|

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आज (बिहीवार) १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो हान्ने (आर्चरी) प्रतियोगिता शुरु भएको छ।

थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा ३ दिन सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका २३२ खेलाडी सहभागी छन्। 

एउटा समूहमा ७ खेलाडी रहने छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन्। 

थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्न आयोजित प्रतियोगिताको आज प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे। 

समितिले प्रत्येक ३/३ वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ। प्रतियोगिता सञ्चालन गर्न समितिले ३ वर्षअघि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो। 

प्रतियोगिताका विजेताले सुनको ५ तोलाको मेडल, रनिङ शिल्ड, कप र १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिए। 

सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए।

मुस्ताङ उदगम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन्। परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो। 

तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ। करिब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ।

जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ। फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ।

प्रतियोगिता उद्घाटनअघि थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.