियामा सवारी चलाउन पाइने व्यवस्था अझसम्म पनि छ। तर जुलाई १ पछि भने यस्तो सुविधा प्राप्त हुने छैन। विगतमा विदेशी लाइसेन्सलाई निलम्बन मात्र गर्ने नियम भएपनि अब भने १३ डिमेरिट प्वाइन्ट मेल खाएको खण्डमा सिधै सवारी चलाउने सुविधा खोसिनेछ। 

एनआरएमएका प्रवक्ता पिटर खउरीका अनुसार अधिकांशले पछिल्लो व्यवस्थाको स्वागत गरेका छन्। सवारी चलाउँदा गम्भीर कमजोरी गर्ने विदेशी लाइसेन्स बाहकलाई गाडी चलाउन दिइरहनुपर्ने विगतको नियम उपयुक्त नभएको पनि उनले टिप्पणी गरे।
‘नयाँ व्यवस्था अन्तर्गत अस्थायी भिसा लिएकाहरूले न्यू साउथ वेल्समा गाडी चलाउन लाइसेन्स रूपान्तरण गर्नुपर्नेछ (नेपालीका हकमा भने परीक्षा दिएरै त्यहाँको लाइसेन्स लिनुपर्नेछ)। अस्ट्रेलियाली लाइसेन्स लिन कम्तीमा ६ महिना बसेको हुनुपर्नेछ’ न्यु साउथ वेल्स राज्यका ती सरकारी अधिकारीले भने। 

सन् २०२० यता २ हजारभन्दा बढी विदेशीको सवारी चालक अनुमतिपत्र रद्द गरिएको छ। सवारी चलाउँदा गम्भीर कमजोरी गरेका कारण उनीहरूको अनुमति रद्द गरिएको हो।  न्यू साउद वेल्समा बसोबास गर्ने करिब २ लाख २० हजार जनाले विदेशी लाइसेन्सका आधारमा सवारी चलाइरहेको सरकारको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.